१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ओझेलमा नरहरिनाथ स्मृति पुस्तकालय

पुस्तकालय तथा संग्राहलयमा रहेका पुस्तक। तस्बिर: श्याम राई

काठमाडौं - पशुपतिको मृगस्थलीमा रहेको योगी नरहरिनाथ स्मृति पुस्तकालय तथा संग्राहलयको अस्तित्व ओझेलमा परेको छ।  पुस्तकालयको रेखदेखका लागि सरकारी निकायले चासो नदेखाउँदा पुस्तकालय तथा संग्रहालयको अस्तित्व संकटमा परेको हो।

पुस्तकालयको संरक्षण हुन नसकेपछि योगी नरहरिनाथले बटुलेका प्राचीन पुस्तक धमिराको आहारा हुन थालेका छन्।  संग्रहित पुस्तक पाशुपत क्षेत्रको गोरक्षनाथ पीठ आश्रमको माथ्लो तलामा छरपस्ट छन्।  केही पुस्तक मात्र मिलाएर राखिएका छन्।  २०७२ सालको भूकम्प र चैतमा आएको हावाहुरी र पानीले पुस्तक राखिएको ठाउँँ नष्ट भयो।  गुठी संस्थानले प्राचीन सामग्रीको संरक्षण गर्ने भन्दै आश्रममा ताला लगायो।  २०७२ सालमा स्थापित योगी नरहरिनाथ स्मृति पुस्तकालय तथा संग्रहालय स्थापना भएको थियो।

हाल श्री वृहद्ध्यात्मिक परिषद्ले राष्ट्रियता र मौलिक पहिचानका धरोहर रहेका ती प्राचीन पुस्तक लगायतका सामग्रीको संरक्षण गर्दै आए पनि यथोचित व्यवस्थापन अझै हुन सकेको छैन।  आध्यात्मिक परिषद्का अध्यक्ष योगी श्रीषनाथले आर्थिक समस्या र दक्ष जनशक्ति अभावले पुस्तकालय व्यवस्थित बनाउन नसकिएको बताए।  ‘योगी नरहरिनाथले जम्मा पारेका ऐतिहासिक महत्वका पुरातित्वक सामग्री संग्रहित छन्,’ उनले भने, ‘आर्थिक अभावका कारण पुस्तकालयलाई व्यवस्थापन गर्न सकिएको छैन।  संरक्षण गर्नुपर्ने दायित्व त राज्यको हो तर संरक्षण गर्ने कसले ?’ धमिराले खाएका पुस्तक तथा सामग्री संरक्षण गर्न कठिनाइ भएको र ती सामग्री पुनमुद्रण गर्न पनि असम्भव भएको उनी बताउँछन्।  ‘पशुपति क्षेत्र विकास कोषले समेत कुनै सहयोग गरेको छैन,’ उनले भने।

संग्राहलयमा २०५९ फागुन १३ गते ब्रह्मलीन योगीका कृति, पाण्डुलिपि, हस्तलिखित ग्रन्थ छन्।  ऐतिहासिक पुस्तक, शिलालेख, औषधि, इँटालगायतका सामग्री पनि संकलित छन्।  ‘योगीले गहन अध्ययन गर्दै पैदल यात्रा गरेर भारत–नेपालका कतिपय स्थानमा बहुत कठिनताका साथ पुस्तक जम्मा पारेका थिए।  यी सबै पुस्तक खेर हुँदै गएको छ,’ उनले भने।  उनका अनुसार २००३ सालबाट योगीको पुस्तक प्रकाशन सुरु भएको थियो।  मृगस्थलीस्थित गोरक्षनाथपीठमा रहेको आश्रममा उक्त पुस्तकालय र संग्रहालय एकै ठाउँमा सञ्चालनमा ल्याइएको छ।  पुस्तकालयमा १२ हजार भन्दा बढी पुस्तक छन्।  नरहरिनाथले विभिन्न १० वटा पत्रिका प्रकाशनसमेत गरेका थिए।

‘नरहरिनाथका पुस्तकहरू नेपालको राष्ट्रिय मौलिक पहिचान, हिन्दू धर्म, हिन्दू संस्कृति, परम्परा एवं इतिहास र पुरातत्वको अध्ययन तथा अनुसन्धानका लागि अत्यन्त महत्वपूर्ण छन्,’ उनले भने, ‘त्यसैलै सरकारले यसको उचित संरक्षणमा लाग्नुपर्छ। ’ नरहरिनाथले नेपाल र भारतका थुप्रै ठाउँमा वेदविद्याश्रम, आयुर्वेदिक औषधालयको स्थापना गरेका थिए।  उनले मानव कल्याणका लागि ब्रह्मचार्या श्रम, शोधकेन्द्र, आध्यात्मिक छापाखानालगायतका संघसंस्था स्थापना गरेका थिए।

पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी प्रेमहरि ढुंगानाले योगी नरहरिनाथद्वारा प्रकाशित, संकलिन सबै ऐतिहासिक कृति, पुस्तक संरक्षणका लागि एउटा कक्ष खोल्न लागिएको बताए।  ‘योगीका कृतिहरुलाई संरक्षण गर्नका लागि कक्षको स्थापना गर्ने हाम्रो योजना छ,’ उनले भने, ‘यसका लागि बजेट पनि छुट्याउन लागेका छौं।  प्रपन्नाचार्यको पुस्तकालय पनि त्यस्तै हालतमा छ।  बजेट कार्यक्रम पास गरेपछि सबै प्रक्रिया पूरा गरी संरचना बनाउने कामको थालनी हुन्छ।  संरचना बनाएपछि सबै पुस्तकालयलाई एउटै ठाउँमा राख्ने छौं। ’ उनका अनुसार सबै पुस्तकालय तथा संग्राहलयलाई एउटै भवनमा राखी व्यवस्थित ढंगले संरक्षण गर्नेछ।  यसमा सन्त स्मृति कक्ष हुने छन्।’

प्रकाशित: २० श्रावण २०७६ ०२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App