१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कर्णाली राजमार्गमा पहिरो, सडकको निशाना रहेन

जुम्ला– आइतबार बिहानदेखि कर्णाली राजमार्गको कालिकोट खण्डको कालेखोलामा बर्षकै ठूलो पहिरो गएको छ। पहिरोका कारण यातायात सेवा ठप्प छ। जुम्लादेखि नेपालगञ्ज, सुर्खेत र सुर्खेत, नेपालगंज देखि कालिकोट जुम्ला आउने सवारी साधन र यात्रु अलपत्र छन्। पहिरो पन्छाउन निकै कठिन भएकोले सडक खुल्ने बिषयमा भन्न सकिने अवस्था छैन्। प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले पहिरोले सडकको निशाना मेटेर लगेकोले तत्काल खुल्ने सम्भावना नरहेको बताए। 

उनले भने, ‘सडक नै भाँसिएकाले राजमार्ग तत्काल खुल्ने अवस्था छैन। नयाँ ट्रयाक खोल्ने काम भइरहेको छ। राजमार्गको ४० मिटर सडकमा पहिरो गएकोमा १० मिटर जतिको सडकको निशाना नै छैन। नयाँ ट्रयाक खोल्नुको बिकल्प छैन।  यसअघि सानातिना दर्जन बढी सडक खण्डमा पहिरो जाँदा यात्रुलाई सास्ती भइरहेको थियो। अहिले सडकको माथिल्लो क्षेत्रबाट ढुंगा र माटो खस्ने कार्य दिनदिनै भइरहन्छ। प्रमुख जिल्ला अधिकारी कार्की भन्छन्, ‘यो पहिरोको प्रकृति हेर्दा पहिरो खुलाउन सहज छैन। पहिरो पन्छाउनको लागि निकै सकस हुने अवस्था छ।’

पहिरोको प्रकृति बुझ्न प्रमुख जिल्ला अधिकारी कार्कीको नेतृत्वमा एक टोली पहिरो गएको स्थानमा पुगेर फर्केको छ। नेपाली, सेना, प्रहरी लिएर गएको टोलीले मानवीय शक्तिले कुनै काम गर्न नसक्ने अवस्था देखेपछि फर्किएको छ। पहिरो गएको स्थानमा सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख इन्जिनियर सर्वण कुमार महताराको टोली सडक खुलाउनको लागि लागि परेको छ। 

बिहानै जिल्ला प्रशासन कार्यालय जुम्लाले कर्णाली राजमार्गमा ठूलो पहिरो गएको जानकारी दिएपछि जुम्लाबाट चल्ने साना ठूला सवारी चलेका छैनन्। ‘सानो डोजरले पहिरो पन्छाउन नसक्ने भएकोले ठूलो चेनवाला एक्साभेटरले काम गरिरहेको छ’, प्रमुख जिल्ला अधिकारी काकीले भने, ‘काम भइरहेको छ। माथिबाट पहिरो आउने सम्भावना उत्तिकै छ। त्यसैले बर्षा नरोकिँदासम्म सडक खुल्न सक्ने अवस्था देखिँदैन्। तर सडक खुलाउने प्रयत्न भइरहेको छ।’ 

पहिरो पहिरो पन्छाउन दुई चार दिन लाग्न सक्ने अवस्था छ। तर सडकका प्राविधिक दुई दिनमै सडक खुलाउने गरि काम भइरहेको बताउँछन्।  सडकको निसाना छैन। ठुल्ठुला ढुङ्गा ओर्लिएर आएका छन्। 

अहिले यात्रु आधा घण्टा भिरको बाटो हिडेर गाडी मेल गरेर सेवा लिइरहेका छन्।  ‘एक आधा घण्टा हिडेर अर्को गाडी समातेर यात्रु जाने गरेका छन्’, प्रमुख जिल्ला अधिकारी कार्की भन्छन्, ‘मालबाहक गाडी अलपत्र अवस्था छन्। यो बर्ष गगने खोला, कालेखोला गरेर दुई पटक ठुलो पहिरो गयो। यो पहिरो सबैभन्दा ठुलो हो।’ 

दैनिक सानो पहिरो पन्छाउदै गाडी सञ्चालन हुँदै आइरहेका छन्। पहिरो गएको स्थानसम्म पुग्न पनि माटो पन्छाउदै बाटोभरी आएको ढुंगा हटाउँदै अघि बढेको अनुभव प्रमुख जिल्ला अधिकारीले सुनाए। 

सडकमा पहिरो संभावित क्षेत्रमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ। कर्णाली राजमार्गमा पहिरो गएपछि हवाई सेवा लिन जुम्ला बिमानस्थलमा यात्रुको भिड लाग्न थालिसकेको छ। अब कर्णाली राजमार्ग सञ्चालन नहुँदासम्म हवाई सेवा मात्र यहाँका स्थानीयको एक मात्र बिकल्प बन्ने भएको छ। कर्णाली राजमार्गको गगने् खोला, सुनार खोला, खल्लागाढ,राँचुली क्षेत्रमा प्राय पहिरो गइरहन्छ। 

प्रकाशित: १२ श्रावण २०७६ १३:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App