१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

सूर्य दर्शनको महत्व

दीपावलीको ठीक ६ दिनपछि पर्ने छठ पर्वको हिन्दु धर्ममा विशेष महत्व र महिमा रहिआएको छ । कात्तिक महिनाको शुल्क पक्ष षष्ठी तिथिमा पर्ने भएकाले नै यसलाई छठ पर्वका रूपमा नामकरण गरिएको पाइन्छ । छठको दिन बिहानै सच्चा मनले सूर्य दर्शन गर्नाले र व्रत राख्नाले मनोकांक्षा पूरा हुन्छ र ती नारीको घरमा श्रीसम्पत्ति लाभ प्राप्त हुन्छ भन्ने मान्यता छ । पूजा, आराधना र व्रत महिलाले नै गर्छन् भन्ने मान्यतालाई परम्पराले नियमितता दिँदै आएको छ । सही पनि हो किनभने भक्तिभावले भरिएको गुण र मार्ग महिलाले अस्तित्वबाटै पाएको स्वभाव  हो ।

षष्ठी अर्थात् छठ पर्वलाई नारी शक्तिको महत्व दिँदै छठ देवी सूर्य भगवानकी बहिनीका रूपमा मानिन्छ  र पवित्र नदी, गंगा किनारमा आराधना पूजा अर्चना गरिनुले सूर्य र जलको सम्बन्ध, मानव जीवनमा सूर्य र जलको आवश्यकता र महत्वलाई सँगसँगै वर्णन गर्न खोजिएको पाइन्छ । हुन पनि मानव जीवनमा आवश्यक पञ्च तत्वमध्ये सूर्य र जल अपरिहार्य तत्व हुन् त्यसैले होला यी दुई तत्वप्रति भक्ति भाव र अहोभाव व्यक्त गर्नका लागि महिला पञ्चमीका दिन १ छाकमात्र नून खाएर षष्ठीको दिन निराहार व्रत बसेर नदी किनारमा पूजा आराधना गर्दै सप्तमीका दिन बिहानको सूर्योदयको दर्शन गरी अर्घ चढाएपछि छठ पूजा सम्पन्न हुन्छ ।

सबै पूजा, व्रत र चाडपर्व कुनै न कुनै देवीदेवताको नाम जोडिएर आउँछन् र पूजा प्रार्थनाको प्रसंग जोडिएर आउँछन् । यसको अर्थ हो– हामी मानवले गरेका सबै कर्म पूर्ण हँुदैनन् र अस्तित्वको, परम सत्ताको सहायता,  उसको कृपा हरदम हाम्रो जीवनमा आवश्यक छ । त्यसैले हामी प्रार्थना गर्छाैं र व्रत बस्छौँ । त्यसमा पनि उज्यालोको प्रतीक सूर्यको आराधनाले जीवनका अन्धकार मेटिएर जीवनमा उज्यालो अर्थात् सुख प्राप्त हुन्छ भन्ने छ किनकि सूर्य सत्यको प्रतीक हो र सूर्यको आराधना गर्नु भनेको हाम्रो जीवनमा भित्रबाट अझै पनि अन्धकार छ त्यो हटोस् भन्ने बोध हो । प्रार्थनाले तुरुन्तै फल नदेला तर व्रत बस्दा हुने चित्त शुद्धि र पूजाले पूजा गर्ने व्यक्तिमा क्षणिकरूपमै भए पनि मन शान्त हुन्छ र चेतनाको स्तरबाट पनि आफूलाई सकारात्मक भएको अनुभूति मिल्छ ।

बाहिर ब्रह्माण्डको तेजोमय सूर्यले जसरी संसारभर प्रकाश प्रदान गरेको छ त्यसैगरी हरेक मानवभित्रको ब्रह्माण्डमा पनि आन्तरिक सूर्य छ जसको प्रकाशले मात्र मानव जीवन शान्त र आनन्दित बन्छ । चेतनाको स्तरबाट प्रकाशमय हुनासाथ मानव जीवनका सबै अन्धकार मेटिएर जानेछन् । ज्ञानी, मुनि र सन्तहरुको मत पनि यही छ कि मानवभित्र चेतनाको स्तरबाट आफूलाई शान्त पाएको छ भने उसमा दिव्य प्रकाशको बोध भइसकेको मानिन्छ । बाहिरको उज्यालोले क्षणिक प्रकाश दिन्छ तर भित्र अन्धकार मात्रै महसुस हुन्छ । भित्रको दीप जल्न सकेमात्र भित्रको ब्रह्माण्ड तेजोमय हुन्छ, सारा अन्धकार र अहंकार बिलाएर जान्छन् । सूर्यको पूजा आराधना गर्नुको अर्थ यही हो कि त्यो प्रकाशमय दिव्यता हामी सबैभित्र घटित होस । हामीभित्र अन्धकार र अहंकारमय तत्वले बास नगरोस । हाम्रो चेतना सूर्यको प्रकाशसँग गहिराइमा जोडिएको छ ।

जब चेतनाको स्तरबाट हाम्रो भित्रको प्रकाश सूर्यको जस्तो तेजिलो बन्दैन तबसम्म भित्रको अन्धकार मेटिँदैन । जसरी सूर्यले सत्रु–मित्र, धनी–गरिब, आफ्नो–अर्को नभनी, कसैलाई भेदभाव नगरी आफ्नो प्रकाशले सृष्टिका हरेक प्राणीलाई प्रकाश छरेको छ मानवले पनि कसैलाई भेदभाव नगरी समानरूपी प्रकाश, प्रेम र ज्ञान छर्न सकोस् भन्ने भाव यसमा छिपेको छ । मानव जातिले नै त्यो भावलाई व्यवहारमा उतार्न जरुरी छ अन्यथा पूजा प्रार्थनाले मात्र स्वभावगतरूपमा परिवर्तन आउने छैन । सूर्यको प्रकाश र यसको गतिलाई सन्तहरुले उत्तरायणको प्रतीक मानेका छन् किनकि सूर्यतिर अनुहार फर्काउनाले अनुहारमा छायाँ पर्दैन, त्यसैगरी चेतनाको स्तरबाट हामीमा प्रकाशमय ज्ञान प्राप्त भएमा दुःखरूपी अन्धकारले बास गर्न पाउँदैन ।

सूर्य दर्शन, सूर्यतिर फर्कनुको अर्थ हो– परमात्माको दर्शन, गुरुको दर्शन अर्थात् अस्तित्वको दर्शन र अस्तित्वसँग तादात्म्यता राख्न खोज्नु अर्थात् परम तत्वसँग नजिकिन खोज्नु । परमतत्वसँग नजिकिनासाथ भित्रको प्रकाश बोध हुन्छ र सारा दुःखबाट मुक्ति पाएको अनुभूति हुन्छ । बाहिरी  सूर्यको दर्शन र अर्घ चढाउनुको तात्पर्य हामीभित्र रहेको सूर्यको खोज पनि जारी होस् र परम प्रकाशले हाम्रो चेतना जागृत गरोस् अनि मानव आफँैले आर्जित गरेका दुःखबाट मुक्त होस् भन्ने आशय हो । हामी बाहिर देखिएजस्तै सुन्दर, खुसी, प्रेमल र करुणादायी छौं कि छैनौं ? बाहिर गर्ने व्यवहार र भित्री व्यवहार उस्तै छ कि छैन ? हामी अरुको प्रशंसा गर्न र आफ्नो आलोचना सहन सक्छौं कि सक्दैनौं ? आफैंले आफँैलाई प्रश्न गर्नु र भित्रबाट आफूमा प्रकाश जागेको छ कि छैन बोध गर्नु महत्वपूर्ण पक्ष हो ।

 

प्रकाशित: २१ कार्तिक २०७३ ००:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App