१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

शान्त रहन क्लोपको आग्रह

लिभरपुल(एएफपी)– प्रिमियर लिगको शीर्ष स्थानमा पुगे पनि  लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले खेलाडीलाई शान्त रहन आग्रह गरेका छन्।

उनी एनफिल्ड पुगेयता टोली आइतबार पहिलोपटक प्रिमियर लिगको शीर्ष स्थानमा पुगेको हो।

सिजनकै उच्च प्रदर्शन गर्ने क्रममा आइतबार लिभरपुलले वाटफोर्डलाई ६–१ ले हराएको थियो । साडियो मानेले दुई गोल गरेको खेलमा फिलिप काउटिन्हो, इम्रे कान, रोबर्टो फिर्मिनो र जर्जिनियो विज्नाल्डुमले समान १ गोल गरेका थिए । यस्तै प्रदर्शन जारी राख्न सके भविष्यमा टोलीले उपाधिमा दाबेदारी प्रस्तुत गर्ने निश्चित छ ।

सन् १९९० यता प्रिमियर लिग जित्न नसकेको टोलीका लागि यो सिजन उपाधि जित्ने आँकलन गर्नु हतार हुने क्लोपको भनाइ छ । ‘११ खेलपछि १ अंकको अग्रतालाई लिएर बाँकी सिजन यसरी नै जान्छ भन्ने कसैले अनुमान गर्छ भने मलाई माफ गर्नुस् म त्यो व्यक्तिसँग सहमत हुन सक्दिनँ,’ उनले भने, ‘हामीले संयमता अपनाउनुपर्छ । हामी कल्पना गरेको ठाउँमा पुगेका छौं । असम्भव केही छैन । टोटेनह्यामसँग आर्सनल रोकिएको विषयमा बोल्ने हामीसँग एउटा शब्द पनि छैन । उनीहरू पनि शीर्ष स्थानमा पुग्ने त्यत्तिकै सम्भावना थियो ।’

उनले आउने खेलका लागि अझै मिहिनेत र केन्द्रित हुनुपर्नेमा जोड दिए । ‘आउने केही साता र महिनामा धेरै चिज हुनेछ,’ उनले थपे, ‘हामी कति सकारात्मक रहन सक्छौं, त्यसमै धेरै कुरा निर्भर रहन्छ।’

प्रिमियर लिगमा भर्खर ११ चरणको खेल सकिएकाले कुनै दबाब नरहेको बताएका छन् । विपक्षी टोलीको तारिफमा उनले भने, ‘चेल्सीले राम्रो नतिजा निकाल्यो । म्यानचेस्टर सिटीले बार्सिलोनासँग खेलेको पनि हामीले हेर्‍यौं। साह्रै प्रभाशाली प्रदर्शन गर्‍यौं।’

अन्य क्लबबारे उनले थपे, ‘म्यानचेस्टर युनाइटेड जहिले पनि खेलमा फर्कन सक्छ । टोटेनह्याम राम्रो टोली हो । हुन सक्दछ मैले केही टोली अझै बिर्सिएँ होला । हाम्रा वरिपरि धेरै बलिया टोली छन् ।’

सिजनभर राम्रो खेलेर लिगको पाँचौं वा छैटौंमा रहँदा निश्चिय नै कोही पनि खुसी हुन नसक्ने क्लोपको भनाइ रह्यो । ‘त्यसैले शान्त रहनुपर्छ । आफ्नो तर्फबाट राम्रो खेल्दै जित्दै जानुपर्छ । हामीले गर्न सक्ने त्यही हो ।’

उनले पुराना दिन स्मरण गरे, ‘म यहाँ आउँदा समय, धैर्यता, विश्वास र अन्य धेरै चिज आवश्यक पर्छ भनेको थिएँ । अहिले ११ खेलपछि मप्रति आश्वस्त हुन चाहन्छन् । तर कुनै चिजको पनि ग्यारेन्टी हँुदैन। हामी यति भन्न सक्छौं कि हामीसँग सक्षम टोली र हामी सफलताका लागि प्रयास गर्नेछौं ।’

क्लोपले उपाधिको चर्चाबारे अनिच्छा देखाएपछि वाट्फोर्डका प्रशिक्षक वाल्टर माजारी लिभरपुललाई उपाधिको दाबेदारका रुपमा प्रस्तुत गर्दा खुसी भए । यो सिजन वाटफोर्डले आर्सनल, चेल्सी, म्यानचेस्टर युनाइटेडसँग खेलिसकेको छ । लिभरपुलसँगको खेलेपछि उनले टोलीलाई उपाधि दाबेदारका रूपमा हेर्न सकिने बताए ।

‘हामीले अहिले जति पनि टोलीसँग खेल्यौं । त्यसका आधारमा म लिभरपुलबाट निकै प्रभावित भएको छु,’ माजारीले भने, ‘उनीहरूले यही प्रदर्शनलाई निरन्तरता दिने हो भने उपाधि जित्ने टोलीको मेरो रोजाइको पहिलो नम्बरमा आउँछ । म साँच्चै नै धेरै प्रभावित भएको छु । प्राविधिक रूपमा मात्र होइन, दौडमा पनि यो टोली साँच्चै राम्रो टोली हो ।’

वाटफोर्डका गोलरक्षक ३३ औं मिनेटमा चोटग्रस्त हुँदै मैदान बाहिरिएका थिए । घुँडामा चोट लागेपछि उनले मैदान छोड्नुपरेको थियो । तर प्रशिक्षक माराजीले चोट कति गम्भीर छ भन्ने अझै थाहा नभएको बताए । ‘उनको घुँडामा ठूलो चोट लागेको छ,’ उनले भने, ‘चोट कति गहिरो भने भोलि मात्र थाहा हुनेछ।’

प्रकाशित: २३ कार्तिक २०७३ ०३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App