१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रक्रिया कि सहमतिबारे विवाद

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू पार्टी अन्तरिम संरचना विधानअनुसारै निर्वाचनबाट गर्ने कि सहमतिबाट टुंगो लगाएर १४ औं महाधिवेशनको तयारीमा जुट्ने भन्नेमा विभाजित देखिएका छन्। पार्टी विधानको संक्रमणकालीन व्यवस्था अन्र्तगत अन्तरिम संगठन निर्माण सहमतिबाट टुंगो लगाउन संस्थापन र असन्तुष्ट पक्ष तयार देखिए पनि १४औं महाधिवेशनको कार्यतालिका तय गर्न सभापति शेरबहादुर देउवामाथि सदस्यहरूले दबाब दिएका हुन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको आइतबारको बैठकमा बोल्दै सदस्यहरूले महासमितिबाट पारित नयाँ संविधानअनुसार प्रदेशदेखि वडा तहसम्मको संरचना निर्वाचनबाटै चयन गर्नुपर्ने धारणा राखेका छन्। पार्टी पूर्व महामन्त्रीसमेत रहेका केन्द्रीय सदस्य प्रकाशमान सिंह, ह्दयराम थानी, डिला संग्रौला, रमेश रिजालसहितले निर्वाचनबाटै संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। पार्टी विधान बाहिर गएर कुनै पनि संरचना निर्माण गर्न नहुने तर्क गर्दै नेता सिंहले बैठकमा भने, ‘क्रियाशील सदस्यको सफ्टकपी वा अरु कुनै बहानामा विधानविपरीत हिँड्ने अधिकार कसैलाई पनि छैन। सबै कुरा चुस्त बनाएर विधान अनुसारै अघि बढ्नुपर्छ।’

पार्टीले कुनै व्यक्तिलाई नेता तोक्दैमा तल्लो तहबाट स्वीकार गर्ने अवस्था नरहेको औल्याउँदै केन्द्रीय सदस्य थानीले भने, ‘नेताले व्यक्ति तोक्दा त्यसबाट न काम हुन्छ न संगठन बलियो हुन्छ। तयसैले निर्वाचनबाटै अन्तरिम व्यवस्था गरेर जानुपर्छ।’

अर्का सदस्य संग्रौलाले विधानको व्यवस्था अनुसारै संरचना निर्माण गरेर महाधिवेशनमा जानुपर्ने धारणा राखिन्। पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई सहमतिबाट महाधिवेशनको क्यालेन्डल ल्याउन आग्रह गरिन्। तर, संस्थापन र असन्तुष्ट पक्षसँग निकट अन्य सदस्यले १४औं महाधिवेशनलाई केन्द्रमा राखेर पार्टीको अन्तरिम संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। केन्द्रीय सदस्य रामशरण महत, नारायण खड्कासहितका नेताले अन्तरिम व्यवस्था अन्तरिम नै भएकाले त्यसमा लचिलो बनेर अघि बढ्नुपर्ने धारणा राखेका छन्।

केन्द्रीय सदस्य महेश आर्चायले थपिएको एक वर्षभित्र १४ औं महाधिवेशन सम्पन्न गर्नेगरी क्यालेन्डर बनाएर जानुपर्ने धारणा राखे। आगामी फागुनसम्म नगर/गाउँपालिकाको अधिवेशन सक्ने २०७७ मंसिरसम्म क्षेत्र र जिल्लासम्मको अधिवेशन सक्ने र २०७७ फागुन मसान्ताभित्र १४औं महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्। तर, आर्चायले पार्टी विधानको ७२(४) अनुसारको संक्रमणकालीन व्यवस्थाका विषयमा मौन रहेका छन्।

बैठकमा नेता सिंह, महत, आचार्य, खड्का, संगौला, थानी, रिजालका साथै बलबहादुर केसी, नरहरि आचार्य, बालकृष्ण खाँण, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, आनन्दप्रसाद ढुंगाना, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, पुष्पा भुषाल, ईश्वरी न्यौपाने, सरिता प्रसाई, अतहर कमाल मुसलमानसहितले आआफ्नो धारणा राखेका थिए। संक्रमणकालीन व्यवस्थाअनुसार पार्टीको संरचना निर्माण र १४ औं महाधिवेशनको तयारीका विषयमा सदस्यले बोल्ने क्रम सकिएपनि पदाधिकारीले आफ्नो धारणा राख्न बाँकी छ।

प्रकाशित: १३ श्रावण २०७६ ०१:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App