१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

अपुरो माया

किशोर वयमा कसको पो ‘क्रस’ नहोला! वर्षाको पनि थियो। जब–जब वर्षाले आभाषलाई देख्थी, उसको मनमा औडाहा चल्थ्यो। त्यो कथा पछि आउँछ तर यस पल्ट भने उदेक नै भयो। जुन कुरा वर्षाले सोचेकी पनि थिइन, त्यो उसको अफिस अघिल्तिर भइरहेको थियो।

आफ्नो पढाइ जारी रहँदा वर्षाले एउटा मिडिया कम्पनीको मार्केटिङ म्यानेजरको जिम्मेवारी सम्हालिरहेकी थिई। एकदिन बाहिर निकै हल्लाखल्ला भइरहेको थियो। कुनै ग्राहक उसैलाई भेट्न खोजिरहेको थियो। वर्षा भरसक यस्ता झण्झट आफैँ सम्हाल्थी तर यस पल्ट अर्कै कुनै महत्त्वको काम भएकाले उसलाई छल्न खोजिरहेकी थिई।

‘म्याम, हजूरलाई नभेटी जान्नँ भनेर बसिरहनु भएको छ,’ रिसेप्सनकी युवतीले तीन चार पटक फोनमा सम्झाएपछि उसले कामलाई थान्को लगाई।
‘उसको गुनासो चाहिँ के हो ?’ वर्षाले सोधी।
‘कुनै प्रोडक्टको झुक्याउने विज्ञापन हाम्रो मिडियामा छापियो रे, त्यसको गुनासो गर्न आउनु भा’छ,’ रिसेप्सनिस्टले जवाफ दिई।
‘अनि ?’
‘हजूरलाई नभेटी जान्नँ भनेर बस्नु भा’छ,’ रिसेप्सनिस्टले खुलेर भनी, ‘हाम्रो मिडियामा छापिएको विज्ञापन हेरेर लगाएको सेम्पूका कारण बाक्लो हुनुपर्ने कपाल झन् तालु नै हुने गरी खुइलियो भन्ने उहाँको गुनासो छ।’

‘यो गुनासो त कम्पनीलाई गर्नुपर्ने हो नि,’ वर्षाले भनी, ‘यहाँ किन ?’
‘हेर्नुस्, म साधारण मान्छे हुँ, तपाईंको विज्ञापनका कारण ठगिएँ,’ यो स्वर रिसेप्सनिस्टको थिएन, वर्षालाई स्वर चिनेजस्तो पनि लाग्यो। उसले भन्दैथियो, ‘यसले मेरो व्यक्तित्वलाई नराम्रो असर ग-यो। यसको जिम्मेवार तपाईं पनि हुनुप-यो कि परेन? पैसा पाइन्छ भन्नेबित्तिकै जे पनि छाप्ने?’ यो एउटा मीठो, अडिलो, पुरुष स्वर थियो र स्वरले वर्षाको ध्यानाकर्षण ग-यो।

वर्षाले भनी, ‘ठीक छ, म तपाईंको गुनासो सुन्छु। रिसेप्सनिस्टलाई फोन दिनुस्।’
बाहिर हल्लीखल्ली मच्चाउने उही आभाष थियो भन्ने वर्षाले कल्पना पनि गरेकी थिइन। उसलाई आफ्नो क्याबिनमा स्वागत गरेपछि एकसाथ दुई आश्चर्य घटेका थिए, वर्षाका लागि। पहिलो त आफ्नो जीवनकै पहिलो क्रसलाई आफ्नो अफिसको वातानुकूलित क्याबिनमा स्वागत गर्न पाएकी थिई र जीवनकै पहिलो पटक नजिकबाट उसलाई नियाल्न पाएकी थिई। दोस्रो चाहिँ, आभाषको फेरिएको अनुहारको बान्की!

वर्षालाई किशोर वयमा ज्यादै आकर्षक लाग्ने आभाष आज अति नजिक थियो तर तालुसम्म फैलिएको फराकिलो निधार अझ फराकिलो भएको थियो। आभाषको तालु सुहाउँदिलो नै लाग्यो उसलाई।

वर्षाले चियाकफीको अफर आभाषले अस्वीकार गरिसकेको थियो। ऊ अझै आफ्नो ढिपी छाडेको थिएन !
आफ्नो क्याबिनमा स्वागत गर्दै भनी, ‘भन्नुस्, हजुर के पिउनु हुन्छ? चिया, कफी?’ यता भनिरहँदा आभाषका गहिरा आँखामा हेर्न छुटाइन उसले।

उसले त्यसलाई मतलब गरेन। बरु त्यही कुरा सुनाउँदैथ्यो। उसको कपाल कसरी झ-यो, यस्तो दिग्भ्रमित पार्ने विज्ञापन मिडियाले किन छाप्नु हुन्न आदिआदि। वर्षाले यी सबै कुरा हजूर, हजूर भन्दै सुनिरही तर चुरो बुझ्नतिर लागिन। मात्र उसले आभाषको ओठ चल्मलाएको देखी, धमिलो आवाज मात्र सुनी। उसको गाढा आँखीभौँ, उसका खैरा ओठ, केही अमिल्दा दाँत तर स्वरको भारीपन मात्र याद गरिरही।

‘मायालाई चिन्नुहुन्छ?’ वर्षाले बीचैमा उसको बर्बराहट रोक्दै सोधी।
आभाषले आफ्नै बहिनीको नाउँ वर्षाको मुखबाट सुनेपछि छक्क प-यो र सोध्यो, ‘मायालाई कसरी चिन्नुहुन्छ?’

यसपछि पत्रिकाको विज्ञापनको कुरा हरायो। नयाँ कुरा थपियो– कसरी वर्षा र उसकी साथी मायाले बचपनमा लुकीछिपी आभाषका लेखरचना पढ्थे आदि। अनि एउटा कुरा भने अझै पनि उसले लुकाई– कसरी ऊ किशोर वयमै आभाष भनेपछि हुरुक्क हुन्थी। यतिबेला पनि ऊ छेउमै भए पनि कस्तरी मुटु ढुकढुक फुलिरहेको छ र आभाषले थाहा नपाउँदै श्वासलाई नियमित देखाउनका लागि बेलाबेलामा लामो श्वास फेरिरहेकी छ !

कुरा छिमलिने बेला हुनै लाग्दा आभाषले केही सम्झेझैँ भन्यो, ‘ओहो, मैले त कस्तो बिर्सेछु ! तिमी दुई चुल्ठो बाटेर आउने त्यही वर्षा हौ भन्ने त अहिले पनि विश्वास लागिरहेको छैन।’

उसले यसबीचमा उसले लेखनसँगै कसरी पिएचडी सक्यो र यतिबेला देशको स्कलरका रुपमा चिनिदा कस्तो खुसी लागिरहेको छ भन्ने बताउँदै गर्दा वर्षाले त्यही कलेजबाट उसैको पदचाप पछ्याउँदै एमबिए गरेको कुरा भने बताइन। अँ यत्ति चाहिँ उसले भनेकी थिई, ‘म तपाईंको राम्रो पाठक थिएँ, अझै छु पनि। त्यो बेला पहिलो पटक अटोग्राफ लिएको, सुरक्षित राखेकी छु।’

यो कुरा सुनेपछि भने आभाषले छक्क परेर उसलाई एकोहोरो हेरेको थियो। त्यसपछि झट्ट के सम्झ्यो कुन्नी, उसले हिँड्न हतार ग-यो।

हिँड्दाहिँड्दै आभाषले भन्यो, ‘इफ् यु डन्ट माइन्ड, क्यान वि ह्याभ अ कफी टुगेदर? ... अफिसपछि !’
वर्षाले कतै पढेकी थिई, राम्रो लाग्नु, मन पराउनु र माया गर्नु फरक कुरा हुन्। उसले त यी तीन वटै कुरा एकै व्यक्तिसँग हुन लाग्यो कि झैँ भएर आयो। त्यसैले उसले साँझको कफीका लागि स्वीकृति जनाई।
तर कफी पिउनका लागि अर्को कुनै फोन आएन। खासमा स्वयं वर्षाले पनि त्यो कफीको कुरा बिर्सिई।

यसको फेरि पाँच वर्षपछि वर्षा विराटनगरबाट काठमाडौँ आउने क्रममा प्लेन कुरेर बसिरहेकी थिई। छेउमै आएर कोही ढसमस्स बस्यो, जसको वर्षाले कुनै भाउ दिइन। प्रायः यस्तो यात्रामा भिडभाड हुनाले कसैको मतलब पनि हुँदैन। फेरि हिजोआज फेसबुक, इन्स्टाग्राम, लिङ्क्ड इनजस्ता सामाजिक सञ्जाल भएपछि मुन्टो उठाएर को आयो, को आएन भनेर हेर्ने फुर्सद पनि त हुँदैन!

‘वर्षा होइन?’
आवाज आएतिर पुलुक्क हेर्दा त उही आभाष!
वर्षालाई केही लज्जाबोध भयो। कफीको अफर गरेको मान्छे, पाँच वर्षपछि छेउमै छ। अब त्यो बेलाको कुरा के भनेर जवाफ दिने होला? उसलाई अपराधबोध भएर आयो। कहिलेकाहीँ कसैकसैलाई भेट्दा समय जुन ठाउँमा रोकिएको थियो, त्यहीँबाट शुरु हुन्छ जस्तो लाग्यो। नत्र त आभाषको जीवनमा अनेकन् परिवर्तन आए, स्वयं वर्षाको जीवनमा पनि कयौँ घुम्ती पार भए। उसलाई ती कुनै कुराको सम्झना भएन। आभाषलाई अन्तिम पटक भेटेको र गरेको कफीको वचन मात्र सम्झना भयो।

कुरा बदल्न र ती सारा झ्याउलो यतिबेला सम्झन नचाहेर वर्षाले सोधी, ‘तपाईंको नयाँ किताबको निकै चर्चा छ तर पढ्न भने पाएकी छैन।’

‘किनेको छैन भने म उपहार दिन तयार छु,’ उसले उही गहिरो स्वरमा भन्यो, ‘इन्फ्याक्ट, कफीको उधारो तिर्न चाहन्छु।’

वर्षाले त्यहीँ घरैमा कफीको निम्तो दिई। नम्बर आदानप्रदान भयो।
भोलिपल्ट वर्षा फराकिलो आँगनको एउटा कुनामा राखिएको टेबुलमा कफी पिउँदै ल्यापटपमा केही काम गरिरहेकी थिई। आभाष हातमा किताब र फूलको गुच्छा बोकेर उसको ठीक अगाडि उभ्भियो।

अभिवादन त भयो तर एकछिनका लागि वातावरण शून्यजस्तै भयो। वर्षा एकोहोरो आभाषको अनुहार हेरिरहेकी थिई। लामो समयपछि हिजै मात्र एकैछिन एयरपोर्टमा भेट भएको थियो। दुवै जना के कुरा गर्ने भनेर सोचिरहेका थिए। लामा कुरा भइरहेको थिएन। एक जना सहयोगीले कफी आभाषको अघिल्तिर नराखुञ्जेलसम्म छोटाछोटा प्रश्नोत्तर मात्र भए। मानौँ, यिनलाई धेरै कुरा गर्नु नै छैन।

के सोच्यो कुन्नी आभाषले आफ्नो नयाँ पुस्तकमा हस्ताक्षर गरेर उसलाई दियो र बाहिर निस्कन खोज्यो। वर्षाले किन हो रोक्न सकिन। वर्षाले एकोहोरो किताबलाई हेरिरही।
किताबको नाम नै ‘अपूरो माया’ थियो। शीर्षकले उसलाई तान्यो। वर्षाले किताब तान्यो र पानाहरु पल्टाउन थाली।

कथाकी हिरोइन नै वर्षा थिई। उसको मिल्ने साथी थिई माया र मायाको दाइ थियो, म पात्र। एउटा पुरुष म पात्रले मेरो बालापनका अनेकन् रमाइला कुरा टपक्क टिपेर हालेको थियो। मायाले वर्षालाई भाउजू भनेर जिस्क्याएका क्षणहरु, मलाई पनि तपाईंजस्तै लेख्न सिकाइदिनु न भनेर गरेका आग्रहहरु, उसले अलिअलि कविता मिलाइदिएका क्षणहरु सबैसबै वर्षाकै घटनाहरु उल्लेख गरिएको थियो। हरेक किताब निस्कदाका बेला किताब किनेर हस्ताक्षर गराउने सजग पाठक र उसका चञ्चल आँखाको बयान त्यहाँ गरिएको थियो।

कसरी हिरोइन वर्षाले लुकीलुकी उसलाई हेर्थी र उसले नदेखेजस्तो गथ्र्यो, कसरी वर्षाले घुमाउरो पाराले राखेका अनेकन् प्रस्तावप्रति ऊ अञ्जान बन्थ्यो ती सबै पढ्दै गर्दा आफ्नो बालापनमा वर्षा पुगी। त्यति मात्र होइन, कसरी आफूले फुच्ची ठानेकी केटी एउटा मिडिया ह्यान्डल गरिरहेकी छ र कसरी एउटा विज्ञापनका कारण उसलाई पछिल्लो पटक देख्दा कसरी ऊ वर्षाप्रति हुरुक्क भयो भन्ने कोणबाट लेखिएको पाई।

उपन्यास पढ्दै गर्दा आभाषले पहिलो भेटलाई निकै आकर्षक ढङ्गले व्याख्या गरेको थियो। वर्षाको ओठ थर्थराइरहेको, पिलिकपिलिक घरि न घरि हेर्ने तर केही निमेषमै फेरि आँखा अन्तै लग्ने त्यो व्यवहार, बोल्न नसक्दा थर्थराएका ओठहरु, मसिनो स्वरले मागेको अटोग्राफ... उफ् वर्षाकै हृदयभित्र छिरेर यी कुरा लेखेको हो कि?

यसपछि वर्षाले उपन्यास पढिरहनु परेन। उसले सम्झिरही, कसरी आभाषलाई उसले झन् बढी मन पराइरही, कसरी अटोग्राफलाई लामो समयसम्म सुम्सुम्याइरही र आभाष लेखिएको हस्ताक्षर उसका लागि कति महत्त्वका थिए।

०००
उपन्यासलाई टेबुलमा पर सार्दै गर्दा वर्षालाई त्यो दिन सम्झना आइरह्यो। आफ्नो बिहेको कार्ड लिएर ऊ साथी मायाको घर पुगेकी थिई। मायालाई कार्ड दिने बहाना भए पनि अन्तिम पटक वर्षा आभाषलाई हेर्न चाहन्थी। जनाउ दिन चाहन्थी, यो अब अन्तिम भेट हो। ऊ अब सानी केटी रहिन। ऊ एउटी विवाहयोग्य कन्या भइसकी। अब त उसको बिहे पनि हुन लागिसक्यो।

कति धेरै बेवास्ता गर्न सकेको होला ! सम्झेर वर्षालाई दिक्क लाग्यो।
भन्नलाई त मुखले भनिदिई, ‘मेरो बिहेमा हजूर पनि आउनु पर्छ नि ! आउनु भएन भने म रिसाउँछु।’
आभाषले आफूलाई खासै महत्त्व दिएजस्तो लागेन वर्षालाई। सधैँ धुम्म, सधैँको गजक्क! केको घमण्ड होला यो लेखकलाई?

‘को केटा? के गर्छ? पाल्न सक्छ?’ यत्ति पनि सोधेन भन्ने गुनासो वर्षालाई सधैँ रहिरह्यो। यस्तो संवेदनाहीन मान्छे पनि के मान्छे ? ‘यस्तो निर्दयी मान्छेले अहिलेसम्म बिहे नगरेर ठीकै ग-यो !’ केहीबेर उसलाई त्यस्तै लाग्यो।

वर्षाको जीवनमा जीवनको प्रवेश भयो। घरगृहस्थी, श्रीमान्, जागिर र त्यसपछि सन्तानको रेखदेखमा यति समय बित्यो कि वर्षालाई त्यो बेला मात्र आभाषको सम्झना आउँथ्यो, जुन बेला उसले लेखेको लेख कुनै अखबारमा पढ्थी। त्यहाँ छापिएको उसको तस्बिर टोलाएर हेर्थी र मनमनै उसको प्रशंसा गर्थी।

०००
‘अपूरो माया’को बीचको भाग वर्षालाई पढ्नै दिक्क लाग्यो। उसले एकै पटक अन्तिम च्याप्टरको पनि अन्तिम छेउमा पुगेर ससर्ती आँखा डुलाई। ठ्याक्कै अहिले जस्तो अवस्था वर्षाले भोगिरहेकी छ, त्यही कुरा त्यहाँ लेखिएको थियो। आभाषले यसरी उपन्यासका रुपमा आफ्नो प्रेमपत्र लेख्ला भन्ने वर्षाले सोचेकी पनि थिइन।

अन्तिम हरफमा आभाषले लेखेको थियो, ‘मैले यसरी लभलेटर लेखूँला भनेर कहिल्यै सोचेको थिइनँ तर लेखेँ मात्र होइन, संसारले पनि पढ्ने भए। जीवनभर मलाई आफूलाई कम उमेरकी ठानेर सधैँभरि उसलाई छलिरहँदा कुन बेला आफैँलाई छलेँ भन्ने पत्तो पाइनँ। उसलाई बिहे गर्न नसके पनि कुनै दिन हिम्मत गरेर ‘म तिमीलाई प्रेम गर्छु र गरिरहनेछु’ भनूँ लागिरह्यो तर त्यो हिम्मत पनि जुटाउन सकिनँ।

यी शब्द पढ्दै गर्दा वर्षाका आँखाबाट बरर्र आँशु झरे। वर्षाले आफूलाई सम्हाल्न सकिन। उसले अन्तिम हरफ पढेसँगै किताब बन्द गर्न सकिन र फत्रक्क तल झ-यो।

वर्षालाई यतिबेला आभाषसँग झनक्क रिस उठेर आयो, यत्रो वर्षपछि यसरी प्रेम अभिव्यक्त गर्ने कस्तो तरिका हो?

प्रकाशित: १२ श्रावण २०७६ १०:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App