१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘डटर अफ नेपाल’ मा भूमिगत अस्मिताको कथा

काठमाडौं - भारतकी फिल्म मेकर सुरभी देवान अहिले नेपालमा डकुमेन्ट्री ‘डटर अफ नेपाल’ लिएर आएकी छिन्। सशस्त्र द्वन्द्वमा भूमिगत भएका अभिभावककी एकमात्र छोरी अस्मिताको कथामा आधारित ‘डटर अफ नेपाल’ नामक डकुमेन्ट्री राजधानीको विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ। सन् २००९ मा खिचिएको उक्त डकुमेन्ट्री मूख्य पात्र अस्मिता अर्थात मानुषी भट्टराई अहिले नेपाली राजनीतिमा आवद्ध छिन्। १० वर्षपछि पहिलो पटक नेपालमा प्रर्दशन भइरहेको डकुमेन्ट्री लिएर निर्देशक सुरभी र मानुषी राजधानीका विभिन्न स्थानमा पुगिरहेका छन्।

निर्देशक सुरभी र मानुषी लेडी श्रीराम कलेजमा सँगै राजनितीशास्त्र पढ्ने साथीहरु हुन्। कलेज अध्ययनका क्रममा मानुषीको नाम थियो,अस्मिता। कलेज जीवनको स्मरण गर्दै निर्देशक सुरभी भन्छिन्, ‘कलेजमा हामी सामान्य चिनजानका साथी थियौँ। मिलनसार साथीको भूमिगत अभिभावककाबारे थाहा भएपछि उनीप्रति मेरो सम्मान बढेको थियो।’ कलेजको साथीको कथावस्तुलाई डकुमेन्ट्रीमा उतार्न पाउँदा खुसी भएको उनले बताइन्।

निर्देशक सुरभीलाई मानुषीको अभिभावककाबारे थाहा पाउन धेरै समय लाग्यो। ‘तीन वर्षे अध्ययन सिध्याएपछि बल्ल मानुषी नेपालमा जारी द्वन्द्वका कारण गोरखपूरमा भूमिगत रहेका तत्कालिन नेता बाबुराम भट्टराईकी छोरी भन्ने थाहा भयो। एउटै कलेज पढ्ने साथी अस्मितानै मानुषी हो भन्ने थाहा पाएर म दंग परेको थिए,’निर्देशक सुरभी स्मरण गर्छिन्। तीन वर्षे अध्ययन सिध्याएपछि सुरभी फिल्म मेकिङ पढ्न अमेरिका उडिन्। फिल्म मेकिङको अध्ययन पुरा गर्नुअघि थेसिसका लागि डकुमेन्ट्री बनाउनुपर्ने थियो। तर, उनीसँग राम्रा कथाहरू थिएनन्।  

‘अस्मिता र मानुषी एउटै पात्र थिए। नेपालमा जारी द्वन्द्वका कारण गोरखपूरमा भूमिगत रहेका तत्कालिन नेता बाबुराम भट्टराईकी छोरी मानुषीको कथाबारे थाहा भएकाले फिल्म बनाउन मन लागेको थियो, ’ निर्देशक सुरभीले भनिन्,‘यो डकुमेन्ट्रीको निर्देशन आफूै गर्छु भन्ने योजना बनाएको थिए।’ अभिभावकजस्तै मानुषीपनि भूमिगत बसेको कुराले सुरभीलाई भावुक बनाएको थियो। ‘थेसिसको बनाउनु पर्ने डकुमेन्ट्रीमा आफ्नो कथा उतार्न मानुषीले अनुमति दिएपछि सन् २००९ मा यो तयार भएको थियो,’ सुरभीले भनिन्, ‘मानुषीले कथालाई डकुमेन्ट्रीमा उतारेपछि पब्लिक स्क्रिनिङ नगर्ने सर्त राखेकी थिइन्।’

डकुमेन्ट्रीमा तत्कालिन नेकपा माओवादीका नेता बाबुराम भट्टराई र हिसिला यामीकी एक्ली सन्तान मानुषी अभिभावकबाट टाढाको मनोविज्ञान केन्द्रित गरिएको छ। डकुमेन्टीमा बाल्यकालमा अभिभावकबाट छुटिएर बस्दाका मार्मिक दृश्यहरू समावेश गरिएको छ। ३४ मिनेट लामो डकुमेन्ट्रीमा भूमिगत नेतृ हिसिला यामीलाई साहसी आमाको भूमिकामा देखाइएको छ। द्वन्द्वको चपेटामा परेको अवस्थामा भूमिगत भएर बस्दा छोरी हुर्काउने जिम्मेवारीसँगै ज्यान बचाउनु परेको यथार्थ देखाइएको छ।

मंगलबार राजधानीको मन्डला थिएटरमा ‘डटर अफ नेपाल’ डकुमेन्ट्री हेरेर डा.बाबुराम भट्टराई र हिसिला यामी भावुक भएका थिए। ‘यो डकुमेन्ट्रीले द्वन्द्वकालको स्मरण गराइदियो। जीवन र मरणको समयमा छोरीलाई अभिभावकको माया दिन सकिएन्,’ नेतृ यामीले भनिन्,‘हामीलाई केही भयो भने के गर्छौ भनेर छोरीलाई प्रश्न गर्दा, म असाधारण भैसकेकी छु। कुनै प्रतिकृया दिन सक्दिन भन्ने उत्तर पाउँदा निकै भावुक भएको थिए।’

द्वन्द्वकालिन नेपालको यथार्थ चित्रणको मुल्यांकन गरेकोमा धन्यवाद दिदै डा. बाबुराम भट्टराईले मानुषी र सुरभीलाई बधाई दिए। मानुषी जन्मिएपछि आफूले विसं.२०४२ सालमा ‘डटर अफ कार्ल माक्स्’ पुस्तक उपहार दिएको विगतलाई उनले सम्झिए।

डकुमेन्ट्रीमा आफ्नो जीवनका विभिन्न क्षणहरू समावेश भएको प्रतिक्रिया नेतृ मानुषीले दिइन्। ‘जीवनमा हरेकको आ–आफ्नै भोगाई हुन्छ। यो डकुमेन्ट्रीमा मेरोमात्र नभएर सुरभीका भोगाइहरू पनि समावेश छन्,’ उनले भनिन्,‘अन्तर्वाता शैलीमा सोधिएका प्रश्नहरुको उत्तर र मैले महसुस गरेको भावनाहरुलाई डकुमेन्ट्रीमा उतार्न खोजिएको थियो।’ यसको पब्लिक प्रदर्शन नगर्ने सर्तमा तपाईले आफ्ना कथा उतार्न अनुमति दिनुभएको थियो। फेरि पब्लिक प्रदर्शन किन गरियो ? भन्ने प्रश्नमा उनले भनिन्,‘सन् २००९ मा तयार भएको डकुमेन्ट्री बाहिर प्रदर्शन नगर्न अनुरोध गरेको थिए। मैले डकुमेन्ट्रीलाई पब्लिक प्रदर्शन गर्न नदिएर साथीलाई अनाधार गरेजस्तो महसुस भयो। फेरि सुरभी मेरो साथी मात्र नभएर फिल्ममेकरपनि हुन्। र, उनको मेहनतलाई मैले नदेखाउँ भन्नु गलतजस्तो लाग्यो।’

प्रकाशित: ९ श्रावण २०७६ ०३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App