१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

विषादी प्रयाेग गरी मारिए १८ लाखका माहुरी

विषादी प्रयोग गरेर मारिएका माहुरी जलाईँदै । तस्बिर सौजन्य:नबिन अभिलाषी

दाङ–स्थानीय किसानले माहुरी पालन व्यवसायमा लगाएको सिण्डिकेट तोड्दै चितवनबाट चराउन दाङ ल्याइएका १८ लाख रुपैयाँ रकम बराबरका माहुरी विषादी प्रयोग गरेर मारिएका छन्। मह उत्पादनको पकेट क्षेत्र दाङमा चराउनका लागि ल्याइएका चितवनका दुई कृषकका ७५ घार माहुरी बिषदी प्रयोग गरी मारिएको हो। पीडितले व्यक्तिगत रिसिइबीका कारण माहुरी मारिदिएको दाबी गरेका छन्।

चितवन भरतपुर ९ शरदपुरका बिष्णु प्रसाद भुसालका ५९ र   भरतपुर १ रामनगरका डा. खेमराज न्यौपानेका १६ घार माहुरी विषादी प्रयोग गरेर मारिएका छन्। पीडितहरुले माहुरीको घारमै विषादी छर्केर माहुरी मारिएको दाबी गरेका छन्। तथापी कसले विषादी प्रयोग गरेर मारेको भन्ने खुल्न सकेको छैन्। मारिएका ७५ घार माहुरीलाई शुक्रबार जलाइएको छ।  ‘घारमै स्प्रे प्रयोग गरेर विषादी हालेर मारिएको छ,’ बिष्णु भन्छन्,  ‘त्यसरी यति ठूलो संख्यामा स्वाहा हुने गरि माहुरी अन्य कुनै कारणले पनि मर्न सक्दैन।’

चितवन भरतपुर ९ शरदपुरका बिष्णु प्रसाद भुसालका ५९ र   भरतपुर १ रामनगरका डा. खेमराज न्यौपानेका १६ घार माहुरी विषादी प्रयोग गरेर मारिएका छन्।

बिष्णुले विगत १५ वर्षदेखि दाङमा माहुरी चराउन ल्याउने गरेका थिए। विगतका वर्षमा यस्तो कुनै समस्या नरहेपनि यस वर्ष भने ठूलै क्षति बेहोर्नु परेको उनले बताए। यस वर्ष उनले २ सय घार माहुरी चराउनका लागि दाङ ल्याएका थिए। ‘मैले दाङमा लामो समयदेखि माहुरी चराउने गर्दै आएँ,’ उनी भन्छन्, ‘तर यसपाला ठूलो नोक्सानी भयो।’ १६ घार माहुरी मारिएका अर्का पीडित डा.खेमराजले पनि विषादी प्रयोग बाहेक अन्य कुनै कारणले माहुरी नमरेको दाबी गर्छन्।

भरतपुर रामपुर कृषि क्याम्पसका प्राध्यापक तथा माहुरीकै बिषयमा पिएचडी गरेका डा.खेमराजले आफ्नो विज्ञता प्रस्तुत गर्दै भने ‘घारमा रहेका माहुरी एउटा पनि नबच्ने गरी मर्नु भनेको विषादी प्रयोग बाहेक अरु केही हुन सक्दैन।’ उनले बाली नालीमा प्रयोग हुने औषधिले माहुरी मर्न सक्ने तर घारै स्वाहा नहुने तर्क गरे। यसबाहेक निस्सासीएर माहुरी मर्न सक्ने अर्को कारण खुलाए। ‘अहिले मरेका माहुरीमा यो कारण देखिँदैन, त्यो केवल रिसिइवीले विषादी प्रयोग गरेर मारिएको हो,’ उनले भने।

माहुरी मरेको बिषयमा माहुरी विज्ञसहितको टोलीले अनुसन्धान थालेको छ। यो टोलीले पनि विषादी प्रयोगबाटै माहुरी मरेको भएपनि कुन औषधि प्रयोग भएको भन्ने बारे एकिन गर्न ‘ल्याब टेष्ट’का लागि कृषि बिभागमा पठाएको छ। औषधि प्रयोग कसले र किन गरेको भन्ने यकिन नभएपनि दाङमा बाह्य जिल्लाका माहुरी व्यवसायीलाई प्रवेश हुन नदिने सिण्डिकेट कै कारण आफूहरुले क्षति बेहोर्नु परेको दाबी पीडितको छ। उनीहरुका अनुसार दाङमा रहेको माहुरी पालक व्यवसायी संघले बाह्य जिल्लाबाट माहुरी चराउन ल्याउनमा अवरोध हाल्ने प्रयास यसअघि नै गरेको थियो।

‘उहाँहरुले बाहिरी जिल्लाबाट माहुरी चराउन ल्याउन नदिने भनेर सम्वन्धित विभिन्न निकायमा पत्राचार गरेको भन्ने पनि सुन्नमा आएको छ,’ डा.खेमराज भन्छन्, ‘शायद हामी बाहिरियालाई चेतावनी दिनका लागि त्यँहीकै केही स्थानीय किसानले यसो गरेको हुनसक्छ।’

मह उत्पादनको पकेट क्षेत्रको रुपमा चिनिएको दाङमा विगत बीस बर्ष देखि बाहिरी जिल्लाबाट माुहरी चराउन ल्याउने गरिएको छ। चितवन,काठमाडौँ, सर्लाही, रुपन्देही, कपिलवस्तु जिल्लाबाट माहुरी चराउन दाङमा ल्याइन्छ। बार्षिक ७ हजार घार माहुरी बाहिरबाट ल्याउने गरिएको दाङमा यसबर्ष भने दुईहजार पाँच सयको हाराहारीमा माहुरी चराउन ल्याइएका थिए।

तोरी खेती बढी हुने र नजिकैको जंगलमा चिउरी पर्याप्त पाइने भएकाले दाङलाई मह उत्पादनको पकेट क्षेत्र मानिएको छ। दाङमा माहुरी पालक किसानहरुलाई माहुरी व्यवस्थापन गर्न अप्ठ्यारो पर्ने भन्दै माहुरी पालक संघ दाङले बाहिरी जिल्लाका व्यवसायीलाई रोक्न चाहन्थ्यो। फलस्वरुप उसले जिल्लाको मध्य भाग नारायणपुर भन्दा पश्चिम क्षेत्रमा माहुरी चराउन नदिने गरी सिण्डिकेटै लागू गरेको थियो। ‘बाहिरका माहुरीलाई नारायणपुर भन्दा पश्चिम क्षेत्रमा लैजान नदिने भन्ने नियम यहाँको संघले गरेको थियो,’ दाङकै एक माहुरी पालक किसान भन्छन्, ‘यही अवरोधका कारण यसपाला पूर्वी क्षेत्र रामपुरमा सबै माहुरी राखिएका थिए।’

जिल्लामा माहुरी चराउनका लागि ठाउँ अभाव रहेको भन्नु गलत रहेको ती कृषकको भनाइ छ। उनका अनुसार दाङमा ३० हजार घार माहुरी चराउन सकिने ठाउँ छ। तर दाङमा अहिले १५ हजार घार माहुरी मात्रै छन्। एक विघा जमिनमा बीस घार माहुरी पाल्न सकिन्छ। प्रति घार एक वर्षमा दाङमा सरदर पचास किलो मह उत्पादन हुने गर्दछ। ‘ठाउँ अभाव भएको भनेर भन्नु जायज होइन,’ ती किसान भन्छन्, ‘खाली बाहिरकालाई अवरोध गर्न खोजिएको मात्रै हो।’

यता जिल्ला माहुरी पालक संघले भने विषादी प्रयोग गरेर माहुरी मारिनु दुखद् घटना भएको बताएको छ। विषादी प्रयोगबाटै माहुरी मारिएको विज्ञहरुबाट भनाइ आएपनि यसको पुष्टि भने भैनसकेको संघको दाबी छ। तथापी बाहिरका माहुरी पालक किसानलाई जिल्लामा कुनै अवरोध नरहेको पनि संघको दाबी छ। ‘उहाँहरुले बनाइएको नियम तोड्नु भएको हो,’ जिल्ला माहुरी पालक कृषक संघका अध्यक्ष बिष्णु ओली भन्छन्, ‘हामीहरुसँग उहाँहरुले कुनै समन्वय नगरी माहुरी चराउन ल्याउनु भएको छ ।’

उनका अनुसार कुनै पनि जिल्लामा माहुरी चराउन लैजाँदा त्यहाँ रहेको माहुरी पालक कृषकसँग समन्वय गरेर अघि बढ्ने भन्ने सम्झौता हो। यहाँको संघले सुरुमा जिल्लामा रहेका माहुरीहरुलाई यवस्थापन गर्ने र बचेको स्थानमा बाहिरका माहुरीलाई व्यवस्थापन गर्ने गरी ल्याउन दिने भन्ने निर्णय गरेको थियो। ‘जिल्लाका माहुरी राखेर बचेको स्थानमा बाहिरका माहुरी राख्न दिने भन्ने सम्झौता हो,’ ओली भन्छन्, ‘तर उहाँहरुले भटाभट आँफू खुशी माहुरी ल्याउनु भयो।’ उनका अनुसार चितवनबाट चराउन ल्याइएका माहुरीका कारण स्थानीय कृषकले आँफूहरु बिस्थापित बन्नु पर्ने अवस्था आएको भन्दै संघ समक्ष गुनासो समेत गरेका थिए। ‘बाहिरका माहुरीका कारण हामीहरु विस्थापित हुने भयौं भनेर संघ समक्ष स्थानीय किसानबाट गुनासो पनि आएको थियो,’ ओली भन्छन्।  

यता बाह्य जिल्लाका किसानहरुले भने स्थानीयसँगको सर्त बमोजिम माहुरी चराउन पाउने गर्दछन्। किसानले माहुरी चराएवापत प्रति घारको दुई सय रुपैयाँका दरले स्थानीय सामुदायिक वनलाई शुल्क तिर्ने र माहुरी राखिएको सम्वन्धित जग्गा धनीलाई मह दिने भन्ने सम्झौता भएको हुन्छ। ‘हामीहरुले प्रति घारको दुई सय रुपैयाँका दरले स्थानीय सामुदायिक वनलाई शुल्क बुझाएका हुन्छौँ, अनि माहुरी राख्न दिने जग्गा धनीसँग पनि हाम्रो सम्झौता भएको हुन्छ,’ पीडित किसान बिष्णु भन्छन्, ‘हामीहरुले यसरी सम्झौता गरेर व्यवसाय गर्दा पनि के अपराध गर्यौं?’

त्यसो त, दाङमा माहुरी पालन व्यवसाय चितवनकै किसानको सहयोगमा सुरु भएको यहाँका किसान बताउँछन् । माहुरी चराउन आउने चितवन बासीहरुले नै दाङका कृषकहरुलाई माहुरी घार दिन थालेपछि दाङमा पनि यसको व्यवसायिक पालन सुरु भएको किसानहरुको भनाइ छ। ‘दाङमा माहुरी पालन व्यवसाय सुरु गर्न सघाउ पुर्याएका चितवनवासी किसानमाथि गरिएको यो व्यवहार जायज हुँदै होइन,’ एक किसान भन्छन्, ‘दाङका माहुरी पनि बाहिर चराउन जाँदा कसरी बच्ने भन्ने प्रश्न पनि यो घटनाले निम्त्याएको छ।’  

१८ लाख मूल्य बराबरका माहुरी नष्ट भएका किसानहरुले दोषी पत्ता लगाई कारवाही तथा क्षतिपूर्तिको माग गरेका छन्। दाङकै एक किसानको पनि केही समय अघि ५ घार माहुरी विषादी प्रयोग गरेरै मारिएका थिए। उक्त घटनाको छानविनबाट पनि औषधि प्रयोग भएको खुलेपनि दोषी पत्ता लाग्न सकेको थिएन। ती पीडित किसानलाई माहुरी पालक कृषक संघले मरेका माहुरी घार उपलव्ध गराएको संघका अध्यक्ष ओलीले बताए।  

 

प्रकाशित: २० कार्तिक २०७३ ०८:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App