१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

खाेटाङका सिडिओ र प्रहरीविरुद्ध उजुरी

खोटाङ– खोटाङका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा अमानवीय व्यवहार, कुटपिट तथा यातनासम्बन्धी उजुरी परेको छ।

गत साउन ४ गते दिक्तेल बहुमुखी क्याम्पसमा सञ्चालन भएको लोकसेवा आयोगको पाँचौं तहको प्रश्नपत्र च्यातेकामा निर्घात कुटिएका नेपाल आदिवासी जनजाति महासंघ खोटाङका सचिव रबिन खम्बू र सह–सचिव एलबी मगरले प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्यय र जिल्ला प्रहरी कार्यालयविरुद्ध आयोगमा उजुरी दिएका हुन्।

परीक्षा केन्द्रमा रहेका प्रजिअ उपाध्यायको निर्देशनमा प्रहरीले नियन्त्रणमा लिएर बन्दुकको कुन्दाले हिर्काएर चरम यातना दिएकाले कारबाही माग गर्दै राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नम्बर–१ शाखा कार्यालय दिक्तेलमा शुक्रबार उजुरी दर्ता गराइएको सचिव खम्बूले बताए।

प्रहरीको कुटपिटबाट उनीहरुको पीठ्यूँका अधिकांश भागमा निलडाम भएको थियो। चरम यातना दिइएको गुनासो आएपछि मानव अधिकार आयोगको टोलीले साउन ५ गते प्रहरी हिरासतमा रहेका सचिव खम्बू र सह–सचिव मगरलाई भेट गरेको थियो।

संविधानको व्यवस्थाविपरीत लोकसेवा आयोगले आरक्षण कोटा हटाएको विरोधमा नेपाल आदिवासी जनजाति महासंघ एवम् आदिवासी जनजाति संघसंगठनले आव्हान गरेको आन्दोलनअन्तर्गत उनीहरू लोकसेवाको परीक्षा बिथोल्न परीक्षा केन्द्र पुगेका थिए। उनीहरूसँगै आन्दोलनमा सहभागी दलित विकास मञ्च खोटाङका अध्यक्ष मिलन चाहार र कोषाध्यक्ष सविना परियारलाई पनि प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका चारैजनालाई आगामी दिनमा त्यस्ता कमजोरी नगर्ने शर्तमा तीन दिनपछि छाडिएको थियो।

पक्राउ परेका आन्दोलनकारीलाई प्रहरीले निर्घात कुटपिट गरेर अमानवीय व्यवहार गरेको भन्दै समाजवादी पार्टी नेपाललगायत दलित तथा जनजाति संघसंस्थाले विज्ञप्ति निकालेर दोषीमाथि छानबिन गरी कारबाही गर्न माग गरेको थियो।

आएको उजुरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नम्बर–१ शाखा कार्यालय दिक्तेलका निमित्त प्रमुख सुमित्रादेवी राईले बताइन्।

प्रकाशित: ११ श्रावण २०७६ ०५:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App