१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

समाजवादी–राजपा एकता नजिक पुगेको संकेत

प्रदेश पार्टी समायोजन घोषणा कार्यक्रममा यादव र भट्टराईलगायत। तस्बिरः सुरेश यादव/नागरिक

जनकपुर– समाजवादी पार्टी केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा) सँग पार्टी एकताको लागि भइरहेको छलफलले सकारात्मक दिशा लिएको र केही दिनभित्रै टुंग्याउने संकेत गरेका छन्।

बुधबार जनकपुरमा आयोजित ‘समाजवादी पार्टी मधेस प्रदेश समितिको प्रादेशिक समायोजना घोषणा कार्यक्रम’लाई सम्बोधन गर्दै यादवले भने, ‘संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकता सम्पन्न भयो, पार्टी विस्तारको यो सुरुआत हो। अन्य धेरै दलसँग पनि सकारात्मक छलफल चलिरहेको छ।

केही दिनभित्रै अर्को पार्टीसँग एकता हुने छाँटकाँट पनि देखिँदैछ।’ कुन पार्टीसँगको छलफल एकता नजिक पुगेको उनले त्यहाँ खुल्न नचाहे पनि उनी निकट एक नेताले भने, ‘समाजवादी पार्टी र राजपाबीच पार्टी एकताको छलफल निष्कर्ष नजिक पुगिसक्यो, परिणाम चाँडै सुन्न पाउनुहुनेछ।’

स्रोतको अनुसार समाजवादी पार्टी र राजपाबीच पार्टी एकताका लागि राजपाको तर्फबाट महन्थ ठाकुरलाई पहिलो वरियता दिनुपर्ने प्रस्ताव आएको छ। अहिलेसम्म चलेको दुई पक्षीय छलफलको क्रममा पार्टी महाधिवेशन नभएसम्मको लागि दुवै तर्फबाट दुई/दुई गरी चार जना सदस्य रहनेगरी अध्यक्ष मण्डल राख्ने विषयमा दुवै पक्ष सहमति नजिक पुगेको छ।

यो सहमति कार्यान्वयन भए समाजवादी पार्टीबाट डा.बाबुराम भट्टराई र उपेन्द्र यादव तथा राजपा तर्फबाट महन्थ ठाकुर र राजेन्द्र महतो अध्यक्ष मण्डलमा बस्ने तथा राजपाका अन्य चार अध्यक्षलाई वरिष्ठ नेताको स्थान दिनेगरी छलफल चलिरहेको स्रोतले जनायो।

राजनीतिक प्रसंगमा यादवले संघीयताको संस्थागत गर्न पहिलो संविधानसभाले गठन गरेको राज्य पुनर्संरचना आयोगद्वारा सिफारिस प्रतिवेदन कार्यान्वयनको विकल्प नरहेको जिकिर गरे। ‘नेपालको वर्तमान संघीयता आधारविहीन भयो। आधारहीन संघीयता टिक्नै सक्दैन’, उपप्रधान एवं स्वास्थ्य मन्त्रीसमेत रहेका यादवले भने, ‘अर्थपूर्ण संघीयता कायम गर्न त्यसबेलाको आयोगले सिफारिस गरे बमोजिम ११ प्रदेश निर्धारण गरिनुपर्छ। समाजवादी पार्टीले संविधान संशोधनको माध्यमले त्यो लागू गराउन संघर्ष जारी राखेको छ।’

मन्त्री यादवले लोकसेवा आयोगको गतिविधिबाट नेपालको लोकतन्त्र धरापमा रहेको छर्लंग भएको बताए। संसदीय राज्य व्यवस्था समितिको निर्देशनविपरीत लोकसेवा आयोग अघि बढ्नुको मतलब संसदीय व्यवस्था निकै कमजोर साबित भएको उल्लेख गर्दै यादवले भने, ‘यही संसदीय व्यवस्थाले मुलुक अघि बढ्न सक्दैन। जाबो लोकसेवा आयोगसँग लड्नुको अर्थ रहेन। अब, प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुको पनि विकल्प छैन।’

प्रदेशमा पार्टीको ७० सदस्यीय कार्यसमिति
दुई महिनाअघि प्रदेश अधिवेशन सम्पन्न गरेको तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच बुधबार प्रदेश २ मा समायोजन घोषणा भएको छ। दुई पुरानो पार्टी मिलेपछि पूर्वफोरमका केन्द्रीय कोषाध्यक्षसमेत रहेका प्रदेश अध्यक्ष विजय यादवको अध्यक्षतामा ७० सदस्यीय समाजवादी पार्टीको प्रदेश समिति घोषणा गरिएको छ।

पार्टीको उपाध्यक्षमा रामपृत पासमान, सुशील यादव र उर्मिला साह गरी तीन जनालाई चयन गरिएको छ। मुख्य सचिवमा शम्भु झा र सचिवमा दिनेशकुमार यादव, ज्ञानेन्द्रकुमार यादव तथा रामकैलाश यादवलाई चयन गरिएको छ। प्रदेश कोषाध्यक्षमा सिरहाकी रेणु यादवलाई राखिएको छ। अन्य ६१ जनालाई सदस्य चयन गरिएको पार्टी उपाध्यक्ष तथा प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले जनाए।

प्रकाशित: ९ श्रावण २०७६ ०६:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App