१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सडक निर्माणको जिम्मेवारी पुरा गरेर फर्कंदै सेना

फर्कदै थालेको सेनालाई फुलामाला र अविर टिका लगाएर विदाई गर्दै स्थानीय।

डोल्पा– देशमा माओवादीले जनयुद्ध शुरु गरेको पनि ९ वर्ष पुरा भएको थियो। जताततै तत्कालिन विद्रोही माओवादी र सुरक्षाकर्मीबीच दोहोरो भिडन्त भइरहेका समाचारले सर्वसाधारणको कान गुन्जयमान बनिरहेका थिए। माओवादी त्रासले प्रायजसो सन्नाटा छाउँदै थियो। गाउँमा बस्ने अवस्था थिएन। सर्वसाधारण सुरक्षा खोज्दै सदरमुकाम जान बाध्य थिए।

राष्ट्रिय सडक सञ्जालमा विकट जिल्ला जाजरकोट र रुकुमको चौरजहारीलाई जोड्ने महत्वपुर्ण जिम्मेवारीका साथ नेपाली सेनाको सडक निर्माण कार्यदलले ०६१ जेठ १४ गते सल्यानको सल्लीबजार र जाजरकोटको ज्यामिरे काला पहाडमा बेस क्याम्प खडा गर्यो। सल्लीबजार देवस्थल कैयनडाँडा हुदै चौरजहारीसम्मको ४१ किलोमिटर र सुर्खेतको राकम हुँदै काला पहाड भएर जाजरकोट खलङ्गासम्मको १०७ किलोमिटर सडकसहित दुवैतर्फ बाटो पुर्याउने गरि युद्धस्तरमा सडक निर्माण कार्य भइरहेको थियो।

नेपाली सेनाका कर्णेल विश्वबन्धु पहाडी दुवैतर्फको सडक निर्माण कार्यदलका प्रमुख थिए। हेर्दैमा कहाली लाग्दो र कडा चट्टानी पहाड नामैले कालापहाडलाई छिचोलेर जाजरकोट खलङ्गामा बाटो लैजानु नेपाली सेनाको लागि सहज थिएन। चारैतिर घनाजङ्गल अनि शिर गुमाउने भीर तल हेर्दा भेरी नदीको उर्लदो बहावले सुरक्षामा थप चुनौती थपिएको नै थियो।

भीर छिचोल्ने क्रममा ज्यामिरे काला पहाडसँगको दिनभरको संघर्षले थकित भएका आफ्ना जवानहरुसँग दिनभरको कामको प्रगति र भोली हुने कामको योजना सम्बन्धि ब्रिफिङ भईरहदा घडिको सुईले रातको ११ बज्नै लागेको संकेत गरिरहेको थियो। व्रिफिङ्ग सकिनै लाग्दा संचारसेटमा नेपाली सेनामाथि माओवादी आक्रमण भएको खबर प्राप्त भयो। त्यो नौलो र अस्वभाविक खबर थिएन कर्णेल पहाडीको लागि। कालिकोटको पिलि भन्ने ठाउँमा बसेको नेपाली सेनाको सडक निर्माण कार्यदलमाथि माओवादीले आक्रमण गरेको खबर थियो त्यो। आक्रमणबाट नेपाली सेनाका जवान र सडक निर्माणमा कार्यरत केही मजदुर र माओवादी लडाकुसमेतको ०६२ साउन २० गते मृत्यु भएको थियो। जुम्ला खलाङ्गा बजारमा बाटो लैजाने गरि पिलिमा सेनाको निर्माण कार्यदल कर्णेल राजु देवकोटाको नेतृत्वमा कार्यरत थियो। रुकुमको चौरजहारी र जाजरकोटको खलङ्गा बजारमा बाटो पुर्याउन हर्षेउल्लासका साथ निर्माण कार्यमा जुटिरहेका कर्मठ नेपाली सेनाका जवान र कुशल नेतृत्व दिइरहेका कर्णेल पहाडीलाई पिलि घटनाले केहि हदसम्म हतोत्साहि बनायो। तर पिलि घटनालगायत देशका कुनैपनि स्थानमा नेपाली सेनामाथि भएका माओवादी आक्रमणका घटनाले कर्णेल विश्वबन्धु पहाडीको सडक निर्माण कार्यदललाई विचलित बनाएन र भएन पनि।

फलस्वरुप ०६५ मा जाजरकोट खलाङ्गबजारमा बाटो पुर्याएर जाजरकोटवासी र स्वयंम विद्रोही माओवादीको लागि समेत स्यावासीको पात्र बन्न सफल भए पहाडी र उनको सडक निर्माण कार्यदल। छिमेकी जिल्ला जाजरकोट र तत्कालिन आफ्नै अञ्चल सदरमुकाम जुम्लामा बाटो पुगेर सवारीका साधन गुडिरहेको देखेका तर आफ्नै घरआगनमा गाडी गुडेको कहिले देख्न पाइएला भनेर दैवभरोसामा वर्षौदेखि त्यो भावी समयलाई पर्खि बसिरहेका थिए डोल्पाली।

छिन्चु जाजरकोटसम्म १०७ किलोमिटर लम्बाइ रहेकोे सडकको सफल रुपमा निर्माण कार्य सम्पन्न गरेको नेपाली सेनाले ११८ किलामिटर लम्बाईको जाजरकोट डोल्पा सडक निर्माण गर्ने थप जिम्मेवारी पनि पायो। ०६५ सालमा जाजरकोटको भूभाग भएर डोल्पा जोड्ने कि रुकुम भूभाग भएर डोल्पा जोड्ने भन्ने रेखाङकन विवादले दुई वर्ष सडक निर्माण कार्य पछाडि धकेलियो। अन्तत रेखाङकन विवाद समाधान पछि आर्थिक वर्ष ०६६/०६७ बाट जाजरकोटको पासागाडलाई जिरो बिन्दु मानेर सेनाले सडक निर्माण कार्यलाई अगाडि बढायो। जाजरकोटदेखि डोल्पाको सदरमुकाम दुनैसम्मको ११८ किलोमिटर लम्बाईको सडकको ट्रयाक खोल्ने कार्य सफल रुपमा पुरा गरेको छ।

करिब १५ वर्ष सडक निर्माणमा खटिएको सेनाले तत्कालिन विषम परिस्थितीका बावजुद पनि लक्षय पुरा गरेर यत्तिखेर सडक निर्माणको क्रममा जाजरकोटदेखि डोल्पाको विभिन्न स्थानमा खडा गरिएका बेस क्याम्प उठाएर आफ्नो थातथलोमा फर्कन थालेको छ। विभिन्न अस्थाई निर्माण बेस क्याम्प उठाएर फर्कन क्रममा सेनाका कर्णेल पहाडी र जावनहरुलाई स्थानीयले फुलमाला अविर टिका र खादा लगाएर बिदाई गरेका छन्।

भौगोलिक विकटतालाई समेत चिरेर सरकारले दिएको जिम्मेवारी र डोल्पासम्म सडक पुर्याउने सरकारको लक्ष्यलाई सफल रुपमा पुरा गरेर डोल्पालीको भाग्य निर्माणको आधार मानिएको सडक आयोजना सडक विभागलाई हस्तान्तरण गर्न लागिएको जाजरकोट डोल्पा सडक निर्माण कार्यदलका प्रमुख कर्णेल पहाडीले बताए। ‘सडक निर्माण पुरा गर्नु सहज थिएन तर थुप्रै चुनौती व्यहोरेर पनि विकासको मुख्य पुर्वाधारको रुपमा रहेको सडक निर्माणमा दिनरात नभनेर ज्यानलाई हत्केलामा राखेर आफ्नो जिम्मेवारी पुरा गर्यौ’ कर्णेल पहाडीले नागरिकसँग भने। जाजरकोटदेखि डोल्पाको दुनैसम्म सडकको ट्रयाक खोल्ने कार्य पुरा गरेर ०७५ मंसिर ४ गते त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने त्रिपुराकोटको छलगाडस्थित अन्नीचौरमा औपचारिक रुपमा सडक उद्घाटन गरिएको थियो। नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा संघीय सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सडकको उद्घाटन गरेका थिए।  ‘हामिले यत्ति चाँडै सडक पाउँछाैं भन्ने सोचेका पनि थिएनौ, कल्पनासम्म नगरेको अवस्थामा नेपाली सेनाले मेरै घरआँगनमा सडकसहित सवारी साधन गुडाएर ल्यायो। नेपाली सेना हाम्रो लागि ईश्वर बनि आयो’  ९१ वर्षीय विष्णुरुद्ध उपाध्यायले भने। नेपाली सेनाले जिम्मा नलिएको भए अहिले नै डोल्पामा सडक पुग्ने थिएन अझै कैयौ वर्ष सडककै सपनामा बाँच्नु पर्थ्यो थाहा थिएन। अहिले सडक पुग्यो यातायातका साधन गुडेका छन् बजार भाउ सस्तिएको छ, नेपालगन्ज डोल्पाको दुरी छोटिएको छ त्रिपुरासुन्दरी नगरपालिका १ का भक्तसिं कठायतले भने।

एक दर्जन पुल निर्माण गर्न बाँकी
जाजरकोट डोल्पा सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भएपनि विभिन्न स्थानमा बनाइनु पर्ने पुल नबनेका कारण खण्ड खण्डमा यातायात सञ्चालन भईरहेका छन्। जाजरकोट डोल्पा सडक अन्तरगत पर्ने राडीज्युला,  तल्लुवगर, करवगाड, हरियापानी, चुँगाड, छलगाड, भेरीनदी र रुपगाडलगायतका दर्जनौ ठाउँमा मोटरेवल पुल निर्माण गर्न आवश्यक छ। भेरीनदीमा मात्रै आवश्यक पर्नेछ। पक्की पुलमध्ये रिम्ना र चिसापानीमा पुल निर्माण भईसकेका छन्। राडिज्युला, तल्लु, हरियापानी, सुँपानी र रुपगाडमा पुल निर्माण गर्न बाँकी छ। सडकलाई बीचमा पर्ने सानाठुला नदिले टुक्रयाई दिएकाले ठाउँठाउँमा गाडी परिर्वतन गरेर यात्रा गर्नुपर्ने बाध्यताले सर्वसाधारण सास्तीमा छन्।

सडकको स्तरउन्नती गर्न डोल्पालीको माग
नेपाली सेनाले पहिलो चरण अन्र्तगत जाजरकोट डोल्पासम्मको सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न गरिसकेकाले सडकको स्तरउन्नतीको लागि डोल्पालीले सरकारसँग माग गरेका छन्। पक्की पुल र कालोपत्रेका लागि आवश्यक बजेट ब्यवस्थापन गरेर स्तरउन्नतीको काम शुरु गर्नु पर्ने डोल्पालीको माग छ।

जाजरकोट डोल्पा सडकको निर्माण रणनीतिक महत्व
डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्दै नेपाल, चीन र भारत जोड्ने त्रिदेशिय व्यापारिक नाकाको रुपमा विकास गर्ने लक्ष्यका साथ यो सडकको निर्माण थालनी गरिएको थियो। उल्टोतर्फ मोरिम हँुदै धोतर्फ विगत ७ वर्षदेखि करोडौंको बजेटमा निर्माण व्यवसायीद्वारा सडक खनिरहेको बताइए पनि हालसम्म प्रगति देखिएको नदेखिएको र ठेकदार मोटाउने काम मात्र भएको स्थानीयको आरोप छ।

फर्कदै थालेको सेनालाई फुलामाला र अविर टिका लगाएर विदाई गर्दै स्थानीय।
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App