१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रोल्पामा ७३ करोड ८१ लाख बजेट फ्रिज

कोष तथा लेखा नियन्त्रक कार्यालय रोल्पा।

रोल्पा - बिगतका वर्षजस्तै यसपाली पनि रोल्पामा ठुलो रकम खर्च हुन नसकेपछि फिर्ता गएको छ। गत आर्थिक वर्षमा रोल्पाबाट ७३ करोड ८१ लाख ८१ हजार बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कले देखाएको छ। चालु र पुँजीगत गरि ४ अर्ब ८७ करोड २१ लाख ५४ हजार बजेट रहेकोमा ४ अर्ब १२ करोड ३९ लाख ७३ हजार मात्र निकासा भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको हो।

पुँजीगत शिर्षकमा संघतर्फ आएको ९९ करोड ६२ लाख ८१ हजार बजेट मध्ये ५७ करोड ३१ लाख १ हजार १ सय ८१ अर्थात ५७ प्रतिसत मात्र खर्च गरिएको छ। सहिद मार्ग सडक आयोजनाको मात्रै २२ करोड बढि बजेट फिर्ता गएको छ। ६१ करोड ११ हजार बजेट रहेकोमा ३९ करोड ७७ लाख ७४ हजार २ सय २८ रुपैया मात्र खर्च भएको हो। त्यसै गरि ग्रामिण सडक सञ्जाल सुधार आयोजनाको २२ करोड २७ लाख ५७ हजार बजेट रहेकोमा ३ करोड ९३ लाख १३ हजार ५ सय ९४ रुपैया मात्र खर्च भएको छ। कार्यालयले समयमा काम नगर्दा जिल्लामा आएको ठूलो रकम फ्रिज भएको स्थानीयको गुनासो छ।

कोष तथा लेखा नियन्त्रण कार्यालय रोल्पाले दिएको तथ्याङ्क नमिलेको दाबी गर्दै सहिदमार्ग सडक आयोजनाका प्रमुख साधुशरण पुर्बे भन्छन्, ‘होलेरी दारबोट सडक कालोपत्रे डिपिआर र आईईए नबन्दा काम गर्न सकिएन। पुलको काम पनि भएन।’ उनकाअनुसार २२ करोड नभएर १३ करोड जति मात्र फ्रिज भएको हो। त्यसो त ग्रामिण सडक संजाल सुधार आयोजनाका प्रमुख मोहदत्त भट्ट पनि कोलेनिकाले भने जस्तो नभई १२ करोड बजेटमा ३ करोड मात्र खर्च भएको बताउँछन। उनले भने ‘वनको स्वीकृती समयमा नआउनु र ठेकेदारको ढिला सुस्तीले प्रगति नभएको हो।’

प्रदेशतर्फको पुँजीगत खर्च पनि धेरै फिर्ता गएको छ। माडी लुङग्री कोरीडोर सिचाई आयोजनाले ६ करोड बजेट पाएकोमा ३ करोड ९१ लाख मात्र खर्च गरेको छ। कार्यालयमा कार्यरत प्रमुख र सबईन्जीनियरलाई अख्तीयारले मुद्धा चलाएपछि यो कार्यालयको काम तङ्गभङ्ग भएको हो। प्रदेशतर्फको २५ करोड ८० लाख ४४ हजार बजेट रहेकोमा २० करोड ९ लाख ५३ हजार मात्र खर्च भएको छ।

प्रदेश तिरको चालु बजेट भने १९ करोड ९ लाख ४६ हजार बजेट रहेकोमा १५ करोड ९५ लाख ५ हजार खर्च भएको छ। त्यसैगरि संघ तिरको चालु बजेट ३ अरब ४२ करोड ६८ लाख ७४ हजार रहेकोमा ३ अर्ब २० करोड ४ लाख २३ हजार मात्र खर्च भएको छ।
एक कर्मचारीका अनुसार समयमा काम नहुनु, कर्मचारीको फेरबदल हुन, जनप्रतिनिधिहरु गैर जिम्मेवार हुनु बजेट फ्रिज जानुका मुख्य कारण हुन्।

प्रकाशित: ९ श्रावण २०७६ ०६:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App