१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

सुनसरीमा डेंगुका बिरामी बढ्दो

इटहरी– अढाइ महिनाअघिदेखि धरानमा देखापरेको डेंगु अझैसम्म नियन्त्रण हुन सकेको छैन। जिल्लाका अन्य क्षेत्रमा पनि डेंगुका बिरामी बढिरहेका छन्।

धरानमा सुरुआतमा वैशाख ३० गते तीन जना बिरामीमा डेंगुको संक्रमण भेटिएको पत्ता लागेपछि क्रमशः ८ बाट १२ जना हुँदै अहिले २० वटै वडाकै अधिकतर घरमा डेंगका बिरामी भेटिन्छन्। डेंगुका चार प्रकार हुन्छन्, टाइप वान, टु, थ्री र फोर। अहिले धरानमा भएको डेंगुको टाइप टु भएको जिल्ला अस्पताल सुनसरीका प्रमख सागर प्रसाईंले बताए। स्थानीय सरकारले जनचेतना कार्यक्रम जारी राखेको छ।

धरानमा डेंगु फैलिने उपयुक्त वातावरण भएकाले गर्दा पनि तत्काल नियन्त्रण हुन कठिन छ। ‘जबसम्म पानी स्टोर गरिन्छ, तबसम्म डेंगुको समस्या हट्न गाह्रो छ,’ जिल्ला अस्पताल प्रमुख प्रसाईंले भने, ‘पानी स्टोरको समस्या हटेमा डेंगु फैलिने खतरा पनि कम हुन्छ।’ उनका अनुसार, अब डेंगुको टाइप थ्री र फोर भएमा भयावह स्थिति सिर्जना हुन सक्छ।

‘अहिलेसम्म त धरानमा महामारी नै फैलिए पनि समस्या सिर्जना भएको छैन,’ उनले भने, ‘यदि डेंगुको टाइप थ्री र फोर भएको खण्डमा मानवीय क्षति हुन्छ। धरानमा थ्री र फोर टाइपको डेंगुको संक्रमण फैलिने खतरा भने छ।’ उनका अनुसार, मच्छडको प्रकृति नै संकलित पानीमा अण्डा पार्ने भएकाले गर्दा यो समस्या टार्नु नै डेंगु नियन्त्रणको प्रभावकारी उपाय हुन्छ।

लामखुट्टेको टोकाइबाट फैलिएको डेंगुका बिरामीमध्ये इटहरीमा पनि २५ जना पुगिसकेका छन्। यहाँ अरु पनि डेंगुका बिरामी भए पनि इटहरीभन्दा बाहिरका अस्पतालमा उपचार गर्ने भएकाले गर्दा सबैको रेकर्ड अपडेट भने नभएको इटहरी अस्पतालका स्वास्थ्यकर्मी रामकुमार धमलाले बताए।

इटहरी अस्पतालमा अहिलेसम्म रगत परीक्षण गरेकामध्ये ९४ जनामा २५ जना डेंगुको संक्रमण भेटिएको हो। अहिले यहाँ २४ घण्टे आकस्मिक सेवा सुरु भएकाले गर्दा डेंगुका बिरामीका लागि सहज हुने उनले बताए।

डेंगु नियन्त्रणका लागि इटहरी अस्पतालमा परीक्षण तथा उपचार निःशुल्क गरिने पनि भएको छ। उपमहानगरका २० वटै वडामा परिचालित स्वास्थ्यकर्मीले वडा अध्यक्षसँग समन्वय गरी डेंगु नियन्त्रणका गतिविधि सञ्चालन गर्ने निर्णय उपमहानगरपालिकाले गरेको छ। निजी स्वास्थ्य संस्थाले डेंगु परीक्षण उपचारको विवरण उपमहानगरपालिकाको स्वास्थ्य शाखामा बुझाउन आग्रह गरिएको छ।

डेंगुका बिरामी इनरुवा, रामधुनी, बराहक्षेत्र, दुहवीलगायतका स्थानमा पनि बढेका छन्। तर, धरानबाहेक अन्यत्र कुनै समस्या नहुने जिल्ला अस्पताल प्रमुख प्रसाईंले जनाए।

इनरुवामा ११ जना डेंगु संक्रमित बिरामी भेटिएका छन्। इनरुवा अस्पतालको आकस्मिक कक्षमा कार्यरत सिनियर अहेव गुणानन्द झाका अनुसार नमुना परीक्षण भइरहेकाले गर्दा अरु पनि डेंगुका बिरामी थपिनेछन्। इनरुवाका बिरामी धरान र विराटनगरमा पनि उपचार गराइरहेका छन्।

नगरभित्र एकसाथ डेंगुका बिरामी फेला परपछि इनरुवा नगरपालिकाको कार्यालयले शनिबार बिहान आपतकालीन बैठकसमेत डाक्यो। नगरपालिकाको कार्यालयले कार्यपालिकाको बैठकबाट डिल्ली निरौलाको संयोजकत्वमा डेंगु नियन्त्रण तथा प्रचारप्रसार समितिसमेत गठन गरेको छ।

इनरुवा अस्पतालमा स्वास्थ्यकर्मी ‘हाई अलर्ट’ मा रहने गरी हेल्प डेस्क राख्ने तयारीसमेत थालिएको इनरुवा नगरपालिकाको कार्यालयले जनायो। नगरपालिकाले नगरका वडामा विषादी छिट्ने कामसमेत सुरु गरिसकेको छ।

डेंगु भएमा उच्च ज्वरो आउने, वान्ता हुने, शरीरका जोर्नी दुख्ने, प्लेटलेसको कमीले शरीर निलो हुने, रातो डाम बस्नेलगायतका लक्षण देखा पर्छन्।

प्रकाशित: १९ श्रावण २०७६ ०६:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App