१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

ओरिघीद्वारा लय निरन्तरताको आशा

लन्डन, – लिभरपुललाई गत सिजन च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका डिभोक ओरिघीले यस सिजन पनि सोही लयलाई निरन्तरता दिने आशा व्यक्त गरेका छन्।

२४ वर्षे ओरिघीले गत सिजन डिसेम्बरअघिसम्म प्रिमियर लिगमा कुनेै खेलमा पनि अवसर पाएका थिएनन् र उनले जनवरीमा एन्फिल्ड छोड्ने खबरसमेत सार्वजनिक भएको थियो। तर सेमिफाइनलमा बार्सिलोना र फाइनलमा टोटेनह्यामविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका ओरिघीले क्लबसँग लामो अवधिका लागि सम्झौता गरिसकेका छन्।
ओरिघी नयाँ सिजनमा सुरुआती रोजाइमा पर्ने सम्भावना रहेको समेत बताइएको छ। पहिलो रोजाइका स्ट्राइकर साडियो माने, मोहम्मद सालाह र रोबर्टो फिर्मिनो क्रमशः अफ्रिकन कप अफ नेसन्स र कोपा अमेरिकाका कारण लिभरपुलको प्री सिजन भ्रमणमा छैनन्। माने अगस्ट ४ मा हुने कम्युनिटी सिल्डपछि मात्र टोलीमा फर्कने बताइएको छ। ‘नयाँ सिजनमा अझै धेरै सफलता हात पार्न बाँकी छ,’ ओरिघीले भने, ‘फुटबलको विशेषता भनेकै यही हो। च्याम्पियन्स लिग जित्नु सपना थियो र त्यो पूरा भएपछि मेरो खेलाडी जीवनमा धेरै परिवर्तन आइसकेको छ। गत सिजन मेरा लागि उत्कृष्ट रह्यो। अहिले अभ्यास पनि राम्रो भइरहेको छ। म अझै आफूलाई प्रमाणित गर्न चाहन्छु।’

२०१७–१८ सिजन बुन्डेसलिगा क्लब उल्फसबर्गमा लोनमा बिताएका ओरिघी गत सिजनको सुरुआतमा हडर्सफिल्ड र उल्भरह्याम्पटन जाने खबर सार्वजनिक भएको थियो। गत सिजन एभर्टनविरुद्धको खेलमा पहिलो पटक अवसर पाएका ओरिघीले टोलीका लागि विजयी गोल गरेका थिए भने न्युक्यासल युनाइटेडविरुद्ध पनि बललाई जाली चुमाएका थिए। लिभरपुलले दोस्रो स्थानमा बस्दै सिजनको अन्त्य गरेको थियो। उनले आइतबार सेभियाविरुद्ध पराजित भएको मैत्रीपूर्ण खेलमा समेत गोल गरेका थिए। ओरिघीले एन्फिल्डमै बस्ने जोखिम मोलेको र त्यसले सुखद परिणाम दिएको बताएका हुन्।

‘म क्लबलाई अझै केही योगदान दिन सकिन्छ कि भनेर क्लबमा बसेको हुँ,’ उनले भने, ‘मैले सही निर्णय गरेजस्तो लाग्छ। आशा छ नयाँ सिजनको सुरुआती खेलबाटै टोलीमा स्थान बनाउनेछु। हामीले यत सिजनभन्दा सुधारिएको प्रदर्शन गर्नेमा म विश्वस्त छु।’ ‘म अहिले कसरी आफ्नो क्षमता प्रमाणित गर्ने भन्नेमा केन्द्रित छु। फुटबलमा ग्यारेन्टीका साथ केही भन्न सकिन्न। मैले जे निर्णय गरें त्यसमा मलाई गर्व छ।’ लिभरपुलले बुधबार लिस्बनसँग २–२ को बराबरी खेलेको थियो।

 

प्रकाशित: १० श्रावण २०७६ ०२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App