१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सडक खुलाउन नगरपालिका र निर्माण व्यवसायीबीच सहकार्य

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले विभिन्न निर्माण कम्पनीसँगको सहकार्यमा अवरुद्ध सडक सुचारु गराउने भएको छ। गत असार २७ गतेदेखि साउन ५/६ गतेसम्म परेको अविरल वर्षाका कारण नगरपालिकाभित्रका ११ वटै वडालाई जोड्ने सडक पहिरोले भत्किएका कारण निर्माण कम्पनीसँगको सहकार्यमा सडक मर्मत गरेर सुचारु गराउने निर्णय गरिएको मेयर इवन राईले बताए।

पहिरोको कारण सम्पूर्ण सडक ठप्प हुँदा खाद्यान्न तथा दैनिक उपभोग्यवस्तुको ढुवानी गर्न समेत कठिन भएको तथा नगरपालिकाको एक मात्र जेसिभि प्रयोग गरेर सडक मर्मत गर्न समय धेरै लाग्ने भएकाले नगरपालिकाभित्र कार्यक्षेत्र भएका सम्पूर्ण निर्माण व्यवसायीलाई कार्यपालिकाको बैठकको निर्णय अनुशार सडक मर्मतका लागि आग्रह गरिएको नगरपालिकाले जनाएको छ। नगर कार्यपालिकाको बुधबारको बैठकको निर्णय अनुसार निर्माण व्यवसायीले ४० घण्टाका लागि स्काभेटर, जेसिभि लगायतका मेसिन उपलव्ध गराउने र सो क्रममा लाग्ने इन्धन नगरपालिकाले व्यवस्था गर्ने सहमति भएको मेयर राईले बताए। ‘११ वडा जोड्ने सडक सुचारु गराउन निर्माण कम्पनी र निर्माण व्यवसायीले ४० घण्टाका लागि मेसिन उपलव्ध गराउँछन्,’ मेयर राईले भने, ‘त्यसक्रममा लाग्ने तेल नगरपालिकाले बेहोर्ने सहमती गरिएको छ।’

नगरपालिकाको आग्रहमा थ्री–स्टार हाईड्रोपावर, सुर्य कन्ट्रक्सन, लामा कन्ट्रक्सन, महादेव खिम्ती, शुभम् एण्ड सफल कन्ट्रक्सन, निर्माण व्यवसायी लकिन्द्र राई, टंक राई र टेकेन्द्र राईले अवरुद्ध सडक मर्मतका लागि मेसिन उपलव्ध गराउने भएका हुन्।

लामो खडेरीका कारण मकैको बिरुवा सुकेपछि हलेसी तुवाचुङ नगरपालिकाको बाहुनीडाँडा, डिकुवा, च्यास्मीटारलगायतका वडामा खाद्यान्न संकट सुरु भइसकेको छ। मकै पाक्ने यो बेलामा किसानको बारीमा पुःन छरेको मकै उम्रिदैछ। अर्कातर्फ बजारसँग जोड्ने सडक बिग्रे÷भत्केकाले खाद्यान्नलगायतका उपभोग्य सामान ढुवानी गर्न सक्ने अवस्था छैन्।

हरियो मकै खाएर छाक टार्नु पर्ने बेलामा शहर बजारबाट खाद्यान्न ढुवानी गर्ने बाटो ठप्प हुँदा खाद्यान्न संकट सिर्जना भएको मेयर राईले बताए। ‘यो बेला किसानले हरियो मकै खाएर जीवन निर्वाह गरिरहेका हुन्थे। तर, खडेरीले मकैको बिरुवा नै मरे। वर्षापछि छरेको मकै भर्खरै उम्रदैछ,’ राईले भने, ‘गाउँमा ऐंचोपैंचो गर्ने अन्न छैन्। बजारबाट खाद्यान्न ल्याउने सडक पनि ठप्प भएकाले तत्काल सडक सुचारु गराउनुपर्ने अवस्था छ।’

खडेरीका कारण मकैबाली सखाप भएको र भोकमरीको त्रास सिर्जना भएकाले नगर कार्यपालिका बैठकले प्रदेश र संघीय सरकारलाई पनि खाद्यान्न व्यवस्थाका लागि आग्रह गर्ने निर्णय गरेको छ। नगरपालिकाले वर्षाका कारण बस्नै नमिल्ने गरी घर भत्किएर पूर्ण क्षति बेहोरेका स्थानीयलाई प्रतिपरिवार २० हजार राहत प्रदान गर्ने निर्णय गरेको छ। मेयर राईको टोलीले शनिबारदेखि मंगलबारसम्म स्थलगत अध्ययन गरेपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो।

प्रकाशित: १६ श्रावण २०७६ ०७:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App