१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पछि हट्यो एसएसबीः सीमाको सडक अवरोध खुल्यो

इलामको सूर्याेदय नगरपालिका–२, चारमाइलको भारतीय सीमा क्षेत्रमा रहेको सडकमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले खाडल खनेर अवरोध गरेपछि मंगलबार त्यहाँ पुगेका सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राईलगायत।

इलाम–  भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पूर्वी पशुपतिनगरस्थित चारमाइलको सडकमा गरेको अवरोध आफैं हटाएको छ। सूर्याेदय नगरपालिकाका जनप्रतिनिधि, पशुपतिनगरस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयलगायतको पहलमा एसएसबी सडक अवरोध गर्नबाट पछि हटेको हो।

सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राईले मंगलबार बिहान सडक अवरोध गरिएको स्थान चारमाइलको स्थलगत निरीक्षण गर्दै अवरोध हटाउन एसएसबीलाई आग्रह गरेका थिए। उनले एसएसबीलाई सीमाको समस्या माथिल्लो तहबाट समाधान हुने भएकाले दशगजामा नेपाल–भारत दुवै पक्षले कुनै संरचना बनाउन नमिल्ने बताएका थिए। त्यसपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीका पशुपतिनगरस्थित इकाईसँग भारतका समकक्षी एसएसबी इकाईले वार्ता गरेपछि सडक खुलाउन एसएसबी तयार भएको हो।

‘तत्काल सीमामा सडक खन्ने वा अवरोध गर्ने कामले विवाद बढाउने, तिक्तता सिर्जना गर्ने कुरामा हामी दुवै पक्ष सहमत भएपछि एसएसबी सडक अवरोध खुलाउन तयार भएको हो,’ पशुपतिनगरस्थित सशस्त्र प्रहरी इन्स्पेक्टर सशांकजंग कार्कीले भने, ‘अहिले यातायात सहज भएको छ।’

नेपाल भएर भारततिर छिर्ने चारमाइलको वर्षाैं पुरानो कच्ची सडकमा खाडल खनेर एसएसबीले आउ–जाउ अवरोध गरेको थियो। नेपालतर्फको तरकारी भारत लैजान रोक्नेगरी सडकको दशगजामा खाडल खनेर अवरुद्ध गरिएपछि सोमबार सुरक्षाकर्मी र स्थानीय त्यहाँ पुगेर अवरोध खुलाउन आग्रह गरेका थिए। एसएसबीका जवानले ‘माथिको आदेश’ भन्दै सडक अवरुद्ध गरेपनि दुवै देशको माथिल्लो तहलाई सीमाको अवस्थाबारे जानकारी गराउनेमा आफूहरूबीच छलफल भएको कार्कीले बताए। सूर्याेदय नगरका मेयर राईले पूर्वी नेपालको भारतसँग जोडिएको सीमा समस्या जटिल बन्दैगएकाले यसको तत्काल समाधानका लागि चासो राख्न पनि आग्रह गरे।

प्रकाशित: ७ श्रावण २०७६ ०९:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App