१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मापदण्डविपरीतका टहरामा डोजर

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मध्यपहाडी लोकमार्ग आसपासमा मापदण्ड मिचेर बनाइएका टहरा हटाउन थालेको छ।  मध्यपहाडी सडकबीच बिन्दुबाट दायाँ ३१ मिटर र बायाँ ३१ मिटर क्षेत्रभित्र भौतिक संरचना बनाउन नपाइने तथा नगरभित्र नगरपालिकाबाट नक्सा पास गराएर मात्र घर बनाउनुपर्ने व्यवस्थाविपरित सडक अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन थालिएको हो।

नगरपालिकाले सोमबार स्काभेटर लगाएर चारवटा टहरा हटाएको छ।  अन्य पाँचवटा टहरा २४ घण्टाभित्र हटाउने सर्तमा कागज गरेर छाडिएको नगरपालिकाले जनाएको छ।  मापदण्ड मिचेर सडकको दायाँ–बायाँ बनाइएका टहरा हटाउन पटकपटक पत्राचार गर्दासमेत अटेरी गरिएको भन्दै नगरपालिकाले बल प्रयोग गरेको हो।  अभियानको पहिलो दिन दिक्तेल अल्छेढुंगाका प्यारीमाया सर्किनी, बाम्राङका दुर्गाबहादुर कार्की, डिल्लीबहादुर कार्कीसहित चारजनाको हटाइएको मेयर दीपनारायण रिजालले बताए।  मापदण्ड मिचेर सडकमा बनाइएका टहरा हटाउने अभियानलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ।  टहरा हटाउने काम सम्पन्न भएपछि मापदण्डविपरीत बनेका घर हटाइने मेयर रिजालले बताए।  ‘सुरुमा टहरा हटाउने कामलाई पूर्णता दिन्छौं,’ मेयर रिजालले भने, ‘त्यसपछि घर हटाउन सुरु गर्छौं।  हालसम्म चारवटा घर हटाउनुपर्ने सूचीमा समावेश गरेका छौं। ’

हलेसी तुवाचुङ नगरपालिकाले हलेसी आसपासका सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका टहरा २०७४ साल फागुन ११ गते डोजर लगाएर भत्काएको थियो।  नगरपालिकाभित्र मापदण्ड मिचेर घरटहरा बनाएमा वा नक्सा पास नगरी घर बनाएमा नगरपालिकाले जुनुसुकै बेला भत्काउन सक्ने र भत्काउँदा लाग्ने खर्च संरचना बनाउनेबाटै असुलउपर गर्ने व्यवस्था रहेको नगरपालिकाले जनाएको छ।  टहरा गुमाएका स्थानीयले भने बल प्रयोग गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।  कतिपय ठाउँमा नगरपालिकाकै कारण पनि मापदण्डविपरीत संरचना बनाइएको उनीहरूको गुनासो छ।

प्रकाशित: २२ श्रावण २०७६ ०३:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App