१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

यु–१५ टोली घोषणा

काठमाडौं –  भदौको पहिलो साताबाट भारतमा अयाोजना हुने यु–१५ साफ च्याम्पियनसिपका लागि प्रमुख प्रशिक्षक सुनील श्रेष्ठले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका छन्।

भदौ ४ देखि १४ सम्म भारतको कल्याणी रंगशालामा आयोजना हुने प्रतियोगिताका लागि प्रमुख प्रशिक्षक श्रेष्ठले बुधबार २३ सदस्यीय अन्तिम खेलाडीको नाम सार्वजनिक गरेका हुन्। तर कप्तान भने तोकेका छैनन्। भारतसँग हुने पहिलो खेलमा मात्र कप्तानको नाम थाहा हुने प्रमुख प्रशिक्षक सुनील श्रेष्ठले बताए।

नेपालले पहिलो खेलमा घरेलु टोली भारतको सामना गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजना तथा इन्डियन फुटबल फेडेरेसनको समन्वयमा हुन लागेको प्रतियोगितामा नेपालले अघिल्लो संस्करणको नतिजालाई सुधार गर्ने लक्ष्य लिएको छ। यसअघिका प्रतियोगितामा सोचेजस्तो नतिजा नआएकाले यो संस्करणमा राम्रो नतिजा ल्याउने गरी तयारी गरेको प्रशिक्षक श्रेष्ठले बताए।

‘पहिलो खेल नै आयोजक भारतसँग परेको छ। अघिल्ला प्रतियोगितामा भारतसँग राम्रो नतिजा छैन। त्यसैले भारतविरुद्धको उद्घाटन खेलमा राम्रो नतिजा ल्याउने गरी तयारी गरिरहेका छौं,’ प्रशिक्षक श्रेष्ठले भने, ‘भारतको मौसमसँग अनुकूल हुनका लागि एक हप्ता काठमाडौंबाहिर गएर अभ्यास गर्ने सोचमा छौं। सम्भवतः झापामा हामीले प्रशिक्षण गर्नेछौं। एक साताको प्रशिक्षणपछि सहभागिताका लागि भारत जाने सोचमा छौं।’

आयोजक भारतसहित नेपाल, बंगलादेश, श्रीलंका र भुटान गरी ५ राष्ट्रको सहभागिता रहने प्रतियोगिता राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुनेछ भने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा नेपालले दोस्रो खेल भदौ ६ गते श्रीलंकासँग खेल्नेछ। यस्तै तेस्रो खेल बंगलादेशसँग भदौ १० गते रहेको छ। अन्तिम खेलमा भुटानसँग भदौ १२ मा प्रतिस्पर्धा गर्नेछ।

यसअघि यु–१६ च्याम्पियनसिपबाट खेलाउँदै आए पनि चौथो संस्करणबाट यु–१५ को नामबाट प्रतियोगिता सञ्चालन गरिएको हो। अघिल्लो संस्करण नेपालमा आयोजना हुँदा यु–१५ बाट सञ्चालन गरिएको थियो। नेपालको आयोजनामा बंगलादेशले उपाधि जित्दा घरेलु टोली नेपाल चौथो भएको थियो। तेस्रो स्थानका लागि भएको स्पर्धामा नेपाल भारतसँग १–० ले पराजित भएको थियो।

उक्त संस्करणमा पाकिस्तान र श्रीलंकाले अन्तिम समयमा सहभागिता नजनाउने भएपछि नेपालले प्रतियोगिता आयोजना गर्ने जिम्मा पाएको थियो। त्यसपछि दक्षिण एसियाका ६ टोलीलाई दुई समूहमा विभाजन गरी नेपालले प्रतियोगिताको आयोजना गरेको थियो।

अघिल्लो संस्करणमा सहभागिता जनाएका माल्दिभ्स र पाकिस्तानले भारतमा हुन लागेका प्रतियोगितामा भाग लिएका छैनन्। अघिल्लो संस्करणमा आन्तरिक कारण देखाउँदै सहभागिता नजनाएको श्रीलंकाले यो संस्करणमा भने भाग लिएको छ। प्रतियोगिता भारतको पश्चिम बंगालस्थित कल्याणी रंगशालामा आयोजना हुने साफले जारी गरेको तालिकामा उल्लेख छ।

साफ यु–१५ मा नेपाल विरुद्ध
देश    मिति
भारत    २०७६ भदौ ४
श्रीलंका    २०७६ भदौ ६    
बंगलादेश    २०७६ भदौ १०    
भुटान    २०७६ भदौ १२    

नेपाली टिम
गोलकिपर : ईश्वर गुरुङ, मनोज दाहाल, जिनियस केसी
रक्षक : प्रज्ञान महर्जन, अभिशेक वाइबा, प्रमिश गुरुङ, अजय चौधरी, जन लिम्बु, रोशन थापा
मिडफिल्डर : जन्मेजय धामी, नीराजन मल्ल, प्रदीप लम्साल, नीतेश श्रेष्ठ, असीम राई, बिपिन तुम्सिङ मगर, अमिर हमिद, मोहित गुरुङ, नीराजन खत्री, अनिल चौलागाई
स्ट्राइकर : कृष्ण अधिकारी यादव, कृष सापकोटा, सुगन जिमी, शशांक बोहरा

प्रकाशित: २३ श्रावण २०७६ ०२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App