१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

स्वास्थ्यचौकी भवन निर्माणमा लापरबाही, कोठाभित्र पानीको आहाल

(कालिञ्चोक) दोलखा - कालिञ्चोक गाउँपालिका–१ बेगुम्बास्थित स्वास्थ्य चौकी भवनमा वर्षा लागेसँगै पानी चुहेर आहाल बन्ने गरेको छ।  सदरमुकाम चरिकोटबाट ७० किलोमिटर दुरीमा रहेको सो स्वास्थ्य चौकी निर्माणमा ठेकेदार कम्पनीको लापरबाहीका कारण पानी चुहिएर आहाल बन्ने गरेको हो।

सरकारले भवन विभागमार्फत करिब डेढ करोड रुपैयाँको लगानीमा स्वास्थ्य चौकीका चारओटा भवन निर्माण गर्न ५ वर्षअघि ठेक्का लगाएको थियो।  दुई वर्षभित्र सकिनुपर्नेमा ठेक्का लिएको कोसी एन्ड न्यौपाने साथै बिएनसी कम्पनीले संयुक्त उपक्रम अर्थात् जेभीमा लिएका थिए।  बहुउपयोगी हल, बर्थिङ सेन्टर, ओपिडीसहित स्वास्थ्य चौकीका सबै संरचना र कर्मचारी क्वार्टर गरी चारओटा भवन निर्माण सम्पन्न भएको भन्दै ठेकेदार कम्पनीले गत चैतमा विभागमा निवेदन दिएको थियो।

सो निवेदनपछि वडा कार्यालयमा रहेको स्वास्थ्य चौकी नयाँ भवनमा सारिएको थियो।  तर भवन गुणस्तरहीन बनाइएका कारण बर्खामा पानी चुहिने समस्या देखिएको छ।  पानी चुहिएका कारण क्वार्टरमा बस्ने स्वास्थ्यकर्मीको सबैभन्दा बढी बिचल्ली भएको छ।  क्वार्टरमा अगाडिपट्टि टबसमेत नराखिएका कारण झ्यालढोका सबैतिरबाट कोठामा पानी पस्ने गरेको छ।  ‘ठूलो पानी पर्दा सिलिङबाट पनि पानी चुहिएर ओच्छ्यान भिज्ने गरेकाले रातभर जागै बस्छौं,’ स्वास्थ्य चौकीकी अनमी कल्पना केसीले भनिन्, ‘पानी चुहिएकाले आहाल नबनोस् भनेर बाल्टिन थाप्छौं। ’ कर्मचारी क्वार्टरका सबै कोठामा पानी चुहिने गरेकाले वर्षामा बस्नै समस्या भएको उनले सुनाइन्।

क्वार्टरसँगै बर्थिङ सेन्टरको शौचालयबाट चुहिएर आएको पानीले सुत्केरी गराउने कोठा र अन्य कोठामा पानीको आहाल जम्ने गरेको छ।  पानी चुहिएका कारण स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र बिरामी दुवैलाई समस्या परेको वडाध्यक्ष बाबुलाल थामीले बताए।  ‘पहिले यो स्वास्थ्यचौकी तल वडा कार्यालयमा थियो, वडा कार्यालय निर्माण गर्ने बजेट आएको र ठेकेदारले समेत भवन निर्माण सम्पन्न भयो भनेर निवेदन दिएपछि यहाँ सा¥यौं,’ थामीले भने, ‘तर यति धेरै लापरबाही गरेर निर्माण गरिएको रहेछ। ’ उनका अनुसार भवन चुहिएकोबारे वडा कार्यालयले सम्बन्धित निकायमा जानकारी दिइसकेको छ।

यो भवन पहिले भवन डिभिजन कार्यालय चरिकोटले हेथ्र्यो।  तर वर्ष दिनअघि कार्यालय चरिकोटबाट सरेपछि अहिले भवन विभाग आफैंले रेखदेख गर्दै आइरहेको छ।  सो विभागका इन्जिनियर तुलसीराम खर्बुजाले ठेकेदार कम्पनीले भवन निर्माण सम्पन्न गरेको भनेर विभागमा निवेदन दिए पनि निर्माणमा लापरबाही देखिएकाले भुक्तानी रोकेको जानकारी दिए।  ‘सम्पन्न भयो भनेर गत चैतमै निवेदन दिनुभएको थियो,’ उनले भने, ‘निर्माणमा लापरबाही देखिएकाले स्वीकार गरेनौंं।

’ खर्बुजाका अनुसार चुहिने स्थान र लापरबाही भएको ठाउँमा पुनः मर्मत गर्न विभागले निर्माण व्यवसायीलाई पत्र लेखिसकेको छ।  कर्मचारीको क्वार्टर रहेको भवन भने भूकम्पअगाडि नै बनेको र भूकम्पले क्षति पु¥याएकाले समेत चुहिएको हुनसक्ने उनले बताए।  ‘हामीले यो भवन हेर्न थालेको ९ महिना मात्र भयो,’ उनले थपे, ‘पहिला काम हुँदा के के भयो, थाहा भएन।  अब पुनर्निर्माण वा मर्मत छिट्टै गर्न लगाउँछौं। ’ उनले दुर्गममा रहेको र अनुगमन गर्ने कार्यालयसमेत काठमाडौंमा रहेकाले बेलाबेलामा निरीक्षण गर्न जान समस्या परेको सुनाए।

प्रकाशित: २३ श्रावण २०७६ ०२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App