१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

तरुण दलको महाधिवेशन मतपत्रबाट

भीष्मराज ओझा
काठमाडौं–नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको चौथो महाधिवेशन विद्युतीय मतपत्र यन्त्रबाट नभई मतपत्रबाट हुने भएको छ।

पार्टीले तरुण दल महाधिवेशन सम्पन्न गर्न सहयोग पुर्‍याई आवश्यक निर्देशन दिन गठन गरेको निर्देशन समितिले आज उक्त निर्णय गरेको समिति सदस्य रामकृष्ण यादवले जानकारी दिए। पार्टीको यही कात्तिक ९ गतेको केन्द्रीय समिति बैठकमा विद्युतीय यन्त्रबाट निर्वाचन भएको नेपाल विद्यार्थी सङ्घ र नेपाल महिला सङ्घको महाधिवेशनमा धाँधली भएको टिप्पणी भएकाले मतपत्रका आधारमा निर्वाचन गर्नुपर्ने माग उठेको थियो।

काँग्रेस भातृ संस्थामा यन्त्रबाट भएको मतदानमा एउटै व्यक्तिले सिकाउने नाममा बटन थिचेर धेरैको मत हालेको आरोप लागेको थियो । पटक पटक महाधिवेशनको मिति तोकिँदै र सर्दै आएको तरुण दलको महाधिवेशन यही कात्तिक २७ देखि २९ गतेसम्म पोखरामा हुँदैछ।

निर्देशन समितिले नगर, क्षेत्र, जिल्ला र विदेश विभागबाट प्राप्त महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली कात्तिक २४ गतेसम्म बुझाइसक्न तथा कात्तिक २४ गतेका लागि तोकिएका जिल्ला अधिवेशनमा केन्द्रीय प्रतिनिधि खटाउन र विवादित जिल्ला समिति मिलाउनुसमेत निर्देशन दिएको छ।

महाधिवेशन मिति आउन पाँच दिन मात्र बाँकी रहँदा पनि निर्धारित मितिमा महाधिवेशन गर्ने सम्बन्धमा केन्द्रीय समितिभित्रै मतान्तर कायम छ। केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले महाधिवेशनको आवश्यक तयारी भइरहेको र तोकिएको समयमा नै महाधिवेशन हुने जानकारी दिए। केन्द्रीय सदस्य राम रोकायाले भने आफूहरु सबै जिल्लाको अधिवेशन सम्पन्न नभई महाधिवेशन गर्न नहुने अडान रहेको बताए।

काँग्रेसले तरुण दल महाधिवेशन सम्पन्न गर्न पार्टीका नेता बालकृष्ण खाँणको संयोजकत्वमा निर्देशन समिति गठन गरेको थियो। समितिमा नेता उमाकान्त चौधरी, सुरेन्द्रराज पाण्डे, शङ्कर भण्डारी, रामकृष्ण यादव, हृदयराम थानी र सरिता प्रसाईं सदस्य छन्।

दुई काँग्रेस एकीकरणपछि विसं २०६९ वैशाख २ गते तत्कालीन सभापति सुशील कोइरालाले छ महिनाका लागि भनेर गठन गरेको तदर्थ समितिले हालसम्म महाधिवेशन गर्न सकेको छैन । अधिवेशन हुन बाँकी जिल्लामध्ये कतिपय जिल्लामा समानान्तर समिति छन् भने कतिपयमा पार्टीका गुटको हस्तक्षेपले विवाद उत्पन्न भएको देखिन्छ। तरुण दलको हालको विधानानुसार मुलुकभरबाट महाधिवेशनमा एक हजार ३७० प्रतिनिधि रहनेछन् । विसं २०१० कात्तिक १० गते तत्कालीन सभापति बिपी कोइरालाको समन्वय र निर्देशनमा स्थापित तरुण दलका संस्थापक अध्यक्षमा सिंहध्वज खड्का रहेका थिए।

त्यसपछि २०१७ साल पुस १ गते तत्कालीन प्रधानमन्त्री बिपीले तरुण दलको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरिहेका बेला तत्कालीन राजा महेन्द्रले सेनाको बलमा सबैलाई थुनेर ‘कु’गरेका थिए। राजाले दलमाथि प्रतिबन्ध लगाएका अवस्थामा तरुण दल पनि विघटन हुन पुगेको थियो। विसं २०५४ मा नेपालगन्जमा भएको काँग्रेसको महासमिति भेलामा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले खाँणको नेतृत्वमा तरुण दल पुनःस्थापनाको घोषणा गर्नुभएको थियो। त्यसपछि तरुण दलमा महादेव गुरुङ, विनोद कायस्थ, महेन्द्र यादव र हाल उदयशश्शेर राणा अध्यक्ष छन्। रासस

प्रकाशित: २२ कार्तिक २०७३ १४:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App