१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भक्तपुरमा अनुदान सम्झौता

भक्तपुर- भूकम्पको १८ महिनापछि बिहीबारदेखि भक्तपुरमा भूकम्पपीडितसँंग राहत अनुदान सम्झौता सुरु हुने भएको छ। अनुदान सम्झौताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको भूकम्पीय आवास पुननिर्माण प्राधीकरण जिल्ला आयोजना कार्यालय इकाई भक्तपुरले जनाएको छ।

भूकम्पीय आवास पुननिर्माण प्राधीकरण जिल्ला आयोजना कार्यालय इकाई भक्तपुरका कार्यालयका उपसंयोजक दीपक पाठकले स्थानीय निकायमार्फत यो काम बिहीबारदेखि सुरु हुने जनाए। स्थानीय निकायको रुपमा रहेको नगरपालिका अनि वडा कार्यालयहरुमार्फत यो काम हुन्छ, कार्यालयका उपसंयोजक पाठकले बुधबार नागरिकसँंग सुनाए, पुरानो नगरपालिकाको रुपमा रहेको भक्तपुर र मध्यपुर थिमीमा वडा कार्यालयहरुमार्फत र पछि थपिएका चार वटा नगरपालिकाहरुमा नगरपालिका कार्यालयहरुबाट यो काम हुन्छ।

नयाँं चारमध्ये चाँंगुनारायण नगरपालिकामा भने केही दिनपछि मात्रै यो काम सुरु हुने उनले जनाए। अन्तिम नामावली नआएका कारण त्यहाँं केही दिन ढिला हुने उनले स्पष्ट पारे। यसबाहेक नगरकोट, सूर्यविनायक र अनन्तलिंगेश्वर तीन वटै पछि थप गरिएका नगरपालिकामा सम्झौता हुने उनले जनाए।

पाठकका अनुसार सम्झौताको एक हप्ताभित्र पीडितले पहिलो किस्ताको रकम पाउनेछन्। नजिकको पायक पर्ने बैंकमार्फत पहिलो किस्ताको ५० हजार रकम पाउने व्यवस्था मिलाइएको उनले जनाए। यसका लागि पीडितको नाम नजिकको वैंकमा पुगिसकेको उनले जनाए।

पीडितले सम्झौतापछि पहिलो किस्तामा ५० हजार,, दोश्रो किस्ता टाइविम सकेपछि एक लाख ५० हजार र निर्माण सम्पन्न प्रमाणपत्र पाएपछि थप एक लाख गरी कुल तीन लाख रुपैयाँं सरकारबाट राहत अनुदान पाउनेछन्। भक्तपुरबाहेक काठमाडौं र ललितलपुरमा भने यसअघि नै अनुदान सम्झौता भइसकका छन्।

यसैवीच स्थानीयले पीडितको नाम छुटको भन्दै दुख जनाएका छन्। ताथलीका राजेन्द्र थापाले भूकम्प पीडितको तथ्याङ्क संकलन धेरै पटक भएको तर, राहत रकम भने नआएको गुनासो गरे। उनले पछिल्लो पटक आएको सूचिमा भूकम्प पीडितको नाम हटाएर विवरण पठाएको भन्दै नाम छुटेको पीडितको थप विवरण नआएसम्म राहत वितरण हुन नदिने भन्दै आक्रोस पोखे।

भूकम्पीय आवास पुननिर्माण प्राधीकरण जिल्ला आयोजना कार्यालय इकाई भक्तपुरका कार्यालय व्यवस्थापक सृजना बस्यालले नाम छुटेको भन्दै दैनिक समूहसमूहमा कार्यालय उजुरी दिन आउनेहरु रहेको जनाए। भक्तपुरका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले भूकम्प पीडितको गुनासो सम्बन्धित निकायमा पठाई समस्या समाधानका लागि पहल गर्ने बताए। कार्यालयको तथ्यांक अनुसार जिल्लामा अन्तिम नामावलीमा २४ हजार नौ सय दुई परिवारको नामावली आएको छ। यसअघि ३३ हजार तीन सय ३९ परिवारको नामावली गएको थियो।

यो वर्ष पनि टहरामै

सरकारले अनुदान सुरु गर्ने भए पनि भूकम्पपीडितको यो वर्षको जाडो पनि टहरामै वित्ने भएको छ। सरकारले अनुदान रकम वितरण गर्न ढिलाई गर्दा दोश्रो वर्षको जाडो पनि टहरामै विताउन भूकम्पपीडित बाध्य भएका हुन्। अनुदान रकम पाए पनि यो रकमबाट यो जाडो अगाडि एक तल्ला पनि घर बनाउन नपाउने भएपछि यो समस्या आएको हो। एकजना पीडित लक्ष्मीसुन्दर गोसाईले जाडोमा विशेष गरेर बच्चाबच्चीलाई समस्या हुने पीडा पाखे।

यसैवीच पीडितले पहिलो किस्ता वापतको ५० हजार रुपैयाँले घरको जग हाल्न समेत नपुग्ने गुनासो गरेका छन्। पीडितहरुले सरकारले दिने राहत अनुदान वापतको पहिलो किस्ता रकमले घर बनाउन समस्या पर्ने भएकाले पुर्नवासका लागि दिने भनिएको राहत अनुदानको सबै रकम एकैपटक दिन माग गरे। नगरकोट नगरपालिका–१ ताथलीका सुमन थापाले पहिलो किस्ता हातीको मुखमा जिरा भएको जनाए।

प्रकाशित: २५ कार्तिक २०७३ ०२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App