१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

धरौटी बुझाएर उपकुलपति रौनियार रिहा

धरान - भ्रष्टाचार मुद्दामा खेपिरहेका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियार र उनका भतिज डा.रामहरि रौनियार धरौटीमा रिहा भएका छन्।  विशेष अदालतका अध्यक्षसहित ३ जनाको संयुक्त इजलासले दिएको आदेशवमोजिम मंगलबार धरौटी बुझाएर दुवै रिहा भएका हुन्। 

विशेष अदालतका उपरजिष्ट्रार एवं प्रवक्ता पुष्पराज पाण्डेयका अनुसार मंगलबार अध्यक्ष रेग्मीसहित न्यायाधिशद्वय द्धारिकमान जोशी र प्रमोदकुमार वैध श्रेष्ठको संयुक्त इजलासले उपकुलपति रौनियारसँग ४८ लाख र उनका भतिज डा. रामहरिसँग ४ लाख धरौटी माग गरेको थियो।  ‘इजलासले माग गरेवमोजिम धरौटी बुझाएर दुवैजना रिहाइ हुने क्रममा छ,’ उपरजिष्ट्रार एवं प्रवक्ता पाण्डेयले भने, ‘मुद्दा चाहिँ चलिनै रहन्छ, फाइनल हुन बाँकी नै छ। ’ धरौटीमा रिहाइ भए पनि मुद्दाको अन्तिम फैसला नभएसम्म उपकुलपति पदबाट भने उनी निलम्बनमा नै रहनेछन्।

असार २६ गते घुस लिएको नगद ८ लाखसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपकुलपति डा. रौनियार र उनका भतिजलाई बिपी प्रतिष्ठानबाट नै पक्राउ गरेको थियो।  त्यसयता दुवैजना अख्तियारको हिरासतमा रहेका थिए।  उनीहरूविरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टचारको मुद्दा दायर गरेको थियो।  विशेष अदालतमा सोमबार र मंगलबार बयानपछि थुनछेक बहस भएको थियो।  अख्तियारले उपकुलपति रौनियारविरुद्ध १ करोड २८ लाख रुपैयाँ बिगो जरिवाना र १३ वर्ष कैदको माग गर्दै मुद्दा दायर गरेको थियो भने उनका भतिज डा. रामहरिलाई ८ लाख रुपैयाँ बिगो र डेढ बर्षदेखि अढाई वर्षसम्म कैद माग गरेको थियो।

उपकुलपति डा.रौनियारले प्रतिष्ठानको होष्टेल र फार्मेसी भवन निर्माणको ठेकेदार कम्पनीसँग पटकपटक घुस एवं कमिसन लिएको दाबी भ्रष्टचार मुद्दा दायर गरेको थियो।  असार २६ गते कमिसनवापतको ८ लाख घुसको रकमसहित पक्राउ गर्नुअघि पनि उपकुलपति रौनियारले विभिन्न मितिमा ठेकेदार सुशील झासँग १ करोड २० लाख रुपैयाँ घुस लिइसकेको अख्तियारको दाबी छ।

घुस दिने ठेकेदार झा र चालक कार्कीलाई छुट
अख्तियारले उपकुलपति डा. रौनियारलाई घुस दिने ठेकेदार सुशील झा र झाबाट घुस रकम लिएर रौनियारलाई बुझाउने चालक दिवाकर कार्कीलाई भने छुट दिएको छ।  अख्तियारले विभिन्न मितिमा १ करोड २० लाख रुपैयाँ उपकुलपति रौनियारले घुस लिएको प्रमाण अडियो भिडियो उपलब्ध गराएर अनुसन्धानमा सहयोग गरेको र असार २६ गते पनि पक्राउ गर्न सहयोग गरेको भन्दै ठेकेदार झालाई छुट दिएको जनाएको छ।  अख्तियारका अनुसार भ्रष्टचार निवारण ऐन २०५९ को ऐनको दफा ५५ मा व्यवस्था भएअनुसार आयोगको साक्षीका रूपमा प्रस्तुत गरी सजाय छुट दिइएको जनाएको छ।

यसैगरी, उपकुलपति डा. रौनियारका सवारी चालक दिवाकर कार्कीलाई पनि अख्तियारले साक्षीका रूपमा प्रस्तुत गर्दै सजाय छुट दिएको छ।  पटकपटक ठेकेदार झाबाट १ करोड ६ लाख रुपैयाँ बुझेर उपकुलपति रौनियारलाई बुझाएको बयान स्वयं कार्की र ठेकेदार झाले अख्तियारलाई दिएका थिए।  कार्कीले पनि भ्रष्टचारको कसुर गरेको भए पनि उनले रौनियारलाई बुझाएको घुसको सम्पूर्ण विवरण खुलाएर अनुसन्धानमा सहयोग गरेकोले साक्षीका रूपमा प्रस्तुत गरी सजाय छुट दिएको अख्तियारले जनाएको छ।

प्रकाशित: २२ श्रावण २०७६ ०२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App