१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सामान्य उपचारमा औषधिभन्दा जाँच महँगो

गणेश विशु

वीरेन्द्रनगर - वीरेन्द्रनगर–२, कोलडाँडाका नौ महिनाका स्वन्दन कार्कीलाई सामान्य रुघाखोकी थियो।  छोरालाई रातिदेखि ज्वरो र रुघाखोकीले सताएपछि सन्तोषी कार्की वीरेन्द्रनगरस्थित निजी अस्पताल पुगिन्।  बिरामी जाँच गरेको पैसा नलाग्ने सुनेकी उनले चार सय ५० रूपैयाँ तिरेर पुर्जी काटिन्।  बिरामी जोखिएको औषधिको मूल्य दुई सय ५० मात्र प-यो।

उपचार खर्चभन्दा बिरामी पुर्जी महँगो भएको उनले बताइन्।  वीरेन्द्रनगर नेवारेकी टीका सोमैले पनि उनको जस्तै अवस्था भोग्नुप¥यो।  प्राथमिक उपचारका लागि उनले महँगोमा पुर्जी काटिन्।  कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगरका निजी अस्पतालहरूले प्राथमिक उपचारका लागि पनि जाँचका नाममा बिरामीबाट चर्काे शुल्क लिने गरेका छन्, जसले गर्दा सामान्य बिरामी भएका नागरिकको उपचार खर्चभन्दा बिरामी जाँच शुल्क महँगो हुने गरेको छ।  ‘सामान्य बिरामीलाई पनि चर्काे शुल्क लिँदा समस्या भयो,’ सन्तोषीले भनिन्,’ ‘बिरामी पुर्जीभन्दा औषधि सस्तो भयो। ’

सोमैलेका अनुसार निजीमा मात्र होइन सरकारी अस्पतालमा समेत चर्काे शुल्क लिने र उपचारमा ढिलासुस्ती हुने गरेको छ।  ‘पहिला उपचारका लागि सरकारी अस्पताल गएकी थिएँ,’ उनले भनिन्, ‘त्यहाँ उपचारमा ढिला भएपछि महँगो शुल्क भए पनि निजी अस्पताल आएँ। ’ उपचार सफल भयो भने थोरै महँगो शुल्क तिरे पनि त्यति नराम्रो नहुने भन्दै उनले सबै निजी अस्पतालमा बिरामी जाँच पुर्जीको शुल्क एउटै हुनुपर्ने बताइन्।  वीरेन्द्रनगरकै धर्मजित टमटाले पनि सामान्य उपचारका लागि उपचार खर्चभन्दा पुर्जीको शुल्क महँगो तिर्नुपरेको दुखेसो सुनाए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन तहमा शुल्क निर्धारण गरेको छ।  मन्त्रालयले जाँचबापत मेडिकल अधिकृतहरूका लागि दुई सय ५०, विशेषज्ञ चिकित्सकका लागि चार सय ५० र पाँच वर्षभन्दामाथि अनुभवप्राप्त चिकित्सकका लागि पाँच सय रूपैयाँ शुल्क लिन मिल्ने प्रावधान बनाएको छ।  तर यहाँका निजी अस्पतालहरूले सामान्य चिकित्सकले जाँचे पनि चार सय ५० देखि पाँच सय रुपैयाँसम्म शुल्क लिने गरेका छन्।

‘प्राथमिक उपचारमा जाँच गर्दा शुल्क लाग्दैन भन्ने सुनेको थिएँ,’ छोरालाई ज्वरो आएपछि उपचारका लागि आएकी लक्ष्मी खड्काले भनिन्, ‘तर यहाँ जाँचको पैसा तिर्नुप¥यो। ’ ठूला बिरामीका लागि जाँच शुल्क लिनु ठिकै भए पनि प्राथमिक उपचारका लागि आएका बिरामीबाट शुल्क लिन नहुने भन्दै उनले स्वास्थ्य संस्थामा देखिएको विकृति घट्नुपर्ने बताइन्।

निजी अस्पतालहरूले भने सरकारले निर्धारण गरेको शुल्क लिने गरेको बताएका छन्।  ‘हेर्दा सामान्य भए पनि भित्र अन्य रोग हुनसक्छ,’ नेपाल बाल पोलिक्लिनिकका चिकित्सक डा. नवराज केसीले भने, ‘थोरै शुल्क तिरेर राम्रो डाक्टरसँग जाँच गराउँदा आफैँलाई फाइदा हुन्छ। ’

‘औषधि कम मूल्यमा पाइनु त राम्रो हो,’ नेपाल मेडिकल एसोसियसन सुर्खेतका अध्यक्षसमेत रहेको डा. केसीले भने, ‘औषधि महँगो हुनुभएन। ’ उनका अनुसार डाक्टर संवेदनशील हुन्छन्।  उनहरू धेरै जोखिम बढाएर काम गर्छन्।  डाक्टर पढ्न धेरै खर्च लाग्ने हुँदा सरकारले निर्धारण गरेको शुल्क लिनु सामान्य हो।  मूल कुरो उपचार सही हुनुप¥यो।
देउती अस्पतालका खगेन्द्र थापाले बिरामीअनुसारको शुल्क लिने गरेको बताए। 

उनले कोही विपन्न आए निःशुल्क जाँच हुने पनि बताए।  माया नर्सिङ होमका सञ्चालक विष्णुबहादुर खड्काले सबै बिरामीबाट एकैखालको शुल्क लिने गरेको बताए।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामी जाँचको शुल्क ६ सय रुपैयाँसम्म लिन सकिने भनेको दबी गर्दै उनले सबैलाई एकरुपता गराउन एउटै शुल्क लिने गरेको बताए।  ‘तपाईं (नागरिककर्मी) शुल्क महँगो हुनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ भने मेरो केही भन्नुछैन,’ उनले भने, ‘तर हाम्राोमा बिरामीको जाँच शुल्क महँगो छैन। ’

यता प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बजारमा केहीदिन अघि ल्यावको अनुगमन भएको बताए।  बिरामी पुर्जी शुल्कको विषयमा अहिलेसम्म अनुगमन नभएको भन्दै यस विषयमा गुनासोसमेत नआएको बताए।  मन्त्रालयले निर्धारण गरेको शुल्कअनुसार नलिने अस्पताललाई कारबाही हुने स्वास्थ्य तथा जनसंख्याका प्रवक्ता तथा प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्रप्रसाद श्रेष्ठले बताए।  ‘यो मूल्य केही वर्ष पहिलाको हो,’ उनले भने, ‘नयाँ शुल्क निर्धारण हुँदैछ। ’ पुरानो शुल्कबाट बढेर एक हजारसम्म बढ्न सक्ने उनले टेलिफोनमार्फत जानकारी दिए।  अहिले लागू भएकै शुल्क महँगो मानेका सर्वसाधारणले यसको शुल्क बढ्दा अझै समस्या हुने देखिन्छ।

सर्वसाधारण नागरिकका लागि सरकारले स्वास्थ्य बिमा ल्याएको भन्दै उनले यसमा सबै आबद्ध हुँदा सहज र सस्तो हुने बताए।  दक्ष चिकित्सकसँग जाँच गराए उपचार गराउनु राम्रो भएको भन्दै यहाँका चिकित्सकहरूले थोरै शुल्क महँगोभन्दा जीवनसँग जोडिएको उपचार राम्रोसँग गर्नुपर्ने बताए।

कर्णालीका सर्वसाधारणले यहाँका अस्पतालमा लिइने बिरामी जाँच शुल्क बढी भएकाले कम गर्नुपर्ने बताएका छन्।  सुलभ स्वास्थ्य सेवा पाउने अधिकार भएको भन्दै स्थानीय पद्मबहादुर शाहीले उपचारभन्दा बिरामी जाँच शुल्क बढी हुनु दुःखद भएको बताए।  बाल पोलिक्लिनिकका चिकित्सक केसीका अनुसार प्रत्येक नागरिकका लागि डाक्टर बिमा भए सहज हुनेछ।  केही देशमा त्यस्तो व्यवस्था भएको उल्लेख गर्दै उनले डाक्टर बिमा गर्ने नीति बनाएर जाँदा जनताले सहज उपचार पाउने थिए।

प्रकाशित: २३ श्रावण २०७६ ०१:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App