१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

नदी निकास र नेपाली विकास

केही वर्षयता बर्खा लाग्नेबित्तिकै राजधानीलगायत मुलुकका विभिन्न भूभाग डुबानमा पर्ने तथा जनधन क्षति हुने क्रम जारी छ। तर राज्य पूर्वतयारीमा भन्दा राहत वितरणमा रमाइरहेको देखिन्छ। बरु राहत सामग्री र ढुवानीका लागि खर्च गर्ने रकम पूर्वतयारीमा लगाए, बर्सेनि जनताले ज्यानै गुमाउनुपर्ने दुष्चक्रबाट देशले मुक्ति पाउँथ्यो कि ? तर राज्य बाढीबाट बच्ने उपाय खोज्नेतिरभन्दा बाढीपछि रातह वितरणमा हौसिने गरेको देखिएको छ। त्यही राहत पनि पाउनुपर्नेले भन्दा पहुँचवालाले हत्याएको समाचार आउँछन्। यस्ता विडम्बनाका खबर केही समयअघि बारा–पर्सामा  हुरीले मच्चाएको वितण्डाका बेला पनि आए र अहिले पनि आइरहेका छन्।
यस वर्ष पनि काठमाडौँ उपत्यकाका बल्खु र हनुमन्तेलगायत खोला कलंकी र भक्तपुरका बस्तीमा पसेर वितण्डा मच्चाए। उपत्यकाबाहिर पनि खोला र नदी किनारका बस्ती बाढीमा बगेका खबर आएका छन्।

भनाइ नै छ– ‘नेचर टेक्स इट्स ओन कोर्स’ अर्थात् प्रकृतिले आफ्नो बाटो आफैँ तय गर्छ।’ नेपाली परम्पराले पनि पाखो र उँचो जमिनमा घर बनाउने, गहिरो, होचो र खोला छेउछाउमा खेती गर्ने भन्छ। यसलाई वैज्ञानिक रूपमा ग्रहण नगरी रूढिवादी सम्झँदा खोला बग्ने क्षेत्र नै मिचेर हाम्रा सहर बन्ने क्रमले तीव्रता पाइरहेको छ। यही बेला उता विदेशीहरू भने ‘रुम फर रिभर’ भनेर नदी उकास क्षेत्रमात्र भई समुद्री किनारमा समेत राज्यकै तर्फबाट विभिन्न प्रजातिका बिरुवा हुर्काइ÷बढाइरहेका छन्। र, त्यस्ता ठाउँलाई सिमसार क्षेत्र घोषणा गरी स्थानीय समुदायलाई लाभ÷लागत हिसाब गर्न सिकाउँदै छन्। यसका अतिरिक्त उनीहरू प्राप्त प्रतिफल समन्यायिक ढंगले वितरण गर्ने नीति अख्तियार गर्दै स्थानीयको सहभागिता सुनिश्चित गरी बस्ती जोगाउन लागि परेका छन्। यता हामी भने माथि उल्लिखित उल्टो बाटोमा अघि बढिरहेका छौँ।

सरकारकै निकायहरू जलविद्युत् परियोजनालाई खोलाका बगर दिनुपर्दा वन क्षेत्रका रूपमा गणना गरी विकासकर्ता नै हतोत्साही हुनेगरी अनेक नीति–नियम देखाउने गर्छन्। त्यति मात्र होइन, चन्द्रागिरिको २५ सय मिटर उचाइमा रहेको घना जंगलको तालु ताछिने गरी निजी व्यवसायीलाई दिँदा र त्यसमा सफलता हात पार्दा विकासका लागि आफूले गरेको योगदान र बहादुरी ठान्छन्। तर विकासे परियोजना नभएका नदी उकास क्षेत्रमा वृक्षरोपण गरी हराभरा बनाउने रुचि उनीहरूमा देखिँदैन। बरु सट्टामा त्यस्ता क्षेत्र मिचेर बनेका सहर र सडकलाई विकासको परिभाषामा समेट्न कम्मर कसेर लाग्ने गरेका छन्।

विकासको मेरुदण्ड मानिने सडक प्रायः खोला वा नदी किनार पछ्याएर गएका र जाने गरेका छन्। सर्वसाधारण पनि जता सडक बन्यो उतै विकास गएको ठानेर त्यतै हुत्तिन्छन्, नदी, खोलाका निकासै बन्द गरेर बस्ती बसाउँछन्। अनि बर्खामा उर्लेर आउने भेल मानव अतिक्रमणमा परेको आफ्नो क्षेत्र अर्थात् बस्तीमा पस्न बाध्य हुन्छ। त्यसपछि हामी कराउँछौँ, चिच्याउँछौँ र रुन्छौँ, कहिल्यै नदेखेको, नबेहोरेको बाढी मैले नै बेहोर्नुप¥यो भन्दै।

नेपालको मौसमी प्रणाली पनि खहरे उराल्ने खालकै छ। वर्षैभरि समान हिसाबले पानी पर्दैन। हल्का हिउँदे वर्षा भएपछि लगभग ४ महिनाभित्र एकैचोटि वर्षभरिको पानी बाढीपहिरो नै जानेगरी मुसलधारे वर्षाका रूपमा बर्सिन्छ। माल्दिभ्समा नेपालकै माटोले नयाँ टापु बन्दै छ भन्छन्, विज्ञहरू। जलवायु परिवर्तनको संकेत मान्छन्, अनावृष्टि, खण्डवृष्टि र अतिवृष्टि अर्थात् मुसलधारे वर्षालाई, यसका अध्येता। थोरै समयमा धैरै पानी पर्ने तथा एक ठाँउमा झरीमा भिज्दै हिँडेको व्यक्ति नजिकै अर्काे स्थानमा पानीको थोपा नै नझरेको देख्दा छक्क पर्छ। वर्षाको अनियमित चक्र पछ्याउन नसक्दा वा नजान्दा वा विकास परियोजना त्यस हिसाबले बनाउन चुक्दा धनजनकै क्षति बेहोर्नेगरी ठूलो मूल्य चुकाउनु परेको छ, बर्सेनि नेपालले। बाढीपहिरोको चपेटामा पर्नेको संख्या बढ्दो रफ्तारमा छ। जसले सहरका गरिबलाई सबैभन्दा जोखिममा पारेको छ।

वर्षभरिकै पानी ओइरिने र गर्मी हुने मौसम पनि यही भएकाले बाढीपछि देखापर्ने रोग र संक्रमणले गरिखाने आमसर्वसाधारण औषधि उपचारका लागि निजी क्लिनिकदेखि सरकारी अस्पतालसम्म धाउनुपर्दा व्यापार घाटा नै बढ्नेगरी खर्च गर्न बाध्य हुन्छन्। जसले गर्दा कामका बेला चाहिने सक्रिय श्रमिक संख्या घट्छ। बजारमा श्रमिक पाउनै मुस्किल हुन्छ, पाइहाले पनि महँगो हुन्छ र सबै खाले उत्पादन वा सेवा उद्योगको लागत बढ्न जान्छ। उत्पादकत्व घट्न जान्छ। उत्पादित वस्तु प्रतिस्पर्धी बन्न सक्दैनन्। अन्ततः कूल गार्हस्थ्यमै उत्पादनलाई नै नकारात्मक अवस्थामा पुग्न सक्छ। रोगी जनता बढ्दै जानु भनेको सामाजिक सुरक्षामा समाजवाद उन्मुख राज्यको व्ययभार र चुनौती थपिँदै जानु पनि हो। यसै पनि खाडीतर्फ युवा पलायन भइरहेका बेला श्रमिक पाउन सहज छैन, मुलुकभर।

किंवदन्तीअनुसार मञ्जुश्रीले चोभार डाँडो काटेर पानी कटाएपछि काठमाडौँ उपत्यका बस्नलायक भएको हो। भूगर्भविद्हरू पनि उपत्यकाको माटो ताल क्षेत्रमा पाइने माटोसँग मिल्ने प्रकृतिको रहेको स्वीकार्दै ‘ल्याकुस्ट्राइन’ हो, भन्छन्। माटोविज्ञ पनि उपत्यकाको माटो पाँगो माटो भएको बताउँछन्। यस्तो माटोमा वर्षभरि चाहिने अन्नका लागि बालीनाली उमार्नुपर्नेमा क्रंक्रिटका घर उम्रेका छन्। अनि हामी अविकसित नभएर को हुन्छ त ?    

बस्ती जोड्न बनाइएका नदीकिनारका हुन् वा अन्यत्रका, प्रायः सडक कच्ची तथा अलकत्रे छन्। तर ती कुनैमा बर्खे भेल निकास हुनेगरी अर्थात् स्ट्रोम वाटर ड्रेनेज बनाइएका छैनन् र त जमल होस् वा जोरपाटी, जताततै पानी पर्नेबित्तिकै सडक आहालमा परिणत हुन्छन्। र, घण्टौँ लाग्छ, सडकमा जमेको पानी हट्न।  आवास क्षेत्रको मलमूत्र निकासका लागि निर्माण भएका ढलले बर्खे भेल कटाउन स्वभावैले सक्दैनन्। तिनै ढलका मुख पनि अक्सर सहरी फोहोरमैलाले बन्द भएका हुन्छन्। महानगरपालिकासँग फोहोरमैला र सडक सफा गर्ने कामदार र औजार भए पनि ती सबै काममा  भन्दा भाषणमा बढी देखिन्छन्।

सहरमा हरियाली बढाउन खाली ठाँउमा बगैँचाभन्दा रूख नै लगाउने परिपाटी थालनी गर्न सके ‘रेन वाटर डिस्पर्स’, ‘डस्ट अरेस्टर’ र ‘विन्ड ब्रेकर’ का रूपमा काम गर्न सक्छन्, एकैसाथ तिनले। तर वृक्षरोपण योजना बनाउँदा मसला(इयुक्यालिप्टस)को बोटजस्तो अग्लो होइन, जुन सामान्य बतास पनि छेक्न नसकी जरैसहित ढलेर दुर्घटना निम्तिएको उदाहरण पनि बिर्सन हुँदैन। कपुरजस्ता होचा र झम्म परेका रूख उपत्यकाका लागि उपयुक्त हुन सक्छन्। यसका लागि वन÷वनस्पतिविज्ञको सल्लाह–सुझावमा सम्बन्धित निकायले सहकार्य र समन्वय गर्न सके प्राकृतिक बहाव नियन्त्रण गर्न, बस्ती जोगाउन र हरियालीयुक्त सहर बनाउन सकिन्छ कि हिमालदेखि तराईसम्मै ? जिम्मेवार निकायले आफ्ना जिम्मेवारी वहन गरे दैवी प्रकोपलाई दोष दिएर उम्कने गरेको आमआरोपबाट बच्न पनि सरकारलाई सहज हुन्छ।     

थोरै विगत नियाल्ने हो भने नेपालको परिदृश्य फरक देखिन्छ। आज पनि दुईतिहाइ जनता कृषिमा निर्भर छन्। गर्न सके गाँउका पाखोमा मकै, कोदो, मास वा फापर प्रशस्तै उब्जनी हुन्छन्। उब्जनी कम हुने पाखोबारीमा घरघडेरी बनाउने र बँेसीका खेतमा धान, गँहु फलाउने परम्परा अद्यापि कायमै छ। बाटो अभावमा धान, पराल बँेसीदेखि गाँउसम्म अहिले पनि मान्छेले नै बोकेर ओसार्ने गरेका छन्। विद्युत् नभएका कारण धुवाँले भरिएको भान्सामा काम गर्नुपर्दा आँखै खराब हुने बाध्यता पनि सामना गरिरहेका छन्, सर्वसाधारण। सुखको खोजीमा भौतारिँदै सहर पस्दा कैयन्ले खोला किनारमा घर बनाउन पुगेका छन्। अझ कति त सहरी सुकुमवासी बनेका छन्। बाढीको वितण्डाले पनि सुखभोग गर्न हिँडेका तिनै दुःखी सर्वसाधारणलाई बढी लखेटेको छ र परिवारै खण्डित हुन पुगेको छ। समाज विक्षिप्त भएको छ। भौतिक सुखसुविधा खोज्दाखोज्दै बस्ती नै उजाड र रङ उडेको खण्डहरमा परिणत हुँदै गएका छन्। रोपाइँ गर्नुपर्ने उपत्यकाको पाँगो माटोमा बर्खे भल कटाउने ढलबिनाका सडक र घर उमारेको परिणाम उपत्यकावासीले भोगिरहेका छन्। खोला÷नदीको निकास र विकासको नियतिले सारा नेपालीलाई सताइरहेको छ, अझै कति वर्ष सताउने हो, थाहा छैन।  
     

प्रकाशित: ७ श्रावण २०७६ ०३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App