१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आइओएम डिनमा फेरि चलखेल

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा वरिष्ठताका आधारमा डिन नियुक्त गर्न आलटाल गरेको भन्दै त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीले तत्काल अनशन थाल्ने घोषणा गरेका छन्। उनले नियुक्तिमा चलखेल गरेको भन्दै त्रिविका उपकुलपति तीर्थ खनियाँलाई बर्खास्त गर्नसमेत माग गरेका छन्।

आइओएम आठ महिनादेखि निमित्तको भरमा छ। बिहीबारदेखि निमित्त डिनको समेत अवधि सकिँदै छ।

निमित्तको अवधि सकिने दिन वरिष्ठता मिचेर डिन नियुक्तिको चखलेल भइरहेको भन्दै डा. केसीले त्यसो भए बिहीबारबाटै अनशन बस्ने घोषणा गरेका हुन्। बुधबार अपराह्न विज्ञप्ति जारी गर्दै उनले आफू लामो समयदेखि विभिन्न निकायमा नियुक्ति भागबन्डाविरुद्ध आन्दोलनरत रहेको तर आइओएममा वरिष्ठताको आधार छाडेर दलीय बफादारी र भागबन्डामा पदाधिकारी नियुक्त गर्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यसो भए तत्कालै अनशन थाल्ने चेतावनी दिए।

आठ महिनादेखि तीन–तीन महिनाको निमित्त पाएका सहायक डिन डा. विमल सिन्हासहित अन्य सहायक डिनको समेत चारवर्षे पदावधि बिहीबार सकिँदै छ। बिहीबार डिन नियुक्त नभए आइओएम पदाधिकारीविहीन हुनेछ।

स्रोतका अनुसार कुनै पनि हालतमा वरिष्ठलाई डिन नबनाउने पक्षमा देखिएका खनियाँले डा. ज्योति शर्मालाई निमित्त दिने तयारी गरेका छन्। डा. केसीले वरिष्ठताका आधारमा डिन नबनाए तत्काल अनशन थाल्ने र वरिष्ठताका आधारमा डिन बनाए सरकारलाई अन्य माग पूरा गर्न थप दुई साताको अल्टिमेटम दिने जनाएका छन्।

गत वर्ष मेडिकल कलेज भर्नामा मेरिटलाई आधार नबनाउन दबाब दिइएपछि तत्कालीन डिन डा. राकेश श्रीवास्तवले कात्तिक २१ मा राजीनामा दिएका थिए। त्यसयता आइओएम निमित्त डिनको भरमा छ।

फागुन २८ मै त्रिविले डिन 'सर्च कमिटी' बनाए पनि हालसम्म नियुक्तिका लागि नाम सिफारिससम्म भएको छैन।

सरकारले डा. केसीको आठौं अनशनकै क्रममा साउन १० गते तत्काल वरिष्ठताका आधारमा नियुक्ति गर्ने सम्झौता गरेको थियो। त्यसपछि पनि नभएपछि नवौं अनशन घोषणा गरेको समयमा समेत शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापाले सरकारका तर्फबाट वरिष्ठताका आधारमै डिन नियुक्त गर्ने प्रतिबद्धता जनाउँदै डा. केसीलाई पत्र पठाएका थिए।

डा. केसी नवौं अनशन बस्दासमेत त्रिवि उपकुलपति खनियाँले डिन नियुक्तिमा कांग्रेस निकटलाई 'बाइकट' गर्न नसक्ने भन्दै आलटाल गर्दै आएका छन्। त्रिविको भागबन्डामा आइओएम डिन कंाग्रेस कोटामा परेको भन्दै पार्टी कोटामै उपकुलपति बनेका खनियाँले डिन नियुक्ति रोकिरहेका छन्। कांग्रेस कोटाबाट डिनका लागि चर्चामा रहेका डा. करवीरनाथ योगी वरिष्ठता सूचीमा ४५औं नम्बरमा छन्।

योगीलाई डिन बनाउन दबाब दिन पार्टीनिकट चिकित्सकले लामो समयदेखि डिन कार्यालयमा तालाबन्दीसमेत गर्दै आएका छन्। डा. केसीले २०६९ पुसमा प्रथम अनशन बस्दादेखि राजनीतिक भागबन्डाका कारण संस्था धराशयी भएको भागबन्डा नभई वरिष्ठता आधारमा डिन नियुक्तिको माग राख्दै आएका छन्। डा. केसीले पटकपटक अनशनका क्रममा वरिष्ठता आधारमा नियुक्त हुनुपर्ने माग राखेपछि कार्यान्वयन हुन थालेको थियो। यही क्रममा डा. कुमुद काफ्ले, डा. प्रकाश सायमी र डा. श्रीवास्तव डिन नियुक्त भएका थिए। वरिष्ठता बाहिर गएर यसबीच डा. धर्मकान्त बास्कोटा र डा. शशि शर्मा नियुक्त भए पनि डा. केसीकै अडानबाट सरकारले बर्खास्त गरेको थियो।

यसबीच वरिष्ठता आधारमा आएका काफ्ले एक महिनामै उमेरहदका कारण अवकाश पाए पनि सायमी र श्रीवास्तवले दबाबकै कारण राजीनामा दिनुपरेको थियो। डिनकै बलमा सम्बन्धनदेखि सिट निर्धारणमा ठूलो सहयोग हुने भएकाले आइओएम डिन पदमा आर्थिक तथा राजनीतिक लबिङ बढी हुने गरेको छ। डा. केसीसँगको सम्झौतापछि डा. काफ्ले, डा. प्रकाश सायमी र डा. श्रीवास्तव वरिष्ठता आधारमा डिन भएका थिए।

तीमध्ये सायमी र श्रीवास्तवले तोकिएको समयमा काम गर्न सकेनन्। सायमी सम्बन्धनका लागि तत्कालीन त्रिवि पदाधिकारीले दिएको दबाबपछि पद छाडेका थिए भने श्रीवास्तवले पनि सम्बन्धनको विषयमा आएका दबाबलाई लत्याउँदै गएका थिए। पछिल्लो समय किस्ट मेडिकल कलेजको सिट निर्धारण, मेरिट भर्नालगायत विषय लागू गर्न नसकेपछि उनले छाडेका थिए। त्यसलगत्तै सहायक डिन डा. सिन्हालाई निमित्त जिम्मेवारी दिइएको छ।

डा. केसीले वरिष्ठता आधारमा डिन नियुक्ति रोकेको र विश्वविद्यालयलाई पार्टी कार्यालय बनाएको भन्दै बर्खास्त गर्नुपर्ने आरोप लगाएका छन्। त्यसैगरी अघिल्लो वर्षदेखि लागू भएको एमबिबिएस भर्ना शुल्क लागू गर्नुपर्ने,  ऐन नबन्दासम्म कुनै पनि कलेजलाई सम्बन्धन दिन नहुने, अख्तियारका आयुक्त राजनारायण पाठकमाथि समेत छानबिन थाल्नुपर्ने र आइओएमका पूर्वपदाधिकारीमाथि तत्काल छानबिन थाल्नुपर्नेसमेत माग राखेका छन्।

प्रकाशित: २५ कार्तिक २०७३ ०१:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App