१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनको सम्पर्क कार्यालय नजिक प्रहरीद्वारा अश्रुग्यास प्रहार

अघिल्ला साताका प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको विरोधमा आइतबार हङकङम लोकतन्त्र पक्षधरले निकालेको ¥याली। तस्बिर ः एजेन्सी

बेइजिङ – हङकङमा लोकतन्त्र पक्षधर प्रहरीबीच आइतबार झडप भएको छ। प्रहरीले व्यापक मात्रामा बल प्रयोग गरेको भन्दै आक्रोशित प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा भीडलाई तितरवितर पार्नका लागि प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको बिबिसीले उल्लेख गरेको छ। केही सातादेखि हङकङमा जारी प्रदर्शनकै बीच आइतबार दोस्रो पटक हिंसात्मक झडप भएको बताइएको छ।

लोकतन्त्र पक्षधर प्रदर्शनकारी चिनियाँ सरकारको कार्यालयतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गर्दा झडप भएको बिबिसीले उल्लेख गरेको छ। अनियन्त्रित प्रदर्शनकारीलाई तितरवितर पार्नका लागि प्रहरीले अश्रुग्यास र रबरको गोली प्रहार गरेको छ।

प्रदर्शनकारीलाई चिनियाँ सम्पर्क कार्यालयतर्फ जान नदिन सयौंको संख्यामा रहेका प्रहरीले रोकेको थियो। चिनियाँ सम्पर्क कार्यालयलाई चारैतर्फबाट प्लास्टिकको छेकबारले छेकिएको थियो र अगाडिको ढोकामाथि रहेको चिनियाँ सरकारको प्रतीकलाई पनि प्लास्टिकको सिल्डले छेकिएको थियो।

हङकङको साई वान र कजवे बेमा आइतबार हजारौं लोकतन्त्र पक्षधर प्रदर्शनकारीले प्रदर्शन गरेका छन्। हङकङमा विगत आठ सातादेखि लगातार सरकार पक्ष र लोकतन्त्र पक्षधरबीच प्रदर्शन जारी रहेको छ। विश्वकारे सर्वाधिक सुरक्षित सहरमध्ये एकमा गनिने हङकङ पछिल्ला दुई महिना निरन्तर अशान्त रहँदै आएको छ। हङकङमा सुरुका केही साता प्रदर्शन शान्तिपूर्ण भएको भए पनि पछिल्ला प्रदर्शन भने हिंसात्मक बन्दै गएका छन्। पछिल्ला समय प्रदर्शनकारी, प्रहरी र मुखमा मास्क लगाउनुका साथै हातमा वेल्डिङ स्टिक बोकेका अपराधिक समूहका सदस्यबीच हिंसात्मक झडप हुने गरेका छन्।

आइतबारको प्रदर्शनमा सहभागी प्रदर्शनकारीहरुले सुरक्षात्मक हेल्मेट र चस्मा लगाएका थिए। प्रहरीले प्रदर्शनकारीलाई रोक्नका लागि लगाएको छेकबार पनि उनीहरुले कैयौं ठाउँमा तोड्न खोजेका थिए। प्रदर्शनमा सहभागीले ‘स्वतन्त्र हङकङ’को नारासमेत लगाएको बिबिसीले उल्लेख गरेको छ।

प्रहरीले स्वीकृत प्रदान गरेको सेन्ट्रल बिजनेस जिल्लामा उपस्थित भएर सुरुमा प्रदर्शनकारीले प्रदर्शन सुरु गरेका थिए। तर पछि गएर प्रदर्शनकारीको भीड प्रहरीले राखेको सुरक्षा घेरा तोडेर साई वानस्थित चिनियाँ सम्पर्क कार्यालयतर्फ र कजवे बे सपिङ क्षेत्र अघि बढेको थियो। प्रदर्शनकारीलाई चिनियाँ सम्पर्क कार्यालयतर्फ जान नदिन सयौंको संख्यामा रहेका प्रहरीले रोकेको थियो। चिनियाँ सम्पर्क कार्यालयलाई चारैतर्फबाट प्लास्टिकको छेकबारले छेकिएको थियो र अगाडिको ढोकामाथि रहेको चिनियाँ सरकारको प्रतीकलाई पनि प्लास्टिकको सिल्डले छेकिएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

गत साता सरकारी कार्यालयका भवन बाहिर प्रदर्शनकारीले रंग छ्यापेका थिए। त्यसको प्रतिक्रियास्वरुप चिनियाँ सरकारले सो कदम बेइजिङ प्रशासनमाथिको चेतावनी भएको र त्यसलाई चीनले कुनै पनि हालतमा स्वीकार नगर्ने बताएको थियो।

रंग छ्याप्नेमध्येका केही प्रदर्शनकारीले ‘हङकङमाथि पुनर्दाबी’ र ‘हाम्रो समयको क्रान्ति’ जस्ता नारा लगाएका थिए भने ‘हिंसा अन्त्य गर’ भन्ने नारा लेखिएका ब्यानर बोकेका थिए। मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नेबारे सरकारले विधेयक ल्याउने तयारी गरेपछि हङकङमा प्रदर्शन सुरु भएको थियो। विधेयकले हङकङको न्यायिक स्वतन्त्रतालाई निस्तेज गर्ने र चिनियाँ सरकारको विरोध गर्नेविरुद्ध विधेयक लक्षित हुनसक्ने भन्दै आलोचकहरुले विरोध जनाएका थिए।

कैयौं साताको विरोध प्रदर्शनपछि हङकङ सरकारले तत्कालका लागि सो विधेयक स्थगित गरिएको घोषणा गरेको थियो। यद्यपि प्रदर्शनकारीले भने विधेयक स्थगन नभई पूर्ण रूपमा खारेज हुनुपर्ने भन्दै प्रदर्शनलाई जारी राखेका थिए। प्रदर्शन जारी रहेपछि हङकङकी प्रमुख कार्यकारी क्यारी लामले माफीसमेत मागेकी थिइन्। तर पछिल्लो समय प्रदर्शन हङकङमा बृहद् प्रजातान्त्रिक सुधार र स्वतन्त्रता कम हुँदै गएको प्रति लक्षित हुन थालेको छ।

बेलायतको उपनिवेशका रूपमा रहेको हङकङ हाल ‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गत चीनको एक महŒवपूर्ण अंगका रूपमा रहेको छ। यही व्यवस्थाका कारण हङकङमा मुख्यभूमि चीनमा भन्दा बढी स्वतन्त्रता, छुट्टै कानुनी व्यवस्था र आफ्नै न्याय प्रणाली रहेको छ।

प्रदर्शन जारी रहेकै बेला गत जुलाई १९ का दिन हङकङमा ठूलो परिणाममा विस्फोटक पदार्थ भेटिएको थियो। सो विस्फोटक पदार्थ हङकङको इतिहासमा भेटिएको सबैभन्दा ठूलो परिणामको विस्फोटक पदार्थ भएको अधिकारीहरुले बताउने गरेका छन्।

प्रकाशित: १३ श्रावण २०७६ ०२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App