१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

प्रभावशाली जितसहित चेल्सी शीर्ष स्थानमा

लन्डन(एएफपी)– टोटेनह्यामसँग आइतबार १–१ को बराबरीमा रोकिएपछि आर्सनलले इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।

म्यानचेस्टर सिटी धर्मराएको शनिबारको दिन इडेन हाजार्डको दुई गोल प्रेरित चेल्सीले शनिबार एभर्टनमाथि ५–० को विजय हासिल गर्दै शीर्ष स्थानमा उक्लेको थियो । २५ अंकका चेल्सी शीर्ष स्थानमा रहँदा आर्सनल भने म्यानचेस्टर सिटी भन्दा पनि गोलअन्तरमा पछि परेको छ । सिटी र आर्सनलको समान २४ अंक छ । टोटेनह्यामको २१ अंक पुगेको छ ।

केभिन विमेरको आत्मघाती गोलमा आर्सनलले पहिलो हाफमा अग्रता लिए पनि त्यसलाई जोगाउन भने सकेन । दोस्रो हाफको छैटौं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । मोउसा डेम्बेलेलाई लाउरेन्ट कोसिन्लेले फाउल गरेपछि टोटेनह्यामले पेनाल्टी पाएको थियो । चोटमुक्त भएर फर्केका केनले पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीलाई १ अंक दिलाए ।

शनिबार मार्टिन डी रुनले इन्जुरी समयमा गोल गरेपछि मिडिल्सब्राउले सिटीलाई उसकै मैदानमा १–१ को बराबरीमा रोकेको थियो । त्यसअघि सर्जियो रामोसको गोलमा सिटीले मध्यान्तर हुन दुई मिनेट बाँकी रहँदा अग्रता लिएको थियो । एन्टोनियो कोन्टेको चेल्सीले सिटी बराबरीमा रोकिँदाको फाइदा उठाउँदै पेप ग्वार्डिओलाको टोलीलाई १ अंकले पछि छोड्यो । आर्सनल र लिभरपुलले आइतबारका आ–आफ्ना खेल जितेर चेल्सीलाई शीर्ष स्थानबाट विस्थापन गर्न सक्छन् ।

शीर्ष स्थानको प्रतिस्पर्धा रोचक ढंगले अघि बढ्दा शनिबार पुछारको सन्डरल्यान्डले सिजनको पहिलो जितका लागि गरेको प्रतिक्षा टुंगिएको छ । १० जनामा सिमित भएर खेलको अन्त्य गरेको टोलीले सुरुमा गोल खानाका बावजुद बर्नमाउथमाथि २–१ को अवे विजय हासिल ग¥यो । डन गोस्लिङको गोलमा घरेलु टोलीले ११ औं मिनेटमा अग्रता लिएको थियो । जसलाई सन्डरल्यान्डका भिक्टर एनिचेबेले ३३ औं मिनेटमा गोल गर्दै पहिलो हाफसम्मका लागि बराबरीमा ल्याए ।

स्टेभन पिनारले ५९ औं मिनेटमा दोस्रो पहेलो कार्ड सामना गर्दै मैदान छोडेपछि सन्डरल्यान्ड १० जनामा सिमित भयो । त्यसपछि टोलीको सिजनमा पहिलो जित हासिल गर्ने प्रतिक्षा अझै लम्बिने संकेत देखिएको थियो । तर जेर्माइन डिफोले ७४ औं मिनेटमा गोल गरेपछि प्रशिक्षक डेविड मोयेजको टोलीको प्रतिक्षा समाप्त भएको थियो । जितका बावजुद पुछारबाट माथि उठन असफल सन्डरल्यान्डले १९ औं स्थानको स्वान्सी (५) संग अंक बराबरी भने गरेको छ ।

‘यसले हामीलाई ठूलो राहत मिलेको छ । हामी यो जित समर्थकमा समर्पण गर्न चाहन्छौं । किनकी यस्तो कठिन अवस्थामा पनि उनीहरुले हाम्रो साथ दिइरहेका छन्,’ सन्डरल्यान्डका प्रशिक्षक मोयेजले भने, ‘हामीलाई जित आवस्यक थियो । तर यो एउटामात्र जित पर्याप्त पक्कै छैन । हामीले अझै केही थप खेलमा विजय हासिल गर्नुपर्छ ।’

स्टामफोर्ड ब्रिजमा चेल्सीले पछिल्लो समयको सर्वोत्कृष्ट प्रदर्शनसहित एउटै गोल नखाई लगातार पाँचौं जित हासिल ग¥यो । २०१४–१५ को च्याम्पियनका लागि हाजार्डले १९ औं मिनेटमा गोल गर्दै खाता खोलेका थिए । त्यसको एक मिनेट नवित्दै पेड्रो रोडरिग्वेजको पासमा मार्कुस अलोन्सोले गोल गरेर चेल्सीको अग्रता दोव्वर पारे । मध्यान्तर हुन तीन मिनेट बाँकी रहँदा डिएगो कोस्टाले चेल्सीको अग्रता ३–० ले फराकिलो पारे । हाजार्डको कर्नरलाई नेमान्जा माटिचले फ्लिक गरेपछि प्राप्त बललाई कोस्टाले गोलमा परिणत गरेका थिए । जारी सिजनमा कोस्टाको त्यो नवौं गोल थियो ।

चेल्सीको चौथो गोल विशेष थियो । हाजार्डको पासलाई पेड्रोले दर्शनीय ब्याक हिलमार्फत मिलाइदिए । त्यसपछि बेल्जियन फरवार्ड हाजार्डले पेनाल्टी बक्समा नृत्य देखाउँदै वायाँ खुट्टाले व्यक्तिगत दोस्रो गोल गरे । ६५ औं मिनेटमा पेड्रोले उत्कृष्ट भलीमा टोलीको पाँचौं गोल गरे । हाजार्डको प्रहार एभर्टनका गोलकिपर मार्टिन स्टेकेलेनबर्गबाट फर्किँदा पेड्रोले गोल गरेका थिए ।

सिटी मध्यसातामा च्याम्पियन्स लिगअन्तर्गतको खेलमा बार्सिलोनामाथि ३–१ को जित हासिल गरेको स्मरणका साथ मैदान प्रवेश गरेको थियो । मिडिल्सब्राउको पोस्ट सम्हालेका बार्सिलोनाका पूर्व गोलकिपर भिक्टर भाल्डेज पनि इत्तिहाद रंगशालामा क्याटलान गौरव पुनस्थापित गर्न प्रतिवद्ध थिए ।

भाल्डेजले सर्जियो अग्विरो र डेविड सिल्भालाई थुप्रै पटक गोलका राम्रा मौकाबाट विमुख पारेका थिए । तर मध्यान्तर हुनै लाग्दा अग्विरोले केभिन डी ब्रुयेनेको क्रसलाई गोलमा परिणत गर्दै सिटीलाई अग्रता दिलाएका थिए । सिटीका लागि २ सय २३ खेलमा अग्विरोको यो १ सय ५० औं गोल थियो ।

‘हामीले खेल जित्नका लागि सकेसम्म सबैखाले प्रयास गरेका थियौं । यस्तो अवस्थामा पनि जित्न नसक्नु भनेको दूर्भाग्य हो । तथापि म मिडिल्सब्राउलाई बधाई दिन चाहन्छु । उनीहरुले राम्रो फुटबल खेलेका थिए,’ घरेलु मैदानमा भएका पछिल्ला तीन खेलमा लगातार १–१ को बराबरी नतिजा निकालेपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘यो खेलमा हामीले महत्वपूर्ण दुई अंक गुमाएका छौंं । घरमा खेलेका तीन खेलमा ६ अंक गुमाउनु पक्कै पनि निराशाजनक कुरा हो । तर हामी यसमै अडकिएर बस्न सक्दैनौं । आगामी दिनमा हामी अगाडि बढ्नुपर्छ ।’

इङलिस प्रिमियर लिगमा शनिबारै सम्पन्न अन्य खेलमा बर्नलीले क्रिस्टल प्यालेसलाई ३–२ को नतिजामा हरायो भने वेस्ट ह्यामले स्टोकसँग १–१ को बराबरीमा चित्त बुझायो । बर्नलीले घरेलु मैदानमा विजय हासिल गर्दा सा मभोक्स, योहान बर्ग गुडमुन्डसन र एश्ले बार्नसले गोल गरे भने पराजित टोलीका लागि कोनोर विकह्याम र क्रिस्टियन बेंकेटेले गोल गरेका थिए । ओलम्पिक रंगशालामा विपक्षी खेलाडी ग्लेन ह्वेलानको आत्मघाति गोल उपहार पाएपछि वेस्ट ह्यामले ६५ औं मिनेटमा अग्रता लिएको थियो । तर भ्रमणकारी स्टोकका लागि बोजान किर्किकले ७५ औं मिनेटमा बराबरी गोल गरे।

प्रकाशित: २२ कार्तिक २०७३ ०२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App