१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हङकङ प्रदर्शनकारीलाई चीनको चेतावनी

हङकङमा रहेका चिनियाँ सेना। तस्बिर ः एजेन्सी

हङकङ – लगातार आठ सातादेखि जारी हङकङको प्रदर्शनलाई लिएर चीनले चेतावनी जारी गरेको छ। चीनले एक मिडियोमार्फत हङकङका प्रदर्शनकारीलाई चेतावनी दिएको हो। हङकङमा रहेका चिनियाँ सेनाले जारी गरेको तीन मिनेट लामो भिडियोमा फौजले ‘दंगा–विरोधी’ अभ्यास गरिरहेको देखिएको छ। यो भिडियो हङकङमा रहेका लोकतन्त्र पक्षधर प्रदर्शनकारीलाई मनोवैज्ञानिक रूपमा चेतावनी दिइएको रूपमा लिइएको बिबिसीले उल्लेख गरेको छ।

चिनियाँ सामाजिक सञ्जाल विबोमार्फत सार्वजनिक गरिएको सो भिडियोमा चिनियाँ सेनाको ट्यांक, रकेट लन्चरलगायतका सामान र गतिविधि पनि देखाइएका छन्। भिडियोमा प्रदर्शनकारीलाई पक्राउ गरिरहेको जस्तो पनि देखाइएको छ। सामाजिक सञ्जालमा राखिएको सो भिडियोको सुरुवातमै चिनियाँ सेनाले ‘सबै नतिजा तिम्रै खतरामा रहेका छन्’ भनेको छ।

मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नेबारे हङकङ सरकारले ल्याएको प्रस्तावित विधेयकलाई लिएर सुरु भएको प्रदर्शन हाल आएर लोकतन्त्र र स्वतन्त्रताको मुद्दातर्फ अघि बढिरहेका कारण हङकङ केही सातादेखि तनावग्रस्त रहेको छ। विधेयकले हङकङको न्यायिक स्वतन्त्रतालाई निस्तेज गर्ने र चिनियाँ सरकारको विरोध गर्नेविरुद्ध विधेयक लक्षित हुनसक्ने भन्दै आलोचकहरुले विरोध जनाएका थिए। यस विषयमा मुख्यभूमि चीनका अधिकारीहरुले भने कुनै प्रतिक्रिया दिन नमानेको बिबिसीले उल्लेख गरेको छ।

कैयौं साताको विरोध प्रदर्शनपछि हङकङ सरकारले तत्कालका लागि सो विधेयक स्थगित गरिएको घोषणा गरेको थियो। यद्यपि प्रदर्शनकारीले भने विधेयक स्थगन नभई पूर्ण रूपमा खारेज हुनुपर्ने भन्दै प्रदर्शनलाई जारी राखेका थिए। प्रदर्शन जारी रहेपछि हङकङकी प्रमुख कार्यकारी क्यारी लामले माफीसमेत मागेकी थिइन्। तर पछिल्लो समय प्रदर्शन हङकङमा बृहद् प्रजातान्त्रिक सुधार र स्वतन्त्रता कम हुँदै गएको प्रति लक्षित हुँदै गएको छ।

गत आइतबारको प्रदर्शन हिंसामा परिणत भएपछि बुधबारमात्रै ४० जनाभन्दा बढी अभियन्तालाई दंगा फैलाएको आरोप लगाउँदै अदालतमा उभ्याइएको बिबिसीले जनाएको छ। यस आरोपमा उनीहरु दोषी ठहर भए उनीहरुले १० वर्षसम्म जेल सजाय पाउन सक्नेछन्। कुनैबेला बेलायतको उपनिवेशका रूपमा रहेको हङकङ हाल ‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गत चीनको एक महŒवपूर्ण अंगका रूपमा रहेको छ। यही व्यवस्थाका कारण हङकङमा मुख्यभूमि चीनमा भन्दा बढी स्वतन्त्रता, छुट्टै कानुनी व्यवस्था र आफ्नै न्याय प्रणाली रहेको छ। विदेश र रक्षा नीतिबाहेकमा चीन सरकारले हङकङलाई स्वायत्तता प्रदान गरेको छ।

हङकङमा चिनियाँ जनमुक्ति सेना तैनाथ रहेको भए पनि स्थानीय मुद्दामा उनीहरुले हस्तक्षेप गर्न सक्दैनन्। यद्यपि सार्वजनिक व्यवस्था कायम गर्न र प्राकृतिक प्रकोपमा उद्धार गर्नका लागि हङकङ सरकारले चिनियाँ जनमुक्ति सेनासँग सहयोगको माग गर्न सक्ने प्रावधान रहेको छ।

यस कारण आठ सातादेखि हङकङमा प्रदर्शन भइरहेको भए पनि चिनियाँ सेना चुप बसेको छ। चिनियाँ सेनाले हङकङमा पछिल्लो समय विकसित अशान्तिलाई समाधन गर्नका लागि त्यहीको प्रहरीको भरमा छोडेको छ। यद्यपि चिनियाँ जनमुक्ति सेनाको ९२औं वार्षिकोत्सव मनाउनका लागि आयोजित एक कार्यक्रममा हङकङमा रहेको चिनियाँ सेनाका कमान्डरले ‘लगातारका प्रर्दशनले हङकङका जनताको जीवन र सुरक्षामाथि चुनौती थपिनुका साथै एक देश, दुई प्रणालीको न्यूनतम आधारलाई उल्लंघन गरेको’ बताएका छन्। ‘यस्तो खालको घटना सहन हुँदैन र हामी कडा शब्दमा निन्दा गर्छौं,’ कमान्डर चेन डाओसियाङलाई उद्धृत गर्दै हङकङको एउटा पत्रिका ‘साउथ चाइना मर्निङ पोस्ट’ले समाचार सम्पे्रषण गरेको छ।

 

प्रकाशित: १७ श्रावण २०७६ ०१:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App