१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

भुत भेटे अटोग्राफ माग्थेँ

टेलिसिरियल ‘क्याटमान्डु’ हुदैँ दर्जनौँ नेपाली फिल्ममा एक्सन हिरोको रुपमा आएका अभिनेता सविन श्रेष्ठसँग भोला अधिकारीले गरेको गरेको क्याजुअल कुराकानीः

अभिनेता नबन्नुभएको भए?
म अभिनेता नभएको भए सायद व्यापारी हुन्थेँ होला। जुनसुकै व्यापार गरेको भए पनि पनि कहलिएको व्यापारी त पक्कै बन्थेँ।

कसको प्रेरणाबाट फिल्म क्षेत्रमा आउनुभयो?
यसमा निर्देशक उज्ज्वल घिमिरे, लय संग्रौला, अभिनेत्री रेखा थापा, निर्माता छवि ओझाको माया र प्रेरणाले नै कलाकारितामा आएँ। यसअगाडि म फिल्म क्षेत्रमा आउने सोचमा नै थिइनँ।

पहिलो पटक क्योमरा फेस गर्दा?
मेरो पहिलो क्यामेरा फेस नेपाल टेलिभिजनको सिरियल ‘क्याटमान्डु’ थियो। उक्त सिरियलका लागि मलाई लय संग्रौलाले छान्नु भएको थियो। त्यो बेलामा क्यामेराको अगाडि बोल्न निकै डर लागेको थियो। अरुले सजिलै अभिनय गर्थे। मलाई भने बडो गाह्रो भयो। मनमा कता कता खुसी, कता कता डर, कताकता अरुले के भन्ला भन्ने पीर थियो। मैले अभिनय गर्दा नमिल्ला कि आशंकाले मनमा भुमरी परेको थियो। पछि बिस्तारै बानी पर्दै जान थालेँ।

यसपछि त त्यो सिरियल कसरी ५२ भागसम्म गरेँ भन्ने नै पत्तो भएन। त्यति मजाले काम गरियो। पहिलो क्यामेरा फेस गरेको १७ वर्ष भइसक्यो। त्यसपछि त म फिल्ममा आइहालेँ।

कस्तो फिल्ममा अभिनय गर्न रुचाउनुहुन्छ?
लभ स्टोरीको हिरो भन्दा पनि एक्सन हिरोको रुपमा परिचित छु। कलाकार भएपछि यही मात्र गर्छु भन्ने हुँदैन। विशेष एक्सन र लभ स्टोरी भएको फिल्ममा अभिनय गर्न मन लाग्छ। मलाई एक्सनमा सुहाउँछ र सजिलो पनि लाग्छ। त्यस कारण एक्सन फिल्ममा बढी रुचि छ।

आफूले गर्न चाहेको तर गर्न नसकेको काम?
मैले चाहेर गर्न नसकेको काम भनेको केही छैन। किनभने मैले सक्ने काम मात्र जिम्मा लिन्छु र गर्छु पनि। नसक्ने काम त म सोच्दै सोच्दिनँ। एउटा सपना भने अधुरै छ। म ठूलो बिजनेसमेन बन्ने क्षमताको व्यक्ति हुँ तर फिल्म क्षेत्रमा आएपछि त्यो क्षमता उपयोग हुन सकेको छैन। फिल्मको कामले गर्दा नै मैले त्यता ध्यान दिएको छैन। सानोतिनो व्यापार त गर्न थालेको छु। स्टार मोबाइल, स्टार कार वास जस्ता शो रुम हालै खोलिसकेँ। हेरौँ अब अझ बढाउन सक्छु कि !

पहिलो पटक अभिनय गर्दा तपाईंको कमाइ कति थियो?
पहिलो पटक पारिश्रमिक एक हजार रुपैयाँ पाएको थिएँ। त्यो बेला एक हजार सबैभन्दा राम्रो पारिश्रमिक थियो।

कला क्षेत्रमा के गर्न मन लाग्छ ?
मलाई हिरो मात्र होइन, जुनसुकै खाल्का क्यारेक्टरमा अभिनय गर्न मन लाग्छ। सविन श्रेष्ठ हिरोमा मात्र सन्तुष्ट हुने मानिस होइन। सबै कुरामा फिट छ है भनेर दर्शकलाई देखाउन चाहन्छु। कलाकार भएपछि सबै किसिमको भूमिकामा अटाउनुपर्छ भन्ने लाग्छ। त्यस कारण मैले अहिले गरेको भूमिकाभन्दा फरक अभिनय गर्न मन लागेको छ। चाहे त्यो नेगेटिभ होस् या पोजेटिभ।

जीवनको कुनै त्यस्तो समय छ, जसलाई तपाईं फेरि जिउन चाहनुहुन्छ?
मलाई १७ वर्ष अगाडिको समय पुनः जिउन मन छ। कलाकारितामा भर्खर आएको थिएँ। सबैको प्रिय बन्न सकेको थिएँ। सबैले कस्तो राम्रो अभिनय गरिस् भनेर तारिफ गर्थे। त्यो बेलाको छुट्टै मजा थियो। पाएँ भने फेरि म त्यो टिन एजमा फर्कन चाहन्छु।

कस्ता कुराले तपाई खुसी बनाउँछ?
मलाई  स–साना कुराहरुले खुसी बनाउँछ। मलाई खुसी हुन केही ठूलो कुरा चाहिँदैन। म सुटिङमा गएको बेला सबैसँग बोल्न हाँस्न मन पर्छ। म एक्लै त्यत्तिकै बस्न सक्दिनँ। काम गर्दा पनि हँसाइरहन्छु। मलाई यस्तै स–साना कुराले खुसी बनाइरहेको हुन्छ।

कस्तो कुराले चित्त दुःछ?
मलाई झूट बोल्यो भने सारै चित्त दुख्छ। कोही मान्छेले यतिखेर म तँलाई भेट्न आउँदैछु  भन्छ तर आएन भने त्यो बेला झ्वाँक चल्छ। दिनभरि उसैलाई पर्खेर बस्नुपर्ने अवस्था आएपछि त झन् तनाव हुन्छ। आफ्नो कति वटा काम हल्ट भइरहेको हुन्छ। त्यसैले  झूट बोल्ने मान्छे मलाई मन पर्दैन र झूटो कुराले मलाई चित्त पनि दुख्छ।

तपाईंलाई अलिक फरक प्रश्न गर्न चाहान्छु। यदि तपाई एक्लै सुतिरहेको रुममा एक्कासि भुत प्रकट भयो भने सबैभन्दा पहिला के गर्नुहुन्छ?
म त भुतसँग पहिलो पटक नै अटोग्राफ लिन्थेँ। किनभने मैले अहिलेसम्म भुत नै देखेको छैन। फिल्मतिर देखेको छु। मान्छेको मुखबाट भुत देखेको, भेटेको कुरा सुनेको छु तर भुत कस्तो होला भनेर कल्पना गर्छु। भेटेँ भने तर्सिन्छु तर्सिन्न थाहा छैन र त्यति बेला नै थाहा होला तर पहिलो काम अटो लिने नै हुन्थ्यो होला।

तपाईलाई एकदिनको लागि नेपालको प्रधानमन्त्री बनाइयो भने पहिलो काम के गर्नुहुन्थ्यो?
सबैभन्दा पहिला त युवालाई कसरी रोजगार दिने भन्नेमा ध्यान दिन्थेँ। त्यसपछि पाँच वर्षसम्म म कसरी प्रधानमन्त्री बनिरहन सक्छु भनेर सोचेर बस्थेँ होला। नेपालमा के के कुराको अभाव छ र कसरी त्यसलाई पूरा गर्न सकिन्छ भनेर मन्त्री लगायतका उच्च तहका मान्छेहरुसँग छलफल गर्थेँ। यो भन्दा अर्को काम केही गर्दिनँ होला।

प्रेम प्रस्ताव कत्तिको आउँछ?
प्रेम प्रस्ताव मलाई पहिलादेखि नै आउँथ्यो। अहिले पनि उत्तिकै आउने गर्छ। फिल्ममा आएदेखि नै त्यस्तो प्रस्ताव दैनिक रुपमा पाउँथेँे। पछिल्लो समय भने अलिक कम छ। आउन चाहिँ आइरहन्छ।

तपाईंका गोप्य कुरा, जुन दर्शकलाई थाहा छैन?
मलाई अरु केही कुरादेखि डर लाग्दैन तर सर्प देखेपछि भने म आत्तिइहाल्छु। सर्प देखेको रातभरि सुत्न पनि सक्दिनँ। सायद दर्शकलाई यो कुरा थाहा छैन होला।

सबैभन्दा बढी रोएको क्षण?
सबैभन्दा धेरै रोएको क्षण भन्दा बुबाको मृत्यु हुँदा नै हो। २०७२ सालको भूकम्पपछि मेरो बुबा खस्नुभयो। यो बेला सबैभन्दा धेरै रोएँ। जीवनमा यो भन्दा धेरै कहिलै रोएको थिइनँ।  

प्रकाशित: ११ श्रावण २०७६ ०८:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App