१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पुषबाटै विकासे अायाेजना शुरु गरी पूँजीगत खर्च ८० % पुर्याउन निर्देशन

काठमाडौं– उप्र–धानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले पूँजीगत खर्चको चार्ट असारमा मात्रै ह्वात्तै बढ्ने प्रवृत्ति यस वर्ष दोहोरिन नदिने बताएका छन्।  

पूँजीगत खर्च ८० प्रतिशतभन्दा बढी गराएर जनतामा विकासको अनुभुती गराउन सक्रिय अर्थमन्त्री महराले सम्पूर्ण प्रक्रिया पूरा गरेर पुष महिनाबाटै विकासका काम सुरु गर्न मन्त्रालयका अधिकारीहरुलाइ निर्देशन दिएका छन्।   

चालू आर्थिक वर्षको पूँजीगत खर्च ८० प्रतिशतभन्दा माथि उकास्न आफू सक्रिय रहेको उनले बताए। अघिल्लो आर्थिक वर्ष जम्मा ५७ प्रतिशत मात्रै पूँजीगत खर्च भएको थियो।

उनको हरेक महिना सबै मन्त्रालयको खर्चको प्रगती विवरण लिने योजना रहेको छ।   हरेक वर्ष निकै कम मात्र पूँजीगत खर्च भएर, बजेट फ्रिज हुँदा आजित मन्त्रालयका अधिकारीहरु पनि अर्थमन्त्रीको नयाँ कदमबाट उत्साहित भएको बताइएको छ।  
मन्त्रालयका उच्च अधिकारीहरुले रकम खर्च नगर्ने मन्त्रालयको रकम खिचेर काम गर्ने मन्त्रालयलाई बाँड्नेसम्म गर्न सकिने अर्थमन्त्री महरालाई सुझाव दिएका छन्। मन्त्रीले पनि त्यहाँसम्म जान परे पनि जाने तर विकास खर्चको चार्ट असारमा बढ्ने कुराको क्रम भंग गराएरै छाड्ने अभियानमा आफू लागेको बताए।   

त्यसका लागि मन्त्रालयहरुका सचिव सहित विकासे आयोजनाका विभागीय प्रमुखहरुसँग मंगलवारदेखि सुरु भएको छलफल बुधाबार पनि जारी रह्यो। बुधबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव धनबहादुर तामाङ्ग, सडक  बिभागका महानिर्देशक देबेन्द्र कार्की, रेल्वे बिभागका महानिर्देशक अनन्तः आचार्य सहभागी थिए। मन्त्रालयले चालू आर्थिक वर्षको प्रथम चौमासिक सकिनै लाग्दा, ८.७ प्रतिशत मात्रै खर्च गरेको छ।

मन्त्री महराले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई मंसिरसम्म सबै  प्राविधिक काम फत्ते गरेर, पुषबाट बिकासका काम सुरु गर्न निर्देशन दिएका छन्।

भौतिक पूर्वाधार तथा यातायात व्यव्स्था मन्त्रालयका अधिकारीहरुले करिब ४ हजार वटा कार्यक्रम नै ४ लाख र ६ लाख रुपैयाँ छुट्टाइएका स–साना टुक्रे योजना हुँदा ठूला काम गर्न समय नपुग्ने गरेको गुनासो गरे। साथै योजना आयोगबाट कार्यक्रम स्विकृतिमै ढिलाइ हुँदा पनि काममा समस्या पर्ने गरेको बताए।

छलफलमा मन्त्रालयकातर्फबाट अर्थमन्त्रीसहित, प्रमुख आर्थिक सल्लाहकार डा. पुण्य प्रसाद रेग्मी, सचिब शान्तराज सुवेदी, राजश्व सचिब राजन खनाल, बजेट महाशाखा प्रमुख मधु मरासिनी, अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख बैकुण्ठ अर्याललगायतको सहभागिता थिायो।

प्रकाशित: २४ कार्तिक २०७३ ०९:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App