१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्राथमिकतामा ‘रामायण सर्किट’

रामायण सर्किट सम्मेलनमा सहभागी सरोकारवाला।

जनकपुर - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणपछि चर्चामा आएको ‘रामायण सर्किट’ विस्तार र विकासका लागि प्रदेश २ सरकार अग्रसर भएको छ। प्रदेश विकासका प्रमुख तीन आधार कृषि, उद्योग र धार्मिक पर्यटन सरकारको प्राथमिकतामा छन्। धार्मिक पर्यटन क्षेत्रको मूल आधारका रूपमा जनकपुरको जानकी मन्दिरलाई लिइएको छ। रामायणमा उल्लेख भएअनुसार प्राचीन मिथिलाको राजधानी जनकपुरधामदेखि भारतको अयोध्यासम्मको प्रसिद्ध धार्मिक स्थानमा भौतिक पूर्वाधार विकास गर्नु रामायण सर्किटको उद्देश्य हो।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतका अनुसार रामायण सर्किटमा पूर्वाधार विकास गरी धार्मिक पर्यटनमा प्रदेश २ लाई नमुना बनाउने योजना छ। प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले केही दिनअघि जनकपुरमा ‘इन्टरनेसनल कन्फरेन्स अफ रामायण सर्किट’ विषयक सम्मेलन आयोजना गरेको थियो। नेपाल तथा भारतका सयभन्दा बढी सरोकारवालाहरू सहभागी सो सम्मेलनमा मुख्यमन्त्री राउत, प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव, प्रदेश सांसद रामआशीष यादव, भारत, बिहारका पूर्वमन्त्री डा. सञ्जय पासमान, संस्कृतिविद् डा. रामऔतार शर्मा, साधवी हेमलतालगायतले जनकपुरलाई रामायण सर्कटको केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावनाबारे चर्चा गरेका थिए।

नेपाल र भारतका विभिन्न प्रान्तसँगै श्रीलंका, म्यानामार, इन्डोनेसिया, थाइल्यान्डलगायत मुलुकलाई जोड्ने प्रस्तावित रामायण सर्किटले विश्वका करोडौं हिन्दु धर्मावलम्बीलाई जनकपुरतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ।

नेपाल र भारतका विभिन्न प्रान्तसँगै श्रीलंका, म्यानामार, इन्डोनेसिया, थाइल्यान्डलगायत मुलुकलाई जोड्ने गरी ‘रामायण सर्किट’ बनाउने अवधारणा हालै सार्वजनिक गरिएको छ। मुख्यमन्त्री राउतका अनुसार प्रस्तावित रामायण सर्किटका लागि भारतका प्रधानमन्त्री मोदीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि कुराकानी भइरहेको छ। ‘यो सर्किट विकासको आधार हो,’ मुख्यमन्त्री राउतले भने, ‘विश्वका करोडौं हिन्दु धर्मावलम्बीलाई जनकपुरमा आकर्षित गर्ने यो योजनाले धार्मिक पर्यटनको प्रवद्र्धनमा मात्र होइन, प्रदेश र मुलुककै आर्थिक विकासमा महत्वपूर्ण योगदान दिनेछ।’

भारत टिकमगढकी महारानी वृषभानु कुँवरीले करिब एक सय २५ वर्षअघि निर्माण गराएको जानकी मन्दिर क्षेत्रलाई विकास गर्न नेपालको राज्य पक्षबाट ध्यान नपुगेको सरोकारवालाहरूको गुनासो छ। जानकी मन्दिरजस्तो विश्वमा ख्यातिप्राप्त धार्मिकस्थल जनकपुरका मठ–मन्दिरहरूलाई विश्व–सम्पदा सूचीमा राख्न संघीय राज्यले आजसम्म पहल नगरेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले भने,। भारत सरकार तथा संघीय सरकारसँग समन्वय गरी दुवै मुलुकमा रामायणले छोएका तीर्थस्थलहरूको पूर्वाधार विकास गरी धार्मिक पर्यटनको प्रवद्र्धन गर्ने गुरूयोजनाअनुरूप काम गर्न प्रदेश सरकार अग्रसर रहेको मुख्यमन्त्री राउतको दाबी छ।

सम्मेलनमा त्रेताकालीन रामायणको केन्द्रबिन्दु रहेको जनकपुर राज्यपक्षको चरम विभेदमा परेकै कारण विकासमा पछि परेको, नेपाल ज्ञानी, दानी, वाणी र पानीमा धनी राष्ट्र भए पनि त्यसको सदुपयोग गर्ने दीर्घकालीन सोच अभाव रहेको, प्राकृतिक सौन्दर्य र धार्मिक स्थलबारे विश्व हिन्दु समुदायबीच चर्चा रहे पनि नेपालले पर्यटनमैत्री पूर्वाधार बनाएर पर्यटकलाई आकर्षित गर्न नसकिरहेकोलगायत टिप्पणी गरिएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुर भ्रमण गरेपछि भारतीय पर्यटक जनकपुर आउने क्रम बढेको छ। प्रदेश २ सरकारले रामायण सर्किटको सन्दर्भलाई प्राथमिकतामा राख्दै जनकपुरका मठ–मन्दिरको सौन्दर्यीकरण र पूर्वाधार विकाससम्बन्धी विशेष परियोजना अघि बढाएकाले केही महिनाभित्रै जानकी मन्दिर क्षेत्रको स्वरूप फेरिएको महसुस गर्न सकिने प्रदेश सरकारको अपेक्षा छ।

प्रकाशित: १२ श्रावण २०७६ ०१:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App