१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

वन कार्यालयको राजश्व वृद्धि

ओखलढुंगा – डिभिजन वन कार्यालय ओखलढुंगाले वनपैदावर निकासी बाट अघिल्लो वर्ष भन्दा ३४ लाख ४१ हजार सात सय ७३ रुपैयाँ ७० पैसा बढि राजश्व सङ्कलन गरेको छ। आर्थिक वर्ष २०७५/०७६ मा वनपैदावर निकासीबाट ५४ लाख ४३ हजार राजश्व सङ्कलन गरेको छ।

कार्यालयले आर्थिक वर्ष २०७४/०७५ मा मात्र २० लाख एक हजार दुई सय ५७ रुपैयाँ ७० पैसा राजश्व सङ्कलन गरेको थियो। यस वर्ष सबै भन्दा बढी खयर निकासीबाट राजश्व उठेको कार्यालयका सुचना अधिकारी जमानसिंह लामाले जानकारी दिए। काठ र जडिबुटि निकासी बाट ५४ लाख २७ हजार राजश्व उठेको सुचना अधिकारी जनमानसिंह लामाले जानकारी दिए।

सल्लाको खोटो निकासी बापत १६ हजार राजश्व सङ्कलन भएको लामाको भनाई छ। खयर, सल्ला र उत्तिस लगायतका काठ ४८ हजार सात सय ८१ क्युफिट निकासी भएको छ। अर्गेली, लोक्ता, चिराईतो लगायतका १६ सय किलोग्राम जडिबुटी जिल्ला बाहिर निकासी भएको हो। अघिल्लो आर्थिक वर्षमा काठ निकासी बाट १४ लाख १५ हजार आठ सय ९४, जडिबुटी बाट तिन लाख ६३ हजार ६ सय ४५ र खोटो बाट दुई लाख २१ हजार सात सय १८ रुपैयाँ ७० पैसा राजश्व सङ्कलन भएको थियो।

निजी तथा आवधी जग्गामा भएका काठ विक्रि गर्न सहज हुनुका साथै व्यक्तिलाई आर्थिक लाभ हुने भएकाले विक्रि बढेका कारण राजश्व वृद्धि भएको डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल अधिकृत भरतबाबु श्रेष्ठले बताए। काठ र जडिबुटीका व्यापारीहरु गाउँ गाउँमा जानका लागि सडकको व्यवस्था भएकाले पनि काठ तथा जडिबुटीको निकासी बढे संगै राजश्व सङ्कलन बढेको उनको भनाई छ।

ओखलढुंगा बाट काठ तथा जडिबुटी नेपालगञ्ज, विराटनगर, सिरहा, काभ्रे, विरगञ्ज लगायतका जिल्लामा कच्चा पदार्थका रुपमा निकासी हुने गर्दछ।

प्रकाशित: १७ श्रावण २०७६ ०४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App