१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

आधुनिक तरकारी बजार सञ्चालन तयारी

विराटनगर स्थित आधुनिक तरकारी बजार। फाइल तस्बिर : नागरिक

विराटनगर – उद्घाटन भएको लामो समयसम्म अलपत्र परेको मोरङको कटहरीस्थित आधुनिक तरकारी बजार सञ्चालनको तयारी सुरू भएको छ। विराटनगरको गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यले निर्माण गरिएको उक्त तरकारी बजार सञ्चालनका लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पहल थालेका छन्।

विराटनगरको तरकारीको थोक बजारलाई व्यवस्थित गर्ने उद्देश्यले व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले निर्माण गरेको उक्त बजार संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो। कटहरीमा भव्य समारोहबीच प्रधानमन्त्री केपी ओलीले प्रदेश सरकारलाई तरकारी बजार हस्तान्तरण गरेका थिए।

तर, प्रदेश सरकारले महानगरपालिकालाई तरकारी बजार हस्तान्तरण नगरेको र प्रदेश सरकारले पनि बजार सञ्चालनका लागि पहल नगरेपछि करोडौं रुपैया“ खर्च गरेर बनाइएको तरकारी बजार अलपत्र परेको थियो। प्रदेश सरकारले महानगरपालिकालाई तरकारी बजार हस्तान्तरण नगरी प्रदेशकै स्वामित्वमा राखेर सञ्चलानको तयारी थालेको हो।

तरकारी बजार सञ्चालनको तयारी सुरू भएको भूमि व्यवस्था तथा कृषि विकास मन्त्रालय प्रदेश १ का सचिव हस्तबहादुर विष्टले जानकारी दिए। उनका अनुसार शुक्रबार मुख्यमन्त्रीको अध्यक्षतामा  सरोकारवाला निकायका प्रतिनिधिबीच छलफल भएको छ। छलफलमा विराटनगर महानगरापालिकाका प्रमुख प्रशासकिय अधिकृत, कटहरी गाउ“पालिकाका नगर प्रमुख र प्रदेश सरकारका मन्त्रालय र निर्देशनालयका प्रमुख सहभागी थिए। बैठकले बजार सञ्चालनका लागि पूर्वाधार तयार पार्ने र गुद्री बजार स्थानान्तरणका लागि सहमति जुटाउने निर्णय गरेको छ।

संघीय सरकारले कुनै तयारीबिना प्रदेश सरकारलाई तरकारी बजार हस्तान्तरण गरेका कारण सञ्चालनमा ढिलाइ भएको सचिव विष्टले बताए। ‘संघले प्रदेशलाई तरकारी बजार हस्तान्तरण गर्ने कुरै थिएन,’ उनले भने, ‘अचानक प्रदेश सरकारलाई हस्तान्तरण गरिएपछि सञ्चालनमा ढिलाइ भएको हो।’ विष्टका अनुसार प्रदेश सरकारले बजार सञ्चालनसम्बन्धी नियमावली बनाइसकेकाले बजार सञ्चालनको काम अघि बढेको हो।  प्रदेश सरकारले आधुनिक तरकारी बजारसम्म जाने सडक निर्माणका लागि बजेट विनियोजन गरिसकेको र बजार सञ्चालन समितिको कोषमा पनि बजेटको व्यवस्था गरिएकाले चा“डै बजार सञ्चालनमा आउने विष्टले बताए।

यता, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीले तरकारी बजार सञ्चालनबारे मुख्यमन्त्रीले कटहरी गाउ“पालिका र विराटनगर महानगरपालिकालगायत सरोकारवाला निकायका प्रतिनिधिस“ग छलफल गरेका थिए। छलफलमा विराटनगर महानगरपालिकाले बजार सञ्चालन नियमावली संसोधनका लागि राखेको प्रस्तावसमेत  पारित भएको अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार विराटनगर महानगरपालिकाले वडा नम्बर ७ र ९ का अध्यक्ष र महानगरको कृषि महाशाखा प्रमुखलाई पनि समितिमा राख्नुपर्ने प्रस्ताव राखेको थियो।

तरकारी बजार प्रदेश  सरकारलाई हस्तान्तरण गरेर विराटनगर महानगरपालिकाको भूमिकालाई गौण बनाउँदा गुद्री बजार स्थानान्तरण र आधुनिक तरकारी बजार सञ्चालनमा अलमल भएको अधिकारीले बताए। बजार सञ्चालनका लागि कार्यकारी निर्देशक राख्ने, कर्मचारी खटाउने,तरकारी बजार सम्म पुग्ने सडक निर्माण गर्ने र सटरको दररेट निर्धारण गरी टेन्डर खुलाउनेलगायत काम प्रदेश सरकारले पूरा गरेपछि मात्रै बजार सञ्चालनमा आउने जानकारी दिए । हालसम्म गुद्रीका व्यवसायीसँगसमेत प्रदेश सरकारले बजार स्थानान्तरण गर्ने विषयमा छलफल  गरेको छैन।

मोरङको कटहरीमा निर्माण गरिएको तरकारी तथा फलफूल बजार प्रदेश १ कै नमूना योजना हो। तरकारी बजारमा उपभोक्ता र बिक्रेताले अत्याधुनिक सेवा सुविधा पनि पाउने व्यवस्था गरिएको छ। तरकारी बजारमा बैंकिङ सेवा, खानेपानी, विद्युतलगायत सबै किसिमका सुविधा उपलब्ध छन्। तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ। बजारमा एक हजार चार सय ८८ स्क्वायर मिटरको १७ वटा होलसेल पसल छन्। यस्तै तीन सय ५१ स्क्वायर मिटरमा रिटेल बजार निर्माण गरिएको छ । अत्याधुनिक तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन्।
बिचौलियाको मारमा परेका किसानका समस्यालाई मध्यनजर गर्दै किसानले सोझै उपभोक्तालाई तरकारी तथा फलफूल बिक्री गर्न पाउने व्यवस्था गरिएको हो। किसानका लागि एक सय ३८ स्क्वायर मिटरमा खुद्रा पसल राख्ने व्यवस्था मिलाइएको छ। बजारलाई सफा र सुन्दर राखिराख्न फोहोर व्यवस्थापन पक्षलाई पनि विचार पु-याइएको छ। तरकारी तथा फलफूल बजारको फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ। बजारमा पानी आपूर्तिका लागि  फिल्टरसहितको डिप ट्युवेल, बत्तीका लागि जेनेरेटर र सोलारको व्यवस्था  गरिएको छ। 

बजार निगरानीका लागि सिसी क्यामेरासमेत जडान गरिएको छ। बजारमा अन्डरग्राउन्ड फायर फाइरिङको व्यवस्था पनि गरिएको छ। बजारको क्षमता दैनिक ४४ हजार नौ सय ६६ मेट्रिक टन तरकारी र आठ हजार सात सय तीन मेट्रिक टन फलफूल बिक्री गर्न सकिने छ। तरकारी तथा फलफूल किनबेचका लागि सहज बनाउन बजारमा छानासहितका भवनको व्यवस्था पनि गरिएको छ। बजार परिसरमा पार्किङका लागि पर्याप्त खाली ठाउ“को व्यवस्था गरिएको छ।

तरकारी ढुवानीमा संलग्न सवारीसाधनका चालकलाई बास बस्नका लागि भवनको व्यवस्था पनि तरकारी बजारभित्रै गरिएको छ। यस्तै बजारभित्रै क्यान्टिनको व्यवस्था पनि गरिएको छ। सुरक्षा गार्डका लागि र तरकारी बजारका व्यवस्थापन गर्नेका लागि आवास भवनको व्यवस्था पनि गरिएको छ। तरकारी बजार सञ्चालन समितका पदाधिकारीको कार्यकक्षका लागि प्रशासनिक भवन पनि निर्माण गरिएको छ। किसानलाई आरामका लागि विश्राम कक्ष बजार परिसरमा निर्माण गरिएको छ। तरकारी बजार करिब १८ करोड रुपैया“ लागतमा निर्माण गरिएको हो।

प्रकाशित: १३ श्रावण २०७६ ०३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App