१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

हटाइए दक्षिण अफ्रिकी क्रिकेट प्रशिक्षक

जोहानेसबर्ग – क्रिकेट दक्षिण अफ्रिका (सिएसए) ले आइतबार राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ओटिस गिब्सन र उनको समग्र प्रशिक्षण टोलीलाई हटाउने निर्णय गरेको छ। गत साता बसेको सिएसएको बैठकले हालै मात्र इङ्ल्यान्डमा सम्पन्न एकदिवसीय क्रिकेट विश्वकपमा टोलीले १० मध्ये सातौं स्थानमा चित्त बुझाउनु लज्जास्पद भएको समीक्षा गर्दै प्रशिक्षक र उनको टोलीलाई हटाउने निर्णय गरेको थियो।

यससँगै दक्षिण अफ्रिकाले टेस्ट च्याम्पियनसिपअन्तर्गत भारतविरुद्ध अर्को महिना सुरु हुने टेस्टमा नयाँ प्रशिक्षकको नेतृत्वमा खेल्नेछ। सिएसएले जारी गरेको विज्ञप्तिमा फुटबलमा जस्तै टोली म्यानेजर नियुक्त गर्ने र उनलाई आवश्यक कोचिङ स्टाफ, चिकित्सकको टोली र कप्तान नियुक्तिको अधिकारसमेत दिइने बताएको छ। प्रशिक्षकले आफ्ना गुनासा तथा सुझाव हालै मात्र नियुक्त गरिएका क्रिकेट निर्देशकसमक्ष बुझाउनेछन्।

पूर्व दक्षिण अफ्रिकी खेलाडी कोरे भान जेल र क्रिकेट निर्देशक थवाङ मोरोईले संयुक्त रूपमा भारत भ्रमणमा टोलीको जिम्मेवारी हेर्ने बताइएको छ। ‘यो परिवर्तनले दक्षिण अफ्रिकाको क्रिकेटमा नयाँ अध्यायको सुरुआत गर्नेमा हामी विश्वस्त छौ,’ मोरोईले भने, ‘गिब्सनको टोलीमा रहेका कसैलाई पनि प्रशिक्षण टोलीमा पुनः नियुक्त गरिने छैन।’ २०१७ मा दक्षिण अफ्रिकाको प्रशिक्षकको जिम्मेवारी सम्हालेका गिब्सनको कार्यकाल सकिन अझै एक महिना बाँकी थियो। गिब्सनले विश्वकपअघि आफू अझै दक्षिण अफ्रिकाको प्रशिक्षक पदलाई निरन्तरता दिने पक्षमा रहेको बताएका थिए। तर टोलीले सोचेअनुरूप प्रदर्शन गर्न नसक्नु र सेमिफाइनल प्रवेश गर्न नसक्दा उनीमाथि दबाब बढेको थियो।

प्रकाशित: २० श्रावण २०७६ ०२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App