१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आयातभन्दा निर्यातमा जोड गरौं : उपराष्ट्रपति

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्व नेपाल निर्माणको अभियानलाई स्थापित गराउन निर्यातमा जोड दिन आह्वान गरेका छन्। सोमबार राजधानीमा २५ औं कार्गाे दिवसको अवसरमा नेपाल फ्रेड फरवार्डर्स एसोसियसनद्वारा आयोजित कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले मुलुक व्यापार घाटामा रहेका बेला वस्तु निर्यातमा जोड दिन आग्रह गरे।

देशभित्र उपलब्ध नभएका वस्तुमात्र आयात गर्दै मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन निर्यातमा जोड दिनुपर्ने उनको भनाइ छ। जलस्रोत र जडीबुटी निर्यात गरी व्यापार घाटा कम गर्नुपर्नेमा उनले जोड दिए। ‘विश्व बजारमा कुनै वस्तु आयात गरे पनि देशभित्र उपलब्ध नभएका वस्तुमात्र आयात गर्ने र अधिक मूल्य प्राप्त हुने गरी हाम्रा उत्पादन विश्व बजारमा निर्यातको वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘हाम्रो देश प्राकृतिक स्रोतसाधनले भरिपूर्ण छ, अहिले नेपालको पानी विश्व बजारमा पुगेको छ। नेपालको तरकारी खाडीसम्म पुगेको छ। जलविद्युत् निर्यात गर्ने हैसियत हाम्रो बनिसकेको छ।’

नेपाल अहिले रेल तथा समुद्रसँग नजोडिएको कारण तेस्रो मुलकबाट आयात गरिने वस्तुमा लाग्ने ढुवानीका कारण सर्वसाधारणले बढी मूल्य तिर्नुपर्ने बताउँदै उनले सो क्षेत्रको विकासमा सरकारले आवशयक कार्य जारी राखेको बताए। अबको केही महिनामा मात्र नेपाल रेल सेवासँग जोडिने र चैत–वैशाखभित्रै रेलमार्गबाट सामान ढुवानी गर्न सकिने उनले जानकारी गराए।

नेपालको समृद्धिको आधारका रूपमा रहेका जलविद्युत्, कृषि, पर्यटन, खनिज, जडीबुटी र उद्योगलाई आधुनिकीकरण गर्दै उत्पादनमा जोड दिन सके त्यस्ता वस्तु निर्यातको दायरमा ल्याई व्यापार घाटा कम हुने उनको भनाइ छ। पर्यटनलाई उद्योगकै रुपमा विकास गरी पर्यटन पूर्वाधार तथा पर्यटकीय क्षेत्रको विकासमा जोड दिनुपर्ने उनले बताए। त्यस्तै कृषिमा आधुनिकीकरण गर्दै उत्पादन वृद्धि गर्न सकिने उनको धारणा छ। नेपालमा उत्पादित वस्तु गुणस्तरीय बनाई विश्व बजारमा विश्वास दिलाउन पनि उत्तिकै आवश्यक रहेको उनको भनाइ छ।

‘हाम्रो देश प्राकृतिक स्रोतसाधनले भरिपूर्ण छ, अहिले नेपालको पानी विश्व बजारमा पुगेको छ। नेपालको तरकारी खाडीसम्म पुगेको छ। जलविद्युत् निर्यात गर्ने हैसियत हाम्रो बनिसकेको छ।’

निर्यात व्यापार वृद्धिका लागि कार्गो व्यवसायीको महत्वपूर्ण योगदान रहने जनाउँदै उनले आयातभन्दा निर्यातमा प्राथमिकता दिन पनि व्यवसायीसँग आग्रह गरे। ‘तपाईंहरु व्यवसायी हुनुहुन्छ। व्यवसायी हुनुको नाताले मुनाफाको अपेक्षा गर्नु स्वाभाविक यहाँहरुले निर्यात आयात दुवै व्यापारलाई सहजीकरण र सरलीकरण गर्दै आइरहनु भएको पनि छ,’ उनले भने, ‘वस्तुको निर्यातको जिम्मेवारको रुपमा तपाईंहरु पनि रहेकाले एक्लो सरकारले मात्र उचाइ थप्न सक्दैन। निजी क्षेत्रको पनि उत्तिकै भूमिका आवश्यक पर्छ।’

अबको केही समयमै नेपालले ढुवानी क्षेत्रमा फड्को मार्ने बताउँदै उपराष्ट्रपति पुनले रेलमार्ग, जलमार्ग तथा धेरै अन्तर्राष्ट्रिय विमानस्थलबाट आयात निर्यात गर्नसक्ने गरी पूर्वाधार निर्माण भइरहेको उनले प्रष्ट पारे। ‘अहिले भारत सरकारसँगको सहकार्यमा रेलमार्ग निर्माण भइरहेको छ। सम्भवतः दसैंभित्रै विराटनगरमा रेल आइपुग्छ,’उनले बताए। भर्खरैमात्र नेपालले पाइपलाइनबाट तेल आयातको काम सम्पन्न गरेको छ। त्यस्ता प्रणालीमा आधुनिकीकरण गर्दै लैजान सरकारले पूर्वाधार निर्माणको काम अघि बढाइरहेको उनले प्रष्ट पारे।  

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष भवानी राणाले ढुवानी व्यवसायमा उच्चतम प्रविधि प्रयोगसँगै विश्व बजारमा प्रतिस्पर्धाको रुपमा सञ्चालन गर्न आवश्यक रहेको बताइन्। समृद्विको लक्ष्य हासिल गर्न निजी तथा संस्थागत रुपबाट देशको आर्थिक विकासमा टेवा पु-याउन आवश्यक रहेको बताउँदै यसका लागि नेपाल उद्योग वाणिज्य महासंघ सधै तत्पर रहेको बताइन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले ढुवानी व्यवसायलाई सरकारले प्रवद्र्धन गर्न पूर्वाधार निर्माणमा जोड दिएको जानकारी गराउँदै बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि कार्गाे व्यवसायीलाई आग्रह गरे। नेपालले समुद्रसम्म सहज पहुँचका लागि ठूलो मिहेनत गरिरहेको बताउँदै उनले पारवाहन क्षेत्रमा विभिन्न सम्झौता भएको उनको भनाइ छ।

सरकार बन्दरगाह निर्माणको क्रममा रहेको बताउँदै उनले नेपालमा आफ्नै रेल सञ्चालनका लागि भारतसँग आग्रह गरिसकेको उनले जानकारी गराए। पानी जहाज सञ्चालन, दुई देशबीच व्यापार सम्झौतासम्बन्धी सहकार्यमा जोड दिन भारतलाई आह्वान गरिएको उनको भनाइ छ। देशका अन्य भागमा पनि बन्दरगाह निर्माण गर्न आवश्यक अध्ययन भइरहेको पनि उनले जानकारी गराए। भन्सार प्रणालीलाई पेपरलेस बनाउन पनि आवश्यक गृहकार्य भइरहेको उनको भनाइ छ।

संघका अध्यक्ष प्रकाशसिंह कार्कीले समग्र कार्गो व्यवसायको विस्तारका लागि यससँग सम्बन्धित ऐन, कानून परिमार्जन गर्न आग्रह गर्दै कार्गो व्यवसायमा देखिएका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए। 

भ्याटले अहिले अन्योलको अवस्था सिर्जना भएको बताउँदै उनले विमानस्थलमा आयात निर्यातका लागि प्रयोग हुुने गोदाम सानो भएको गुनासो गरे। ढुवानी तथा कार्गो व्यवसायलाई आवश्यक पर्ने ऐन, नियम तथा कानून निर्माणमा संघले बेलाबेलामा सरकारलाई आवश्यक सल्लाह र सुझाव दिँदै आएको उनले संस्मरण गराए।

कार्यक्रममा आयात, निर्यात तथा कार्गो व्यवसायमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्व तथा उत्कृष्ट कार्गो ढुवानी गर्ने संस्थालाई सम्मान गरिएको थियो। सो अवसरमा उपराष्ट्रपति पुनले कालोपुलस्थित संघको नवनिर्मित भवनको समेत अनलाइनबाट उद्घाटन गरेका थिए।

प्रकाशित: १४ श्रावण २०७६ ०३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App