२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

६ महिना काम, ६ महिना ठप्प

धादिङ र रसुवाको सीमा क्षेत्रमा निर्माण भइरहेको माथिल्लो मैलुङ आयोजना। तस्बिर : सरिता/नागरिक

सरिता श्रेष्ठ/हिमनाथ देवकोटा

सोमदाङ (धादिङ/रसुवा) – रसुवा र धादिङ जिल्लाको सीमा क्षेत्र सोमदाङमा निर्माण भइरहेको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजना निर्माण कार्य सुस्त भएको छ। निर्माण कार्य सुरु गरिएको सात वर्ष भइसक्दा पनि कामले गति लिन सकेको छैन। भूकम्प, नाकाबन्दी, ठेकेदार परिवर्तन, वर्षा र हिउँ परेर समयमा काम हुन नसक्ने भएका कारण कामले गति लिन नसकेको आयोजनाले बताउँदै आइरहेको छ।

हिमाली भेग भएका कारण वर्षमा ६ महिनामात्र काम हुने गर्दछ। वर्षाको समय र हिउँ पर्ने समयमा आयोजना निर्माण कार्य ठप्प हुने गरेको आयोजनाका ओभरसियर (प्राविधिक) रेशम बोहराले बताए। ‘निर्माण कार्य सुस्त भए पनि ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ,’ उनले भने, ‘पावर हाउसका पाइपलाइन जडान र पेनस्टक जडान गर्न बाँकी छ, अब छिट्टै नै निर्माणले तीव्रता पाउनेछ।’

वर्षा र हिउँ पर्ने क्षेत्र भएका कारण आयोजनाको काम वार्षिक रुपमा ६ महिनामात्रै हुने गर्दछ। बर्खा मौसम सुरु हुने असारदेखि भदौसम्म र हिउँ पर्ने मौसम पुसदेखि फागुनसम्म दुई चरणमा निर्माण कार्य अवरुद्ध हुने गरेको छ। अन्य समयमा भने निर्माण कार्य तीव्र गतिमा गरिने गरेको उनले बताए। यस वर्ष मनसुन छिटै सुरु भएकाले निर्माण कार्य प्रभावित बनेको थियो। आयोजनाका अनुसार अहिले पावर हाउस निर्माण, प्रसारण लाइन निर्माण र पेनस्टक जोड्ने कार्य भइरहेको छ।

आयोजनाको २०६९ देखि निर्माण कार्य सुरु गरिएको थियो। पछिल्लो समय थपिएको म्यादअनुसार आगामी माघ मसान्तसम्म उत्पादन गरिसक्नु पर्छ। सिभिल कार्यका लागि नयाँ ठेकेदार आएका कारण पछिल्लो समय तोकिएको समय सीमाभित्र काम सकिने आयोजनाका प्रोजेक्ट इन्चार्ज दुर्गासुमन जोशीले बताए। ‘भौगोलिक विकटता, ठेकेदार र इन्जिनियर फेरिरहँदा निर्माण कार्य पनि प्रभावित बनेको छ,’ उनले भने, ‘बर्खा मौसम सकिनेबित्तिकै निर्माण कार्यलाई तीव्रता दिनेछौं।’

नौ सय ३० मिटरमध्ये करिब तीन सय मिटर पेनस्टक जोड्न बाँकी छ। ‘पेनस्टक जोड्ने कार्य अन्तिम चरणमा पुगेको छ,’ प्रोजेक्ट इन्चार्ज जोशीले भने, ‘६ महिनामा काम सकिने गरी निर्माण गरिरहेका छौं।’ २०७६ असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य पूरा हुन नसकेपछि दोस्रो पटक म्याद थप गरिएको थियो। तोकिएको समय सीमाभित्र निर्माण सम्पन्न हुन नसकेपछि हालसम्म तीन पटक म्याद थप भइसकेको छ।

आयोजना निर्माणका लागि आवश्यक पर्ने हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिलको सबै सामग्री आइसकेको जोशीले बताए। २०६९ देखि निर्माण सुरु भएको आयोजना रन अफ रिभर प्रणालीमा निर्माण भइरहेको छ। आयोजनाले हिउँदको समयमा पनि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सक्ने उनले बताए। ‘हिउँदको समयमा हिउँ पग्लने भएकाले आयोजनाको उत्पादन घट्दैन,’ प्रोेजेक्ट इन्चार्ज जोशीले भने, ‘उत्पादित विद्युत् खेर जान नदिन प्रसारण लाइन निर्माण पनि भइरहेको छ।’

२०७५ असार महिनामा अवरुद्ध भएको काम चैत महिनामा सुरु भए पनि वर्षाले गर्दा रोकिएको छ। आयोजना स्थलमा पु-याइएका सामग्री यत्रतत्र छरिएको छ भने आयोजनालाई आवश्यक पर्ने निर्माण सामग्रीसमेत पु-याउन सकेको छैन। ६.४२ मेगावाट क्षमताको आयोजनाले हिउँदको समयमा पनि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सक्ने प्रोजेक्ट इन्चार्ज जोशीले बताए। वर्षको ६ महिनामात्रै आयोजनास्थलमा काम गरिने भएकाले निर्माणमा ढिलाइ भएको उनले बताए।

धादिङ र रसुवाको सिमाना सोमदाङदेखि ग्राङसम्म १६ किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको जोशीले बताए। जय दुर्गे कम्पनीले ३३ केभी प्रसारण लाइनको निर्माण गरिरहेको छ। निर्माण कार्य छिटो सम्पन्न गर्न स्थानीयले पनि दबाब दिएका छन्।

प्रकाशित: २० श्रावण २०७६ ०३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App