१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सुन्दरीजलमा बोलबम यात्रीको भीड

काठमाडौं – साउनको तेस्रो सोमबार बिहानैदेखि वाग्मतीको शिरो भाग सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको भीड लागेको छ। बोलबम काँवरिया संघको आयोजनामा शुद्ध जल लिन लाखौं भक्तजन आइतबार बेलुकी नै सुन्दरीजल आइपुगेका थिए।

  संघले आइतबार रातिदेखि नै सुन्दरीजलमा भजन कीर्तनसहित विशेष कार्यक्रमको आयोजना गरेको थियो।  कार्यक्रममा पूर्वउपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले धार्मिक, सांस्कृतिक, प्राकृतिक र राजनीतिक दृष्टिले महत्वपूर्ण सुन्दरीजल क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गरिनुपर्ने बताए।  यस्तो पवित्रस्थलमा आउने जीर्ण सडकमा सरकारको आँखा पुग्न नसकेको उल्लेख गर्दै निधिले भगवान् शिवको त्रिनेत्रले सरकारको आँखा खोलोस् भनी कामना गरे।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले सुन्दरीजलबाट शुद्ध जल लिई बोलबम यात्रा गरेर पशुपतिनाथ मन्दिरमा चढाउन चाहने भक्तजनका लागि विशेष व्यवस्था गरिएको बताए।  बोलबम यात्रीलाई पशुपति मूल मन्दिरमा प्रवेश गरी जल चढाउन बेग्लै लामको व्यवस्था गरिएको पनि उनले बताए।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले चालू आर्थिक वर्षमा सुन्दरीजलमा बोलबम धाम निर्माण गर्न एक करोड बजेट विनियोजन गरिएको बताए।  धामका लागि ४६ रोपनी जग्गाको व्यवस्थासमेत नगरपालिकाले गरिदिएको उनको भनाइ थियो।  अर्को वर्षको बोलबम यात्रा बेला धाम एवं सुन्दरीजल आउने सडक पनि बनिसक्ने नगर प्रमुख चालिसेको भनाइ थियो।

संघका अध्यक्ष तुलसी रौनियारले भारतको बाबाधाममा हुने बोलबम यात्रामा भारतीय सरकारले सबै व्यवस्था गरिदिने गरेको उल्लेख गर्दै नेपालमा भने ४४ वटा उपसमिति गठन गरेर ३२ लाख नगद चन्दा उठाउनुपरेको गुनासो गरे।

गोकर्णेश्वर नगरपालिकाले थोरै सहयोग गरे पनि प्रदेश एवं संघीय सरकारबाट बोलबम यात्राका लागि केही सहयोग नभएको उनले बताए।  सुन्दरीजलमा बोलबम यात्रा गर्न भारतीय पर्यटकसमेत आउन इच्छा गर्ने भए पनि पर्यटकीय पूर्वाधार बन्न नसकेको उनको भनाइ थियो।

सुन्दरीजलमा धर्मशाला निर्माणका लागि संघीय सरकारको अर्थ मन्त्रालयसँग १० करोड सहयोग माग गरिएको संघले जनाएको छ।  नेपाल भ्रमण वर्ष सफल बनाउन पनि सबैभन्दा धेरै धार्मिक पर्यटक आउने भएकाले धाम, धर्मशाला जस्ता संरचना बनाउन ढिलाइ गर्नु नहुने बोलबम यात्रीको माग छ।

पशुपतिनाथलाई सोमनाथ, मल्लिकार्जुन, महांकाल, ओमकार, केदार, भीमशंकर, विश्वेश्वर, त्रयम्बक, वैद्यनाथ, नागेश, रामेश्वर र घृश्णेश्वर गरी द्वादश ज्योतिर्लिङ्गको पनि ज्योतिर्लिङ्ग अर्थात् महाज्योतिर्लिङ्गका रूपमा वैदिक सनातन धर्मावलम्बीले पुज्ने भएकाले पनि धेरै मानिस दर्शन एवं पूजाआजाका लागि यहाँ आउन चाहन्छन्।  तर त्यसका लागि पूर्वाधारलगायत संरचना विकास हुन सकेको छैन।

बोलबम यात्राका लागि पर्याप्त शौचालयको व्यवस्था हुन नसक्दा साउन महीनामा उपत्यकाको खानेपानीको स्रोतसमेत भएको ठाउँमा प्रदूषण फैलने गरेको छ।  यसतर्फ नगरपालिकालगायत सरोकार भएका निकायको ध्यान जान सकेको छैन।

भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महीनामा नदीबाट शुद्ध जल, गाईको दूधलगायत अर्पण गर्ने परम्परा छ।  वर्षमा एकपटक साउन महीनामा घरघरमा वैदिक रुद्राभिषेक गर्ने परम्परासमेत नेपाली समाजमा चल्दै आएको छ।  यसरी रुद्राभिषेक गरेमा घर नराम्रो शक्तिको प्रवेश नहुने सुख शान्ति एवं ऐश्वर्य प्राप्ति हुने पौराणिक मान्यता छ।

पशुपतिमा भीड

साउन महीनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ।  साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको थियो।  रातो, हरियो पहिरनमा सजिएका भक्तजनले पशुपति क्षेत्र भरिभराउ थियो।  अन्य विशेष पर्वमाझैं सोमबार पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ।

गोकर्णेश्वर र नागेश्वरमा भीड

राजधानीको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा पनि भक्तजनको बिहानैदेखि भीड लागेको छ।  सुन्दरीजलबाट शुद्ध जल लिई आउने भक्तजनले गोकर्णेश्वरलगायत बाटामा पर्ने शिवालयमा जल चढाउँछन्।  पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजा आराधना गर्ने प्राचीनकालदेखिको परम्परा रहेकाले एउटा मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजन अर्को मन्दिरमा पनि जानुपर्ने मान्यतासमेत छ।

यसैगरी, पेप्सीकोलास्थित नागेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ।  दर्शनार्थी भक्तजनलाई सुविधा होस् भनी बिहान ३ बजेदेखि नै मन्दिरका चारै ढोका खुला गरिएको नागेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले बताए।

प्रकाशित: २१ श्रावण २०७६ ०१:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App