१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तेस्रोपल्ट म्याद थप्दा पनि सकिएन सडक चौडा पार्ने काम

विस्तारको क्रममा लगनखेल–सातदोबाटो सडक। तस्बिरः नागरिक

ललितपुर - सडकको दूरी जम्मा पाँच सय मिटर मात्रै छ।  तदारुकताका साथ काम गर्ने हो भने कम्तीमा ६ महिनामा चौडा पारेर कालोपत्रे गरिसक्न भ्याइन्छ।  तर विडम्बना ! पाँच सय मिटर सडक बनाउन तीन–तीन पटकसम्म म्याद थपिएको छ।  यतिका पल्ट म्याद थपिँदाको प्रगति मूल्यांकन हेर्दा सडकको अवस्था अझ बेहाल देखिन्छ। सडकको बीचबीचमा खाल्डा मात्रै छन्।  पैदलयात्रु मुख नछोपी हिँडडुल गर्नै सक्दैनन्।  सातदोबाटोदेखि लगनखेल जोड्ने मुख्य सडक लगानखेल–सातदोबाटो सडक हिँडिसक्नु छैन हिजोआज।

दुई वर्षअघि जेठ २०७४ मा सुरु भएको सडक योजनाको मुख्य काम अझै बाँकी छ।  सबैतिर चौडा पार्ने काम सकिएको छैन।  १० वटा घर भत्काएर मुआब्जा दिने कार्य बाँकी रहेको ठेकेदार कम्पनी बताउँछ।  काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले अहिले सडक आसपासका स्थानीयलाई मुआब्जा दिइसकिएको जनाउँदै आएको छ।  तर, सडकको अवस्था नियाल्दा सन्तोषजनक नभएको बताउँछन् सातदोबाटोका स्थानीय देवीदत्त पौडेल।  उनले यति छोटो सडक योजनालाई लम्ब्याउनु लाजमर्दाे भएको बताए।  ‘अहिले सडक मर्मत हुँदै गरेको देखिन्छ तर लगनखेलबाट सातेदोबाटोसम्म चौडासमेत पारिएको छैन,’ उनले भने, ‘सडक कच्ची हुँदा सवारी साधन विस्तारै गुड्छन्, जसका कारण जाम पनि अत्याधिक भइरहेको छ। ’

सातदोबाटो–लगनखेल सडकखण्ड छेउमा फर्निचर पसल सञ्चालन गर्दै आएका उत्तम शिल्पकारले सडक अस्तव्यस्त हुँदा निकै शास्ती भइरहेको बताए।  ‘६/७ महिनाको अन्तरालमा अलि अलि काम भएजस्तो देखिन्छ।  काम गर्दै बीचमा छोड्दै गर्दा बजेटेको सत्यानास भएको छ,’ उनले सुनाए, ‘अहिले लगनखेल क्षेत्रमा केही पिच भए पनि सातदोबाटो क्षेत्रका खाल्डाखुल्डी मात्रै छन्। ’

उपत्यका सडक विस्तार आयोजनाले काठमाडौं उपत्यका विकास प्राधिकरणलाई मुआब्जाको विवाद सल्ट्याउने सहमतिसहित जिम्मा दिएको थियो।  सो अनुसार केही घरधनीलाई प्राधिकरणले मुआब्जा बुझाइसकेको जनाएको छ।  आयोजनाले ०७५ असोज २६ मा सक्ने गरी २०७४ जेठ २६ गते समानान्तर निर्माण प्रालीलाई सडक विस्तारको जिम्मा दिएपछि सडक विस्तार कार्य सुरु भएको थियो।  सडकछेउका घरधनीलाई मुआब्जा दिने विषय विवादित बनेपछि सडक विस्तार कार्य सुस्ताएको ठेकेदार कम्पनीले जनाएको छ।

कम्पनीले अहिले सडकछेउका बिजुली पोल व्यवस्थापन गर्ने, स्थानीयलाई घरजग्गाको मुआब्जा दिने, रुख काट्नेलगायतका काम सकिएको भए पनि ग्राभेलिङ र खाल्डा पुर्ने काम भएको छैन।  दश वटा घर मात्रै भत्काउन बाँकी रहेको काठमाडौं उपत्यका विकास प्राधिकरण आयुक्तको कार्यालय ललितपुर प्रमुख दिनेश पोटेले बताए।  उनका अनुसार सडकछेउका स्थानीयलाई घरको मुआब्जा बुझाउने र निर्माण सामग्री जुटाउने कार्य भइरहेको छ।  सडक विस्तारका क्रममा पर्ने खानेपानीका पाइप, बिजुलीका पोल, घर भत्काएर स्थानीयलाई मुआब्जा दिने कार्यले गर्दा सडक विस्तारमा ढिलाइ भएको हो।  ‘ मुख्य समस्या र झन्झट त सडक छेउका घर भत्काउने र मुआब्जाले बाँड्ने कार्यले बनायो,’ उनले भने, ‘दशैंसम्म चौडा काम सकेर कालोपत्रे भइसक्छ। ’ उनका अनुसार उक्त सडक ललितपुरको जाम हुने मुख्य सडकमध्ये पर्छ।

सडक विस्तार नहुँदा लामो समयदेखि यस सडकमा सवारी जाम बढ्दै गइरहेको थियो।  आउँदो असारसम्म कालोपत्रे हुने गरी विस्तार कार्य ठेकेदार कम्पनीले गरेको छ।  समानान्तर निर्माण प्राली प्रमुख नीरजकुमार थपलियाले सबै निकायसँग समन्वय नहुँदा सडक निर्माणको काम बेलैमा नसकिएको जानकारी दिए।  उनले अब चाहीँ म्याद थप्नुपर्ने अवस्था नहुने दाबी गरे।  ‘लगभग धेरैजसो काम सकिएको छ।  यदी सबै निकायले समन्वय गरिदिएको भए सडक विस्तारमा यति धेरै समस्या हुने थिएन,’ उनले भने।

६ करोड ४९ लाख ८१ हजार रुपैयाँ अनुमानित लागतमा १६ महिनामा सक्ने गरी ठेकदार कम्पनीलाई ठेक्का दिइएको थियो।  सडकछेउका रूख, टेलिफोन तार, बिजुलीका पोल व्यवस्थापन र सडकछेउका घर भत्काउनुपर्ने समस्या देखाउँदै ठेकेदार कम्पनीले टार्दै आएको छ।  उपत्यका सडक विस्तार आयोजनाका प्रमुख अर्जुन अर्यालले केही घर भत्काउन समस्या भइरहेका कारण विस्तारको काम रोकिएको बताए।  ‘१० वटा घर विकासको बाधक बनेका छन्, केही स्थानीयले मुआब्जा लिन नमानेका कारण समस्या भइरहेको हो,’ उनले भने, ‘यदी ती १० वटा घर भत्काएर काम सुरु गर्ने हो भने एक महिनामा सडक चिल्लो बन्छ। ’ उनका अनुसार सबैभन्दा ठूला समस्या चार वटा घर भत्काउनलाई छ।  लगनखेल क्षेत्र र सातदोबाटोको क्षेत्रमा पर्ने दुईटा घरको मुआब्जा दिने विषय झन विवादिन बनेको छ।

प्रकाशित: १६ श्रावण २०७६ ०३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App