१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गाउँपालिकाे जग्गामा उद्योग ग्राम, स्थानीयद्वारा विरोध

ओखलढुंगा - जिल्लाको मोलुङ गाउँपालिकाले जग्गादातालाई झुक्याएर मनपरी निर्णय गरेको भन्दै जग्गादातालगायत स्थानीयले विरोध जनाएका छन्।  गाउँपालिकाको केन्द्र राख्ने र भवन बनाउने सर्तमा गत फागुनमा वडा ३ प्राप्चाका १७ जना स्थानीयले १२ रोपनी ७ आनाभन्दा बढी खेतीयोग्य जमिन निःशुल्क प्रदान गरेका थिए। 

स्थानीयले उपलब्ध गराएको जग्गामा गाउँपालिका भवन निर्माण नगरी गाउँपालिकाले उद्योग ग्राम बनाउने तयारी गरेपछि उनीहरू रुष्ट बनेका हुन्।  प्राप्चाका टंक वाग्ले, तेजप्रसाद पोखरेल, ढकानन्द वाग्ले, तेजप्रसाद दाहाल, बलभद्र दाहाल, मीनकुमार दाहाल, यज्ञप्रसाद दाहाल, लेखनाथ दाहाल, बमप्रसाद दाहाल, खड्माया वाग्ले, ऋतुराज दाहाल, चन्द्रमाया मगर, लक्ष्मी दाहाल, भोजराज वाग्ले, आत्माराम दाहाल, मनमाया हादाल र कमला दाहालले संयुक्त रूपमा गाउँपालिकालाई जग्गा उपलब्ध गराएका थिए।

गाउँपालिकाले आफ्नो कार्यालय भवन बनाउने भनी स्थानीयसँग लिएको जग्गामा उद्योग ग्राम स्थापना गर्ने निर्णय गरेसँगै विरोध सुरु भएको हो।  जग्गादाताको चाहानाविपरीत गाउँपालिकाले भवन नबनाई सो जग्गामा उद्योग सञ्चालन गर्ने निर्णय गरेको हो।  गत वैशाख २६ गते गाउँपालिकाको सो जग्गामा उद्योग ग्राम स्थापनाका लागि उद्योग तथा वाणिज्य मन्त्रालयमा मोलुङ गाउँपालिकाले बजेट माग गरेको छ।  ‘आफूहरूले दिएको जग्गामा भवन निर्माण हुनेमा ढुक्क थियौं,’ जग्गादाता आत्मारामले भने, ‘गाउँपालिकाले हामीलाई धोका दियो।’

स्थानीयले प्रेस विज्ञप्ति नै जारी गरेर आफूहरूले निःशुल्क प्रदान गरेको जग्गामा सर्तबमोजिम गाउँपालिका भवन तत्काल बनाउन र नबनाए जग्गा फिर्ता गर्न माग राखेका छन्।  जग्गादाताहरूले आफ्ना माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

वडा ५ मा समेत गाउँपालिकाका नाममा जग्गा उपलब्ध गराउन परिपत्र गरेपछि गाउँपालिका केन्द्र कहाँ राख्ने भन्ने विवाद पनि त्यहाँ सिर्जना भएको थियो।  यसअघि वडा ३ लाई जग्गा उपलब्ध गराउन गाउँपालिकाले नै परिपत्र गरेको थियो।  गाउँपालिकाले दुई वडाबीच प्रशासकीय भवन कता बनाउने भन्ने विवाद सुरु भएपछि गाउँपालिकाले जग्गादातालाई थाहै नदिई वडा ३ को जग्गामा उद्योगग्राम बनाउने निर्णय गरेको स्थानीयको आरोप छ।

उद्योग ग्राम स्थापनाका लागि बजेट उपलब्ध गराउन २०७६ वैशाख २६ गते उद्योग तथा वाणिज्य मन्त्रालयमा माग गरेको थियो।  गाउँपालिकाले जग्गादाताबाट भवन निर्माणका लागि दिइएको जग्गाको विवरण उल्लेख गर्दै उद्योगग्रामका लागि बजेट माग गरेको हो।  गाउँपालिकाको यस्तो निर्णय थाहा पाएपछि जग्गादाता तथा वडा ३ का बासिन्दाले विरोध जनाएका हुन्।  आम्दानी गर्नेे खेतबारी काटेर भवन निर्माणका लागि जग्गा दिए पनि गाउँपालिकाले उद्योग ग्राम बनाउने तयारी गरेको भन्दै स्थानीयले विरोध जनाएका हुन्।

यस विषयमा मोलुङ गाउँपालिकाका अध्यक्ष मणिराज राईले जग्गादाताले कुरा नबुझी विरोध गरेको प्रतिक्रिया दिएका छन्।  उद्योगग्राम माग गर्दा मात्र सो जग्गा देखाइएको उनले बताए।  ‘मन्त्रालयबाट मापदण्ड नपुगेर त्यो जग्गामा कार्यक्रम परेन,’ अध्यक्ष राईले भने, ‘स्थानीयको आन्दोलनको औचित्य छैन। ’ गाउँपालिका अध्यक्ष आफू रहेको र वास्ताविकताबारे आफूलाई सोध्दै नसोधी स्थानियले विरोध गरेको उनको भनाइ छ।  ‘अहिले मैले सम्झाइसकें।  कुरा बुझिसकेका छन्,’ उनले भने।  अहिले उद्योग ग्रामका लागि अन्यत्रै जग्गाको खोजी भइरहेको गाउँपालिकाले जनाएको छ।

प्रकाशित: २० श्रावण २०७६ ०२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App