१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वर्षदिन नपुग्दै बिग्रियो मेसिन

साना जलविद्युत् गृहमा जडान गरेको मेसिन। तस्बिरः नागरिक

जुम्ला– साना जलविद्युत् उपभोक्ता समिति जुम्लामा जडान गरिएको मेसिन सञ्चालनको वर्ष दिन नपुग्दै मर्मतका लागि धनगढी पठाउन थालिएको छ। गत पुस महिनामा जडित मेसिनको ‘बेयरिङ’ गएको भन्दै मेसिननै धनगढी पठाउन थालिएको हो।

विद्युत् मर्मतको जिम्मा लिएको ठेकेदारले जुम्लामै इन्जिनियर ल्याएर बनाउन सकिने अवस्था रहँदा रहँदै जिल्ला समन्वय समितिको हलमा बसेको सर्वपक्षीय बैठकले मेसिन मर्मत गर्न धनगढी पठाउने निर्णय गरिसकेको छ।

दीर्घकालीनरूपमा बिजुली समस्या समाधान होला भनेर नयाँ मेसिन जडान गर्न थालिएको भए पनि एक मेसिन जडान नहुँदै बिग्रेको र एक मेसिन जोडेको वर्ष दिन नपुग्दै बिग्रेपछि जुम्ला सदरमुकाम खलंगा अन्धकारमय छ।

साना जलविद्युत् उपभोक्ता समिति जुम्लाका अध्यक्ष विष्णुबहादुर बढ्थापाका अनुसार मंसिर ८ गतेदेखि पहिलो मेसिन खोल्न सुरु भएकोमा १९ गते सम्म मेसिन सेटिङ भइसकेको थियो। जडान गर्ने इन्जिनियर ढिलो आइपुग्दा पुस पहिलो हप्तादेखि एक मेसिनले काम गर्न थालेको थियो। त्यसपछि दुई दिन बराबर एक दिन बिजुली आउन थाल्यो। पहिलो पाँच दिन बराबर एक दिन बिजुली आउँदा आजित भइसकेका स्थानीयले दुई दिन लोडसेडिङ घट्दा निकै राहतको अनुभूति गरेका थिए।

अहिले दुवै मेसिन बिग्रँदा टुकी र दियो बाल्न विवश छन्, नगरवासी। मर्मतको जिम्मेवारी भारतीय ठेकेदार कम्पनी शुभकामना जेभीले पाएको थियो।   अहिले ठेकेदारका एकजना प्रतिनिधि जुम्लामै छन्। पुरानो मेसिन जीर्ण भए पनि   कामचलाउ थियो। नयाँ मेसिन जडान गर्दा झन् अँध्यारो खेप्नु प-यो।

भारतीय ठेकेदार कम्पनीले एक करोड २२ लाख ३४ हजार ६ सय ६० रुपैयाँ भुक्तानी लिन बाँकी छ। जसमा ४५ लाख २२ हजार ९ सय २६ रुपैयाँ विद्युत् समितिले तिर्नु पर्नेछ । भारतीय दूतावासबाट आएको ७७ लाख ११ हजार सात सय ३४ रुपैयाँ बाँकी छ।

जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढा मेसिन मर्मतबारे ठेकेदारसँग परामर्श भइरहेको बताउँछन्। ‘मेसिन बनाउने विषयमा सर्वपक्षीय सहमति भइसकेको छ। अब चाँडोभन्दा चाँडो बिजुली बाल्न सक्ने गरी काम गर्न ठेकेदार कम्पनीलाई दबाब दिने काम भइरहेको छ,’ उनले भने।

प्रकाशित: ८ श्रावण २०७६ १०:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App