१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

२५ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बन्छन्

दाउराको खोजीमा निस्किएका बालविवाह गरेका किशोरी। तस्बिर: दिनेश/नागरिक

रोल्पा - माडी गाउँपालिका–४ घर्तीगाउँकी एक किशोरी उमेरले २० वर्ष पुगिन्। ७ कक्षामा पढ्दापढ्दै स्कुल छोडेकी उनले विवाह गरेको पनि ४ वर्ष पुग्यो। उनको ३ वर्षको छोरा छ। पढाइ छोडेकोमा पछुताइरहेकी उनका पति वैदेशिक रोजगारीका लागि कतारमा छन्। ‘१६ वर्षको उमेरमा बिहे गरियो। बा–आमाले त पढ् भन्नुहुन्थ्यो तर आफैं पढिनँ। हाम्रो गाउँमा पढेर राम्रो गरेको पनि कसैले छैन,’ उनले भनिन्, ‘पढेर के पो होलाजस्तो लाग्यो।’

घरको अवस्था कमजोर भएकाले छिमेकी गाउँमा मामाघरमा बसेर पढेकी अर्की किशोरी पनि आउँदो फागुनमा २० वर्ष पुग्दै छिन्। १६ वर्ष नपुग्दै बिहे गरेकी उनका पति पनि साउदी गएका छन्। ४ कक्षा पढेर विद्यालय छोडेकी उनि पढ्न नपाएकोमा अहिले पिरोलिन्छिन्।

‘पढेको भए राम्रो हुन्थ्यो होला। अहिले त ब्यान ‐बिहान)बाटै काम, काम भन्यो हिँड्यो। हिजोआज त आफैंसँग दिक्क लाग्छ,’ उनले सुनाइन्, ‘हाम्रो गाउँघरतिर उहिलेदेखि सानैमा बिहे गर्ने चलन थियो। हामीलाई सानैमा बिहे गर्नुहुँदैन भनेर कसैले सिकाएन। सबैले गरेकै त छन्। चलेकै छ जस्तो लाग्यो।’

१० वर्ष युद्ध गरेको रोल्पाली समाज ‘चेतना स्तर उठेको समाज हो, त्यसैले हाम्रो जनयुद्धको आधारभूमि पनि यही हो’ भनेर दर्जनौं भाषण गरेका नेताले कहिल्यै बालविवाह नगर्नु भनेर सिकाएनन्। बालविवाहजस्तो कुरीतिबारे पनि युद्धरत नेतृत्व सधैं मौन रह्यो।

१० वर्ष युद्ध गरेको रोल्पाली समाज ‘चेतना स्तर उठेको समाज हो, त्यसैले हाम्रो जनयुद्धको आधारभूमि पनि यही हो’ भनेर दर्जनौं भाषण गरेका नेताले कहिल्यै बालविवाह नगर्नु भनेर सिकाएनन्। बालविवाहजस्तो कुरीतिबारे पनि युद्धरत नेतृत्व सधैं मौन रह्यो। द्वन्द्व सकिएर शान्ति स्थापना भएको एक दशक नाघिसक्दा पनि जनताका आधारभूत कुरामा ध्यान दिन नसक्दा यहाँ शिक्षा, स्वास्थ्य, रोजगारजस्ता विषय ओझेलमा परेका छन्।

रोल्पामा विवाह गर्ने उमेर नपुग्दै आमा बन्ने किशोरीको संख्या ठूलो रहेको एक तथ्यांकले देखाएको छ। गत आर्थिक वर्षमा जिल्ला अस्पताल रोल्पामा सुत्केरी भएका चार सय ३१ मध्ये एक सय सातजना २० वर्षमुनिका छन्। तीमध्ये १४ किशोरीको सुत्केरीको समयमा जटिलता देखिएपछि अप्रेसन गर्नुपरेको थियो।

जिल्ला अस्पतालमा कार्यरत चिकित्सक किशोरीहरू आमा बनेको देखेर दिक्क बनेका छन्। ‘रोल्पामा बालविवाहको चलन घटेको छैन। सामाजिक र सांस्कृतिक चालचलन नफेरिएर पनि यस्तो भएको हुन सक्छ,’ जिल्ला अस्पतालका डा. अनिल केसी भन्छन्, ‘सानैमा बच्चा जन्माउँदा पाठेघर परिपक्व भएको हुँदैन। सुत्केरी हुन गाह्रो हुन्छ। पछि उमेर बढ्दै जाँदा पाठेघरको समस्या देखिने सम्भावना बढी रहन्छ।’

रोल्पामा परम्परागत चलन, जनचेतनाको कमी र बालविवाहबारे छलफल नचलाउनु बालविवाहको मुख्य कारण देखिएको छ। उमेर नपुग्दै समान उमेर समूहका किशोरकिशोरीले भागेर विवाह गर्ने पुरानो चलन आज पनि यहाँका गाउँगाउँमा छ। बालविवाहपछिको दुष्परिणामबारे पर्याप्त जानकारी प्रवाह हुन नसक्दा समस्या झनै बल्झिरहन्छ। ‘अब स्थानीय सरकारले बालविवाह नगर्नेबारे र बिहे भइहाल्यो भने पनि बच्चा ढिलो जन्माउनुपर्छ भन्ने जानकारी दिनुपर्छ। विशेषगरी अनिवार्य किशोरीशिक्षा लागू गर्न जरुरी देखिन्छ,’ डा. केसीले बताए।

प्रकाशित: १४ श्रावण २०७६ ०१:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App