१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको सभामा बन्दुकधारी !

वासिङटन–अमेरिकाको नेभादा राज्यमा अवस्थित रेनोमा शनिबार  राति आयोजित डोनाल्ड ट्रम्पको आमसभा झन्डै बिथोलिएको थियो । ट्रम्पले सम्बोधन गरिरहेका बखत एकजना श्रोताले ‘बन्दुक बन्दुक’ भनी कराउँदा मञ्च वरपर तीव्र होहल्ला र भागदौड मच्चिएपछि आमसभा केहीबेर बिथोलिएको थियो । बन्दुकको हल्ला फैलिएपछि ट्रम्पपनि सुरक्षाकर्मीको सहायता लिई केहीबेर मन्च पछाडि गएका थिए । तर एक मिनेट पछाडि नै ट्रम्प मन्चमा फर्केका थिए ।  

 खोजबिन र अनुसन्धानपश्चात् भीडका कुनै पनि मानिससँग वा सो परिसरभित्र बन्दुक वा कुनै हतियार नभेटिएको, आमसभा बिथोल्न खाली असत्य हल्ला मात्र फिँजाइएको भनी सेक्रेट सर्भिसले एक बिज्ञप्तिद्वारा जानकारी दिएको छ ।

हल्ला फिँजाउनेलाई तुरुन्तै नियन्त्रणमा लिइएको पनि सेक्रेट सर्भिसले बताएको छ । होहल्ला शान्त भएको केही बेरमै बाहिर निस्किएका ट्रम्पले सेक्रेट सर्भिसका सुरक्षाकर्मीलाई धन्यबाद दिँदै ‘आमसभा सञ्चालन गर्नु हामीलाई त्यत्ति सहज छैन । तर हामीले कहिल्यै पनि रोकिनु हुन्न, कहिल्यै पनि थकाइ मारेर बस्नु हुन्न’ भन्दै भेला भएका श्रोताहरुलाई ढाढस दिनु भएको बताइएको छ  ।

बन्दुकको हल्ला फैलाउने मानिसको पहिचान वा त्यसउपर सार्वजनिक अपराध गरेको आरोप वा उसलाई कुनै कारबाही भयो, भएन यस बारे सेक्रेट सर्भिसले खुलासा गरेको छैन । उसले ‘घटनाको अनुसन्धान भै रहेको’ जनाएको छ ।

सेक्रेट सर्भिसले राष्ट्रपतिका उम्मेदवारहरुको निर्वाचन प्रचारप्रसार अभियानभरी ‘म्याग्नेटोमिटर’ यन्त्र प्रयोग गरी आमसभा, भीडभाड वा मनिसहरुको जमघटमा बन्दुक, हातहतियार वा कुनै विस्फोटक पदार्थ भए नभएको जाँच गर्ने गरेको छ ।

यता, बन्दुक वा कुनै हातहतियार फेला नपरे ता पनि ट्रम्पका छोरा र ट्रम्प निर्वाचन अभियानकै एकजना वरिष्ठ कार्यकर्ता भने ‘नेभादा ¥यालीमा ट्रम्पलाई आक्रमण गरी सिध्याउने प्रपञ्च भएको थियो’ भन्ने हल्ला फिँजाउन व्यस्त रहेका बताइएको छ ।   डोनाल्ड ट्रम्पको निजी सामाजिक सञ्जाल एवं सञ्चार माध्यम सञ्चालनसमेत गर्ने पुत्रद्वयः डोन जुनियर र डान स्क्याभिनोले ट्वीटरमा यस्तो जथाभावी हल्ला चलाएका थिए ।  

    
त्यस्तै, फादर एन्ड्रे वाइ सेबास्टियन माहन्ना नामक एकजना पास्चरले ‘ट्रम्पको हत्या गर्ने उद्देश्यले रेनोको घटना रचिएको’ भनी कोलोराडो राज्यको डेन्भरमा आयोजित ट्रम्पको अर्को ¥यालीमा दाबी गरेका थिए ।

रेनो जमघटमा बन्दुक वा कुनै हतियार नभेटिएको, आमसभा बिथोल्न खाली असत्य हल्ला मात्र फिँजाइएको भन्ने सेक्रेट सर्भिस श्रोतलाई उल्लेख गर्दै सत्यतथ्य समाचार सम्प्रेषण गर्ने सञ्चार माध्यमहरु विरुद्ध पनि खनिँदै फादर एन्ड्रेले ‘रिपब्लिकन उम्मेदवारविरुद्ध घृणा र विद्वेष फैलाउने प्रयास गरेको’ आरोप लगाएका थिए ।

मंगलबार हुने चुनावअघि अन्तिम प्रयत्न गर्दै ट्रम्पले डेमोक्रयाटका गढ मानिएका राज्यमा चुनावी सभा गर्ने बताएका छन् । सो क्रममा उनले पेन्सिल्भिनिया, मिचिगन र मिनेसोटामा राज्यमा भ्रमण गर्नेछन् । ति राज्यबाट सन् १९७२ यता रिपब्लिकन उम्मेदवारले भोट पाएका छैनन् ।

अन्तिम समयमा आएर दुवै उम्मेदवारले प्रचार कार्यतालिकामा परिवर्तन गरेका छन् । इमेल कान्डपछि हिलारी क्लिन्टनको लोकप्रियता कम भएपछि हिलारीले जनता रिझाउन गायक कलाकारको साथ लिने रणनीति बनाएकी छिन् । शुक्रबार बियोन्से र उनका पति जेजेलाई भोट मागिदिन आग्रह गरेकी हिलारी शनिबार गायिका तथा नायिका केट पेरीसँग देखिएकी थिइन् । उनले सो कार्यक्रममा दर्शकलाई सम्बोधन गर्दै भनिन्, ‘ जब तपाईंलाई छोरा नातिले तैंले सन् २०१६ मा के गरिस् भनेर सोध्नेछन् त्यतिबेला तपाईं गर्वले भन्न सक्नुहोस्, मैंले थप असल र थप सक्षम अमेरिकाका लागि भोट गरें,’

केट पेरीले पनि गीत गाउँदै घुमाउरो पाराले हिलारीका लागि भोट मागिन् । ‘मंगलबारको दिन हाम्रा लागि रमाइलो दिन हुनेछ तर बुधबारको दिन धेरै राम्रो ।’
प्रारम्भिक सर्वेक्षणहरुले हिलारी ट्रम्पभन्दा अगाडि देखाएको छ ।

 

प्रकाशित: २२ कार्तिक २०७३ ०५:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App