१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पहिरोले यातायात अवरुद्ध, महङ्गो भाडामा ‘मुन्द्रे’मा यात्रा

महेन्द्रनगर– कञ्चनपुरको वेदकोट नगरपालिकाको दैजीबाट डडेल्धुराको जोगबुडा जोड्ने सडकखण्ड पहिरोका कारण झण्डै एक महिनादेखि यातायात अवरुद्ध भएको छ। यातायात अवरुद्ध हुँदा उक्त सडक खण्डमा यात्रुले महङ्गो भाडा तिरेर मोटर साइकलमा (मुन्द्रे) यात्रा गर्नु पर्ने बाध्यता छ। 

मोटरसाईकलमा चर्को भाडा तिरेर पनि आधा बाटोसम्म मात्र पुग्ने गरेको  जोगबुडाका स्थानीय कृष्ण बोहराले दुखेसो पोखे। आफूहरुलाई लिप्ना–दैजी भएर महेन्द्रनगर आउन कम समय लाग्ने भएता पनि यातायात संचालनमा नआउँदा समस्या परेको बोहराको भनाई छ।

उनका अनुसार यातायात अवरुद्ध भएका कारण महेन्द्रनगर आउनका लागि कैलालीको अत्तरिया भएर जानुपर्ने बाध्यता छ।  यातायात अवरुद्ध हुँदा वेदकोट नगरपालिका वडा नं. ३ लिप्नामा विकाश आयोजना समेत सम्पन्न भएका छैनन्। यातायात अवरुद्ध भएको कारण गाँउमा आएका विद्यालय भवन निर्माण योजना, खाने पानी योजना लगायतका विकासे योजनाहरुको बजेट फ्रिज गएको सिद्धबैजनाथ वालविकास विद्यालय लिप्नाका व्यवस्थापन समिति अध्यक्ष दिपक पन्तले बताए।

‘विद्यालय भवन निर्माणका लागि नगरपालिकाले पाँच लाख छुट्याएको थियो। तर, बाटो अवरुद्ध भएकाले निर्माण सामग्री दुवानीमा समस्या भएपछि भवनको छाना ढलान अधुरो रहेको छ’, अध्यक्ष पन्तले भने, ‘भवन निर्माण कार्य पुरा नभएकाले नगरपालिकाले तीन लाख रुपैयाँ मात्र निकासा गर्यो । बाँकी रकम फ्रिज गएको छ।’ 

‘धेरै ठूलो पहिरो गएर बाटो अवरुद्ध भएको होइन। नगरपालिकाले डोजर लगाएर भए पनि बाटो खोली दिएको भए यति धेरै रकम फ्रिज जानबाट जोगिन्थ्यो’, पन्तले थपे। अवरुद्ध यातायात सञ्चालनमा नआउँदा महेन्द्रनगरबाट निर्यात हुने खाद्यान्न लगायतका सामाग्री अत्तरिया–बुडर हुँदै जोगबुडा ढुवानी गर्नु परेको बेदकोट–३ लिप्नाका व्यापारी केशवबहादुर थापाले बताए। अढाई दशक भन्दाअघि निर्माण गरिएको यो सडक महेन्द्रनगर–डडेल्धुरा जोड्ने छोटो दुरी हो। तर, यतिका समयसम्म यसको स्तरोन्नती हुन सकेको छैन। जसले गर्दा आउजाउ गर्न यात्रुले लामो दुरी तय गर्नु पर्ने बाध्यता जिवित रहेको छ।

प्रकाशित: २१ श्रावण २०७६ १०:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App