१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

भारोत्तोलन टोली जापान जाँदै

काठमाडौं– एसियाली युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली सोमबार जापानको टोकियो जाने भएको छ।

मंगलबार सुरु भएर एक हप्तासम्म चल्ने प्रतियोगितामा नेपालबाट पुरुष ६२ केजीमा प्रकाश केसी तथा महिला ५८ केजीमा कमला श्रेष्ठले सहभागिता जनाउनेछन् । प्रकाशले युथ र जुनियर दुवैमा प्रतिस्पर्धा गर्नेछन् भने कमलाको सहभागिता जुनियरमामात्र रहने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

प्रकाशको उत्कृष्ट प्रदर्शन स्न्याचमा ९३ केजी र क्लिन एन्ड जर्कमा १२० केजी रहेको छ । स्न्चाचमा ५८ केजी र क्लिन एन्ड जर्कमा ७३ केजी कमलाको व्यक्तिगत उच्च प्रदर्शन हो ।

३५ भन्दा बढि देशको प्रतिनिधित्व हुने बताइएको प्रतियोगितामा नेपाली टोली ओलम्पियन एवं भारोत्तोलनका मुख्य प्रशिक्षक सुनीललाल जोशीको प्रशिक्षणमा उत्रिनेछ । टोली व्यवस्थापनको जिम्मा संजय महर्जनमा हुनेछ । यसैगरी नेपाल भारोत्तोलन संघका अध्यक्ष रतनकुमार टण्डन र महासचिव पार्थ सारथी सेन गुप्त पनि टोलीसंगै टोकियो जानेछन् ।

टण्डन नोभेम्बर ९ तारिखमा हुने एसियाली काग्रेस र एसियाली भारोत्तोलनको कार्यकारी वैठकमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । दक्षिण एसियाली भारोत्तोलन संघका उपाध्यक्ष समेत रहेका टण्डन एसियाली भारोत्तोलन महासंघका अध्यक्ष मोहम्मद युसुफ अल्मानाका सहायक हुन् ।

काग्रेसमा सन् २०१७ को जुलाइमा हुने युथ, जुनियर तथा सिनियर भारोत्तोलन च्याम्पियनसिपको अन्तिम ‘बिडिङ’ पनि हुनेछ । त्यसमा नेपालले पनि दावी गर्ने महासचिव गुप्तले जानकारी गराए । नेपालले उक्त प्रतियोगिता आयोजनाको जिम्मेवारी पाउने बलियो सम्भावना रहेको गुप्तले बताए ।

नेपालले यसअघि सन् २०१५ को अगष्टमा सिनियर एसियाली भारोत्तोलन च्याम्पियनसिप आयोजनाको अवसर पाएको थियो । तर, गतवर्षको भूकम्पका कारण प्रतियोगिता थाइल्यान्डमा सरेको थियो । एसियाली प्राविधिक कमिटीका सचिव गुप्त प्रतियोगिता सञ्चालन गर्न जापान जान लागेका हुन् । गुप्त अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघअन्तर्गत अनुशासन कमिसनका सदस्य पनि हुन् । युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव चूडामणि पौडेल पनि मन्त्रालयको प्रतिनिधिका रुपमा टोलीसँग जापान जानेछन् ।

प्रकाशित: २२ कार्तिक २०७३ ०२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App