१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण

उत्तर कोरियाले गत साता गरेको क्षेप्यास्त्र प्रक्षेपण। तस्बिर ः एजेन्सी

सोल – उत्तर कोरियाले उसको पूर्वी तटतर्फ छोटो दूरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली मन्त्रालयले जनाएको छ। एक साताको अवधिमा उत्तर कोरियाले गरेको यो दोस्रो क्षेप्यास्त्र प्रक्षेपण हो। गत साता उत्तर कोरियाले दुईवटा छोटो दुरीका क्षेप्यास्त्र प्रहार गरेको बताइएको थियो। देशको वनसान क्षेत्रबाट बुधबार बिहानै ती दुईवटा क्षेप्यास्त्र प्रहार गरिएको दक्षिण कोरियाको सेनालाई उद्धृत गर्दै योन्हाप समाचार एजेन्सीले जनाएको छ।

सैनिक अधिकारीलाई उद्धृत गर्दै योन्हापले जनाएअनुसार उत्तर कोरियाले होदो प्रायःद्वीपबाट स्थानीय समय अनुसार बुधबार बिहान ती क्षेप्यास्त्र प्रहार गरिएका हुन्। प्योङयाङले छोटो दूरीका दुईवटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाले जनाए पनि उसले भने अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया नदिएको बिबिसीले जनाएको छ। उत्तर कोरियाको छिमेकी राष्ट्र जापानका रक्षामन्त्रीले पनि कुनै प्रकारको क्षेप्यास्त्र आफ्नो भूभागसम्म नपुगेको बताएका छन्।

जापानी प्रधानमन्त्री सिन्जो आबेले पनि उत्तर कोरियाले बुधबार  गरेको भनिएको क्षेप्यास्त्र परीक्षणले कुनै प्रभाव नपारेको बताएका छन्। दक्षिण कोरियाका रक्षामन्त्री जेओङ क्यओङ–डूले भने यसअघि उत्तर कोरियाले गरेका भन्दा फरक खालको क्षेप्यास्त्रको बुधबार परीक्षण भएको दाबी गरेका छन्।

दक्षिण कोरिया र अमेरिकाबीच हुने भनिएको संयुक्त सैन्य अभ्यास अमेरिकी राष्ट्रपति ट्रम्प र नेता किमबीच सन् २०१८ को जुनमा सिंगापुरमा भएको पहिलो शिखर बैठकपछि  संयुक्त रूपमा हस्ताक्षरित विज्ञप्तिको बर्खिलाप भएको उत्तर कोरियाले बताउँदै आएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच गत जुनमा दुई कोरियालाई छुट्टयाउने गैरसैनिक क्षेत्रमा विनापूर्वयोजना भएको भेटपछि प्योङयाङले कुनै पनि क्षेप्यास्त्र प्रक्षेपण गरेको थिएन। यद्यपि गत साताको क्षेप्यास्त्र प्रक्षेपण त्यसयताकै पहिलो भएको बिबिसीले उल्लेख गरेको छ। सो भेटमा दुवै नेता पारमाणविक निःशस्त्रीकरणसम्बन्धी वार्ता पुनः  सुरु गर्न सहमत भएका थिए। प्योङयाङले एउटा वार्षिक कार्यक्रमअन्तर्गत् दक्षिण कोरिया र अमेरिकाबीच सैन्य अभ्यास गर्ने भनेर बनाइएको योजनालाई लिएर आक्रोश व्यक्त गरेपछि ट्रम्प र किमबीच सो भेट भएको थियो।  उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाबीच हुन तय भएको सैन्य अभ्यासलाई लिएर असन्तुष्टिका साथै चेतावनी जारी गरे पनि अभ्यास स्थगित गर्न वासिङ्टन र सोल दुवैले अस्वीकार गर्दै आएका छन्। अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यासका कारण पुनः वार्ता गर्ने विषय पनि प्रभावित हुन सक्ने बारेमा पनि उत्तर कोरियाले चेतावनी दिँदै आएको छ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले जुलाईमा उक्त अभ्यास हुन सक्ने बताएका थिए। आसन्न अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यासलाई उत्तर कोरियाले भने युद्धको तयारीका रूपमा लिएको छ।

उत्तर कोरियाले किन फेरि क्षेप्यास्त्र परीक्षण गरिरहेको छ ?
बहालवाला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच पहिलो पटक सन् २०१८ को जुन १२ का दिन सिंगापुरमा ऐतिहासिक बैठक भएको थियो। सो बैठक यसअर्थमा पनि ऐतिहासिक थियो कि बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाका शक्तिशाली शासकबीच पहिलो पटक सो भेटवार्ता भएको थियो।

सो बैठकमा आफ्नो सुरक्षाको प्रत्याभूति भए आफूले आणविक कार्यक्रम त्याग्ने र कोरियाली प्रायद्वीपलाई आणविक निःशस्त्रीकरण गर्नका लागि अमेरिकासँग मिलेर काम गर्न तयार रहेको बारे नेता किमले अमेरिकी राष्ट्रपति ट्रम्पसँग सहमति गरेका थिए।

सहमतिबमोजिम प्योङयाङले आफ्ना केही आणविक भट्टीलाई ध्वस्त गरेको दाबी पनि गरेको थियो। त्यसपछि केही उतारचढावसहित ट्रम्प र नेता किमबीच दोस्रो बैठक यसै वर्षको फेब्रुअरी २७ र २८ का दिन भियतनामको हनोईमा दोस्रो शिखर बैठक सम्पन्न भएको थियो। पहिलो शिखर बैठकको ठीक विपरित दोस्रो बैठक त्यति सुखद् हुन सकेन किनभने सो बैठक बिनाकुनै सहमति टुंगिएको थियो।

उत्तर कोरियाली नेता किमले आफ्नो देशमाथि लागेको प्रतिबन्ध पूर्ण रूपमा हटाउनु पर्ने माग गरेपछि त्यसको प्रतिक्रियास्वरुप ट्रम्पले प्योङयाङले पूर्ण रूपमा आणविक कार्यक्रम नत्यागेसम्म प्रतिबन्ध नहट्ने बताएपछि दुई देशबीचको बैठक बिनाकुनै निष्कर्ष टुंगिएको थियो।

त्यसपछि दुई देशबीच सम्बन्ध बिग्रिएको थियो। तर गत जुन महिनामा अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाको भ्रमण गर्दा अप्रत्याशित रूपमा दुई कोरिया छुट्टयाउने गैरसैनिक क्षेत्रमा नेता किमसँग भेट गरेपछि पुनः केही सुखद् अवस्था देखिए पनि गत साता प्योङयाङले क्षेप्यास्त्र परीक्षण गरेपछि फेरि दुई देशबीच सम्बन्धमा चिसोपना आउने देखिएको छ।

एकजना विश्लेषकलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार आउँदा दिनमा उत्तर कोरियाले थप क्षेप्यास्त्र परीक्षण गर्न सक्नेछ। ‘अमेरिका र दक्षिण कोरियाबीच आउँदो अगस्टको सुरुमा संयुक्त सैन्य अभ्यास हुनुपूर्व उत्तर कोरियाले आफ्नो रिस देखाउन क्षेप्यास्त्र प्रहारलाई निरन्तरता दिनेछ,’ वासिङ्टन आधारित थिंक ट्यांक ‘सेन्टर फर द नेसनल इन्ट्रेस्ट’का ह्यारी काजिआनिसले बिबिसीसँग बताए। ‘यो संयुक्त सैन्य अभ्यास रोक्नका लागि उसले वासिङ्टन र सोललाई उसको सन्देश हो,’ उनले भने।
दक्षिण कोरिया र अमेरिकाबीच हुने भनिएको संयुक्त सैन्य अभ्यास अमेरिकी राष्ट्रपति ट्रम्प र नेता किमबीच सन् २०१८ को जुनमा सिंगापुरमा भएको पहिलो शिखर बैठकपछि  संयुक्त रूपमा हस्ताक्षरित विज्ञप्तिको बर्खिलाप भएको उत्तर कोरियाले बताउँदै आएको छ। अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास भए त्यसले कोरियाली प्रायःद्वीपलाई आणविक निःशस्त्रीकरण गर्नेबारेको बैठकलाई प्रभावित पार्न सक्ने चेतावनी पनि दिँदै आइरहेको छ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले सोमबार दुई देशबीचको वार्ता चाँड नै सुरु हुनसक्ने सम्भावना रहेको भए पनि तत्काल शिखर बैठक हुने तयारी भने नभएको बताएका थिए।

प्रकाशित: १६ श्रावण २०७६ ०१:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App