१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगान राष्ट्रपतिद्वारा निर्वाचन प्रचारप्रसार सुरु

अफगान राष्ट्रपति असरफ घानी

काबुल – अफगानिस्तानमा आउँदो सेप्टेम्बरको अन्त्यतिर हुने राष्ट्रपति निर्वाचनका लागि राष्ट्रपति मोहम्मद असरफ घानीले आइतबारदेखि प्रचारप्रसार अभियान सुरु गरेका छन्। युद्धग्रस्त देश अफगानिस्तानमा घानीले फेरि राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका हुन्। राष्ट्रपति निर्वाचनका लागि घानीसहित कूल १८ जना उम्मेदवार चुनावी मैदानमा देखिएका छन्।

आइतबारदेखि सुरु भएको प्रचार प्रसार अभियान झण्डै दुई महिना चलेर सेप्टेम्बर २५ तारिखका दिन अन्त्य हुनेछ। निर्वाचन आयोगले एक वक्तव्य जारी गरेर मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडिसम्म मात्रै प्रचारप्रसार गर्न पाइने जनाएको छ।

घानीले मुख्य प्रतिस्पर्धा अफगान गुप्तचर निकायका पूर्वप्रमुख रहमातुल्लाह नबिलसँग गर्नु पर्ने देखिएको छ। नबिल पनि राष्ट्रपति पदका लागि सशक्त उम्मेदबार हुन्। निर्वाचनमा बहालवाला राष्ट्रपति घानीले सरकारी स्रोत साधनको दुरुप्रयोग गर्ने विषयलाई पनि ध्यान दिएर हेरिएको समाचारमा जनाइएको छ।
अफगानिस्तानमा राष्ट्रपति चयनका लागि आउँदो सेप्टेम्बर २८ तारिखका दिन मतदान हुने तय भइसकेको छ।

अफगानिस्तानको शान्ति परिषद् विघटन
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले उच्चस्तरीय शान्ति परिषद्को सचिवालय विघटन गरेका छन्। तालिबान विद्रोहीसँग वार्ता गर्नका लागि सन् २०१० मा तत्कालीन राष्ट्रपति हमिद् कारजाइले गठन गरेको सो सचिवालयलाई घानीले शनिबार विघटन गरेको भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ।

अफगान राष्ट्रपतिका प्रवक्ता सेदिक सेदिकीले परिषद्को काम नव गठित शान्ति मामिला मन्त्रालयले गर्ने भएकाले परिषद्को आवश्यकता नदेखिएको पत्रकारहरुलाई जानकारी दिएका छन्। सरकारी निकायका रूपमा परिषद्ले विद्रोही तालिबान तथा अरु आतंकवादी समूहरुलाई पुनर्मिलन र मेलमिलापका लागि पहल गर्दै आइरहेको थियो। परिषद्मार्फत् राष्ट्रिय र अन्तर्राष्ट्रिय तहका वार्ता तथा छलफल गर्नका लागि ७४ जनाले काम गरेका थिए। झन्डै २० वर्षदेखि द्वन्द्वमा फसेको अफगानिस्तानमा विभिन्न विद्रोही तथा आतंकवादी समूह सक्रिय रहेका छन्।

राष्ट्रपतिका सहयोगीको कार्यलयमा विस्फोट
ऋफगान राष्ट्रपतिका सहयोगी अमरुल्लाह सालेहको पार्टी कार्यालयमा आइतबार विस्फोट भएको छ।
विस्फोटपछि कार्यालयमा प्रवेश गरी गरिएको आक्रमणमा कम्तीमा १३ जना घाइते भएको अफगानी अधिकारीले जनाएका छन्। ‘स्थानीय समय अनुसार दिउँसो करिब ४ बजेर ४० मिनेट जाँदा सालेहको ‘ग्रीन ट्रेन्ड’ कार्यालय नजिकै पहिलो विस्फोट भएको थियो। विस्फोटपछि केही आक्रमणकारी उक्त कार्यालयमा प्रवेश गरेका थिए,’ अफगानिस्तानका गृहमन्त्रालयका प्रवक्ता नसरत राहिमीले बताए।
सालेह अफगानी ग्रीन ट्रेन्ड पार्टीका नेता हुन् भने राजनीतिमा प्रवेश गर्नु पहिले उनले अफगानिस्तानको गुप्तचर संस्थाको प्रमुखका रूपमा सेवा गरेका थिए। आक्रमणबाट सालेहलाई भने कुनै चोट नलागेको बताइएको छ।

प्रकाशित: १३ श्रावण २०७६ ०२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App