२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

एउटा पुस्ताको गायक

नोबेल एकेडेमीले साहित्यतर्फ बब डिलनको नाउँ के उच्चारण गरेको थियो उनका प्रशंसक दुई भागमा विभक्त भए । कोही भने उनलाई साहित्यकार नै मान्दैनथे । कोहीचाहिँ नोबेल साहित्य पुरस्कार लिनु बबका लागि सूर्यका अघि दियोसरह हुने भाव व्यक्त गर्दैथिए । अखबारहरू यो पुरस्कार बबले नलिनुपर्ने कारण केलाउँदै थिए त केही भने लिँदाका फाइदा सुझाउँदै थिए । पूरै संसार उनले यो पुरस्कार स्वीकार गर्लान् कि नगर्लान् भनेर मुटुको ढुकढुकी रोकेर प्रतीक्षा गरिरहेको थियो । अन्ततः उनले पुरस्कार स्वीकारेपछि सारा आशंका र आकलन फिका साबित भएका छन् । उनले पुरस्कार लिने दिनको भाषणसमेत तयारी गर्न थालिसकेका छन् ।

बब बहिरहेको हावाको दिशा पत्ता लगाउन सक्थे । त्यो बेला सांगीतिक ब्यान्ड वा समूह बनाउने र सामूहिक प्रदर्शनी तथा गायकीमा रम्ने जुग सुरु भएको थियो । यसै परिवर्तनलाई महसुस गर्दै उनले ‘द हक्स’ समूह पनि बनाए । प्रतिभाशाली युवासँग बसेर दिमागमा जन्मेका सबैजसो गीतलाई अझै सरसपूर्ण बनाए । यही अवधिमा ‘द बेसमेन्ट टेप्स’ एल्बम तयार भएको थियो ।

उनलाई जुन समयावधिमा सिर्जेका गीतका लागि पुरस्कार दिइएको हो, त्यो समयावधि अर्थात् १९६० को दशकमा उनका सिर्जना र मनोदशा केलाउने प्रयास गरिएको छ । चार वर्षको उमेरदेखि नै गीत गाउन भनेपछि मरिहत्ते गर्थे उनी । घरमा पाहुना आउँदा वा कुनै भेला हुँदा बुवा एबे र आमा बेट्टीले छोरालाई गीत गाउन लगाइहाल्थे, केही मनोरञ्जनका लागि भने केही छोरालाई व्यस्त राख्न । तर, उनका गीत सुनिसकेपछि उनलाई केही न केही उपहार दिन्थे । उपहार पाउनका लागि भए पनि उनी मच्चीमच्ची गीत गाउँथे ।
दोस्रो विश्वयुद्धपछि अमेरिकी अर्थतन्त्रले गति लिएको थियो । एल्भिस प्रिस्लेले गीतको लोकप्रियता के हुन्छ भन्ने चमत्कार देखाइसकेका थिए । उनको लोकप्रियताले सर्वसाधारणमा सपना बाँड्ने काम गरेको थियो । एल्भिस बन्न नसक्नेले पनि धमाधम एल्बम निकाल्न सक्ने अवस्था बन्न थालेको थियो । त्यसमाथि प्रविधिले गीतमा केही नयाँ गनेरुलाई साथ दिन थालेको थियो ।

स्कुल पढ्दाताका अंग्रेजी भाषा पढाउने बीजे रोल्फजनले कवितामोह हालेका थिए । स्कुलमा बब प्रायः एक्लै हुन्थे । उनी गायक बन्ने सपना पूरा गर्न भाग्न चाहन्थे । उनी विस्तृत र बृहत् संसार हेर्न चाहन्थे । उनले भनेका छन्, ‘मलाई थाहा थियो, यहाँबाहिर एउटा गज्जबको संसार छ । म हेर्न र जान्न चाहन्थेँ ।’

आफूलाई संगीतमा तिखार्न ‘द स्याडोज’ सांगीतिक समूहमा उनले पियानो बजाउन थाले । आमाले सिकाएको पियानोका पाठ यतिबेला काम लाग्यो । यसैबाट उनले केही लोकप्रियता पनि हासिल गरे । यसले उनलाई लोकप्रियताको स्वाद चखाइदियो । हरेक बाउआमाजस्तै बबका अभिभावक पनि छोराले पढोस् भन्ने चाहन्थे । त्यसैले चर्चित कलेजमा नाउँ लेखाइदिए । कलेजमा लोकगीत घन्कन्थ्यो । यहीँ उनी लोकगायनतर्फ लहसिए । अब उनको काम भनेको पुराना लोकगायकका एल्बम सुन्नु वा रेडियोमा ती गीत कहिले आउँछन् भनी कुर्नु हुन थाल्यो । उनलाई त्यो बेला मन परेका गायक वुडी गुथेरीलाई बारम्बार सुन्दा पनि कहिल्यै अघाउँदैनथे ।

कतिसम्म भने गुथेरीलाई भेट्न उनी न्युयोर्क गए । उनी बिरामी भएर थलिएका थिए । उनलाई सघाउने, उनैका गीत उनलाई सुनाउनेजस्ता काम बबले गर्थे । उनीबाट प्रभावित भएका गुथेरीले भन्थे, ‘यो केटाले गीत लेखेर खान नसके पनि स्वरका कारण गाएर खान सक्छ भन्ने विश्वास छ ।’ तर, पछि उनी उम्दा गायकका रूपमा भन्दा पनि उनका कालजयी गीतका कारण सम्झिइए ।

अन्य गायकको संघर्षझैँ उनको संघर्ष पनि विभिन्न रेकर्डिङ स्टुडियो चहार्दै बित्थ्यो । त्यो बेला क्यारोलिन हेस्टरको एउटा एल्बम निस्किसकेको थियो । उनको एल्बमलाई न्युयोर्क टाइम्सका संगीत पत्रकार रबर्ट हेस्टनले समीक्षा गरेर चर्चामा ल्याइदिएका थिए । त्यो एल्बम युनिभर्सल रेकर्डिङ स्टुडियोमा गायिका क्यारोलिनले रेकर्ड गरेकी थिइन् । त्यहीँ बबको भेट क्यारोलिनसँग भएको थियो । बबले हार्मोनिका बजाएर आफ्नो क्षमता देखाइरहेका थिए । अचानक त्यहाँ आइपुगेकी क्यारोलिनाले बबको कला देखेर उनलाई आफ्नो गीतमा हार्मोनिका बजाउने प्रस्ताव राखिन् । बबले नाइँ भन्ने कुरै थिएन । जसै बबले बजाएको हार्मोनिकाबारे हेस्टनले न्युयोर्क टाइम्समा लेखे, युनिभर्सलका जोन ह्यामोन्डले बबलाई आफ्नो कम्पनीका लागि मात्र गाउन ५ वर्षे सम्झौता गरे । एउटा असल संगीत समीक्षकको टिप्पणीको शक्ति यसैबाट थाहा हुन्छ ।
पछि जोनले बबको लोकप्रियताका लागि थुप्रै स्टेज कार्यक्रमको योजना बुने । एल्बम निकाले । उनका लागि प्रतिभाशाली संगीत संयोजकहरू जुटाए । तर, बबले भने, ‘मेरा लागि तपाईंले यी सब तामझाम गर्नुपर्दैन । यो एल्बम म एक्लैको हुनेछ ।’ सर्जक सन्काहा हुन्छन् भन्ने जोनलाई थाहा थियो । त्यसैले बबलाई जोनले भने, ‘ठीक हो, यो तिम्रो एल्बम हो । राम्रो निस्कनुपर्छ, त्योभन्दा मेरो बढी कुनै स्वार्थ छैन ।’

बबको पहिलो एल्बमको रेकर्डिङ खर्च जम्माजम्मी ४०२ डलर थियो । उनलाई कुनै संगीत संयोजक चाहिएन । उनका लागि कसैले गीत लेखिदिनु परेन । गाएका जति सबै लोकगीत थिए । उनले आफूभन्दा अग्रजले लेखेका÷गाएका गीतलाई नै उपयोग गरेका थिए । केही शब्द आफैले लेखे । वाद्यवादनका लागि अरु कसैलाई बोलाउनु परेन । त्योभन्दा पनि बबका लागि खुसीको कुराचाहिँ उनको एल्बम निर्माताले विश्वास गरिदिए । उनले पछि भनेका छन्, ‘संसारमा हजारौँ राजा होलान्, जोन तीमध्ये एक हुन् ।’ जोनले पनि गर्वका साथ सुनाउँथे, ‘बब यस्तो युवा हो, जसमा क्रोध भरिएको छ र संसारभरका उसको पुस्तालाई सुनाउनुपर्ने थुप्रै कुरा छन् ।’

कोलम्बियाले एल्बम निकाल्ने कुरा जंगलमा आगो लागेसरह भयो । यो कुरा गुथेरी र लोकगीत गायकहरूको समूहले पनि चाल पाए । लोकगीत समूह उनको यो प्रगतिमा ईष्र्याले भुतुक्क भयो । ‘यसले यति चाँडै एल्बम निकाल्न हतार गर्नु हुँदैनथ्यो,’ ईष्र्यालुहरू भन्थे । तर, बबका लागि चाँडो एल्बम निकाल्नु बाध्यता थियो, किनभने उनीसँग संगीतकर्ममै रहन पर्याप्त पैसा थिएन । बाँच्ने अन्य कुनै आधार थिएन । जति चाँडो एल्बम निस्कथ्यो, उनको आर्थिक समस्या उति चाँडो पर भाग्थ्यो । तर, ईष्र्यालुहरूले उनको यो समस्या बुझेनन् । संगीतप्रति खेलबाड गरेको आरोप पनि लगाए । त्यसैले उनीहरू बबबाट टाढिए । पछि रक एन्ड रोलतर्फ आकर्षित हुनुको कारण लोकगायकहरूसँगको तीक्तता पनि एक कारण हो भनी कतिपयले टिप्पणी गरेका छन् ।

सन् १९६२ को मार्चमा ‘बब डिलन’ नाउँबाट एल्बम निस्कँदा अखबारहरूमा राम्रै चर्चा भएको थियो, तर एक वर्षमा जम्माजम्मी ५ हजार प्रति एल्बममात्र बिक्री भयो । युनिभर्सल रेकर्डस् कम्पनीभित्र जोनको ठूलो आलोचना भयो, ‘यसले यसअघि राम्रो बिक्री हुने एल्बम निकाल्थ्यो, यसपटक कस्तो कलाकार ल्यायो हँ ? यसले त बिक्रीको कीर्तिमानै बनाएर युनिभर्सलको बेइज्जत नै ग¥यो नि !’

‘बब लामो रेसको घोडा हो, अहिले नै उनको मूल्यांकन गर्ने बेला भएको छैन,’ जवाफमा जोनले भनेका थिए । एल्बम यसरी असफल भएर उत्तानो पल्टेला भनेर बबले सोचेका पनि थिएनन् । रबर्ट सेल्टनले लेखेको जीवनीमा उनले भनेका छन्, ‘एल्बम असफल भएपछि मेरा अघिल्तिर आत्महत्याबाहेक कुनै विकल्प थिएन । म मर्न तयार भएर बसेको थिएँ ।’ तर, उनले त्यसो गर्नु परेन । दोस्रो एल्बम ‘फ्रि ह्विलिङ’ले उनलाई चाहेजति ख्याति र पैसा बटुलिदियो ।
दोस्रो एल्बम निकाल्दा पहिलो एल्बमको गल्ती दोहो¥याएनन् । पहिलो एल्बम जुन हतारमा उनले निकालेका थिए, दोस्रोमा त्यति हतार गर्ने पक्षमा थिएनन् । आफू सन्तुष्ट नहुञ्जेलसम्म उनले प्रत्येक गीतका शब्दमा मेहनत गरे । गायकी चित्त नबुझ्दा पटकपटक रेकर्डिङ दोहो¥याइरहे ।

जीवनीकार बब ब्याचलर ‘बब डिलनः अ बायोग्राफी’मा लेख्छन्, ‘उनी लोकप्रिय संस्कृतिको उफानका बेला गायकीमा आइपुगेका थिए । दोस्रो विश्वयुद्धपछि अमेरिकी जीवनले लय समातेको थियो । ६० को दशकको मध्यसम्म आइपुग्दा जनसंख्या ह्वात्तै बढेको थियो । काम गर्नेका लागि पर्याप्त रोजगारी थियो । घरघरमा टेलिभिजन छिरेको थियो । सिनेमा, संगीत, प्रविधि सबै कुरामा प्रगति भएकाले त्यो अवधिमा जन्मेका अन्यझैँ बब पनि भाग्यमानी भए । उनले आफूले चाहेका कुरामा सफलता पाए ।’

यो सत्य हो, अमेरिकी जीवनमा लोकप्रिय संस्कृति, सिनेमा, संगीतको ठूलो प्रभाव छ, तर उनले सफलताका लागि सर्वसाधारणको दिनचर्या, उनीहरूका भोगाइ र पीडा मुखरित गर्न सक्नुपथ्र्यो, त्यो बुझ्न सक्नुपथ्र्यो । १९६० को दशकमा कालाजातिले आफ्नो राजनीतिक अधिकारको जुन लडाइँ लडिरहेका थिए, त्यो ‘उत्ताल हावा’ ‘ब्लोइङ इन द विन्ड’ बनेर फैलाउन सक्ने खुबी उनीसँग मात्र थियो ।

‘कतिपयले मलाई राजनीतिक नारा गीतमा ल्यायो भनेर आलोचना गर्छन्,’ बबले आफ्नो आत्मकथा ‘क्रोनिकल’मा लेखेका छन्, ‘गुथेरीले जति राजनीति गीतमार्फत् गरेका छन्, मैले उनको हाराहारीमा केही गर्न सकेको छैन । मैले त मात्र विद्रोह पोखेको हुँ ।’ हो, उनको यही विद्रोहले अरुलाई राजनीति गर्न प्रेरित ग¥यो । हुन त उनले राजनीति गर्न चाहेनन्, तर उनका गीतले भने प्रशस्त राजनीति गरे । उनका प्रत्येक गीतका शब्द राजनीतिका नाराका रूपमा प्रयोग गरिए । ‘ब्लोइङ इन द विन्ड’ होस् या ‘मास्टर्स अफ वार’ नै किन नहोस् !

१९६३ को मे २७ मा ‘फ्रिह्विलिङ’ बजारमा आउँदा पहिलो महिना नै १ लाख प्रति बिक्री भयो । यसै एल्बममार्फत् उनी ‘पुस्ताका कलाकार’का रूपमा चर्चित बने । लेखक एन्डी गिल लेख्छन्, ‘यस एल्बमपछि बब हराएका भए पनि उनले अहिलेसम्म बाँच्न सक्ने क्षमताको गीत पस्किएका थिए ।’ हुन पनि त्यो बेला कालाजातिले जातीय विभेदविरुद्ध उनका गीतलाई जुनसुकै प्रदर्शनी, भाषणका रूपमा उपयोग गर्दा यो एक किसिमले राष्ट्रिय गीत नै बन्न पुग्यो । त्यसयता पनि संसारभर विद्रोहमा उठेका आवाजले यिनै गीत गुन्गुनाउने गरेका छन् ।

१९६३ को नोभेम्बरमा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्या भएको थियो । १९६४ को जनवरीमा ‘द टाइम्स दे आर अ चेन्जिङ’ एल्बम रिलिज हुँदा देशकै मुड उनले एल्बममा कैद गरेका थिए । निराशाका बीचमा आशाको दियो उनले बालेकोमा पुनः एक पटक उनका स्रोता चकित परे । जम्माजम्मी २३ वर्षको उमेरमा उनले कसरी पूरै देशको मुडलाई समात्न सकेका होलान् भनेर अझै पनि समीक्षकहरू चकित पर्ने गर्छन् ।

यस एल्बमको लोकप्रियता कस्तो रह्यो भने उनका गीतका भाव पक्रँदै राष्ट्रपति लिन्डन बी जोन्सनले वार्षिक संघीय भाषण गर्नुप¥यो । यो एल्बमले त उनको लोकप्रियता यति चुल्यायो, उनलाई आफ्नो हत्या नै होला भन्नेसम्मको डर हुन थाल्यो । हुन पनि केनेडी र मार्टिन लुथर किङ जुनियरको हत्याको कारण उनीहरूको लोकप्रियता नै रहेको धेरैको विश्वास थियो । त्यसैले पनि बब लुकेर बस्न रुचाउँथे ।

एक पटक चर्चित टेलिभिजन अन्तरवार्ताकार एड सुलिभानले डिलनको अन्तरवार्ता लिने भए । अन्तरवार्तासँगै उनले एउटा गीतसमेत सुनाउने योजना थियो । ‘गीतचाहिँ मेरो रूचिको हुनेछ,’ बबले प्रस्ताव राखे । सुलिभानले स्वीकृति जनाए, तर पछि बबले कम्युनिस्टहरूविरुद्ध त्यो बेला मच्चाइएको आतंकविरोधी गीत गाउने भनेपछि सुलिभान असमञ्जसमा परे । पछि डिलनले त्यो गीत गाउन नपाउने भए आफू त्यहाँ नआउने बताए । पत्रकारका लागि उनी टेढा भए पनि एल्बम भने मज्जाले चल्न थाल्यो । महिना दिनमै एल्बमको बिक्री १० लाख नाघेर कीर्तिमान बनायो ।

यही बेला उनलाई जुन एकान्त चाहिन्थ्यो, त्यसमा साथ दिन अर्की लोकगायिका जोआन बेज आइपुगिन् । यिनीहरूबीच ३ वर्ष रोमान्स चल्यो । सुन्दरीसँग मीठो आवाज हुँदा जुन ऊर्जा बबले पाउँथे, त्यसैको रापमा तापिएर नयाँ एल्बम तयार भयो । यति मात्र होइन, बब यो बेला लागूऔषध र सीमित व्यक्तिको घेरामा रहे । उनलाई लागिरह्यो, कोही न कोही उनको हत्याका लागि आतुर छ । यस्तो अवस्थामा समय निकै कम भएको महसुस उनलाई भइरहन्थ्यो ।

जोआन बेजसँग नजिकिएपछि संघर्षमा साथ दिइरहेकी अर्की प्रेमिका सुज रोटोलो क्षुब्ध हुनु स्वाभाविक थियो । वर्षांैपछि उनले भनेकी छन्, ‘बब जति करिस्म्याटिक थिए उति नै उनमा ‘ब्ल्याक होल’ पनि थियो । त्यस ब्ल्याक होलमा विलुप्त हुनबाट जोगाउन निरन्तर साथ र सहयोग चाहिन्थ्यो । त्यो मैले दिन सकिनँ किनभने संगीत मेरो बाटो थिएन । म आफै पनि लागूऔषधको भुमरीमा फसेकी थिएँ र उसलाई चाहिएको बेला साथ दिन सकिनँ ।’

अर्को एल्बम ‘अनोदर साइड अफ बब डिलन’ निस्कँदा सर्वत्र होहल्ला भयो । किनभने, एल्बमको नाउँजस्तै यो बबको अर्को पाटो थियो । उनले लोकगीत गाएका थिएनन् । यो एल्बममा राजनीतिक नारा थिएन । लागूऔषध र प्रेम सम्बन्धको अन्त्यले जन्माएको पीडा र एकान्तिकता यो एल्बममा प्रष्फुटन भयो । उनका नजिकका साथीहरू भने एल्बमबाट खुसी हुन सकेनन्, खासगरी लोकगीतका पारखी रिसाए । उनले आफ्नो लोकप्रियतालाई ‘बेचेको’ आरोप लगाउँथे ।

द न्युयोर्करमा अन्तरवार्ता दिँदै उनले नयाँ एल्बमबारे भनेका थिए, ‘मैले यस पटक कसैप्रति पनि औँला तेस्र्याएर आरोप लगाएको छैन, म कसैको प्रवक्ता बनेको छैन । म अब भित्रैका कुरा अरुलाई सुनाउन चाहन्छु, त्यो पनि स्वाभाविकरूपमा आएका कुरा ।’

सन् २००४ मा संगीत पत्रिका ‘रोलिङ स्टोन’ले गरेको एउटा सर्भेमा सर्वकालिक चर्चित ५०० गीतको सूचीमा ‘लाइक अ रोलिङ स्टोन’, ‘ब्रिङिङ इट अल ब्याक होम’जस्ता गीत उत्कृष्ट १० मै परेका थिए भने उनको एल्बम ‘हाइवे ६१ रिभिजिटेड’ चौथो नम्बरमा थियो ।

सन् १९६६ मा बब मोटरसाइकल दुर्घटनामा पर्दा कतिपयले षड्यन्त्र पनि देखे त्यहाँ, तर डिलनविज्ञ (डिलनोजिस्ट) भनेर चिनिएका एक विशेषज्ञले चाहिँ उनको दुर्घटनालाई बढाइचढाइ प्रस्तुत गरिएको बताए । ‘दुर्घटना त भएको हो, तर त्यति ठूलो पनि होइन, जसमा उनको ज्यानै जोखिममा रहेको होस् । तर, यो घटना संसारभरिका आँखाबाट बचाउन पर्याप्त रह्यो । यही दुर्घटनाका कारण पनि मानिसले उनलाई हतारमा ‘पुस्ताका गायक’, ‘दशकका गायक’ आदि विशेषणबाट पुकार्न थाले ।
उनी बहिरहेको हावाको दिशा पत्ता लगाउन सक्थे । त्यो बेला सांगीतिक ब्यान्ड वा समूह बनाउने र सामूहिक प्रदर्शनी तथा गायकीमा रम्ने जुग सुरु भएको थियो । यसै परिवर्तनलाई महसुस गर्दै उनले ‘द हक्स’ समूह पनि बनाए । प्रतिभाशाली युवासँग बसेर दिमागमा जन्मेका सबैजसो गीतलाई अझै सरसपूर्ण बनाए । यही अवधिमा ‘द बेसमेन्ट टेप्स’ एल्बम तयार भएको थियो । समूहसँगको संगतमा आफूलाई झनै निखार्ने अवसर पाएको बबले क्रोनिकल्समा लेखेका छन् ।

उता दुर्घटनाको हल्लाले उनलाई फाइदै भयो । धेरैले बबको ‘स्वर’ नै दुर्घटनाले चुँडेको खबर लेख्न थाले भने कतिले त उनी ‘कोमा’मा रहेको भन्न थाले । यो हल्ला उत्कर्षमा पुगेपछि उनले बल्ल मिडियामा मुख खोले, ‘मेरो आवाज चुँडिएको छैन, बरु अझै मेहनत गर्ने जाँगर चलेको छ । गीतहरू मेरा टाउकामा यसरी बजारिन थालेका छन्, जसरी यसअघि बजारिन्थे ।’ यो अन्तरवार्ताले उनका प्रशंसकलाई राहत दियो, कम्तीमा बब ज्यूँदै छन् भनेर ।

‘क्रोनिकल्स’मा बब लेख्छन्, ‘सन् ६० को दशक र पूरै पुस्ताको गायकका रूपमा मलाई चिनाइन्छ । अहिले जसै फर्केर हेर्छु, सन् ६० को दशकलाई मिडियाले आगोमा होमिएको मुलुकका रूपमा अमेरिकालाई प्रस्तुत गरेका रहेछन् । त्यसैको प्रभाव परेर एउटा ठूलो समूह त्यसको उछित्तो काडिरहेका रहेछन् । उनीहरूले मलाई उनीहरूको प्रवक्ता बनाएछन्, थाहै नपाइ । अहिले सम्झेर ल्याउँदा मलाई हाँसो उठ्छ । म आफैप्रति इमानदार भएर भन्ने हो भने सत्य त यही हो ।’

ब्लोइङ इन द विन्ड
कति सडक नाप्नुपर्छ
एउटा मानिसलाई मानिस भनिन ?
कति समुद्र पार गर्नुपर्छ श्वेतहंशले
बलौटे भूमिमा उसले मस्त निदाउन ?
हो, गोलीका पर्राहरू कति छुट्नुपर्छ
सधैँका लागि ती प्रतिबन्धित हुन ?
मेरा साथी, उत्तर अधरमा अड्किरहेको छ
हावामा उत्तर अड्किरहेको छ...
स्टिभ र बब

किशोर स्टिभ जब्सलाई पहिलो पटक बब डिलनका गीतमा बानी पारिदिने स्टिभ वज्न्याक थिए । पछि दुवैले एप्पल कम्युटरको स्थापना गरे । कम्पनी स्थापना र फुर्सदिला दिनमा वज्न्याक र जब्स बिथोविन र मोजार्ट सुन्थे । पछि वज्न्याकले जब्सलाई बबका गीतको स्वाद चखाइदिए । जब्स डिलनको यति ठूलो फ्यान भए कि उनले डिलनकी एक समयकी प्रेमिका जोआन बेजलाई समेत फकाए ।
०००
जब्सलाई डिलनका गीतको गहन व्याख्या गरिदिने अर्का व्यक्ति थिए, ड्यानियल कोट्के । कोट्के जेन बुद्धत्व, बबका क्रान्तिकारी गीत र लागूऔषधका पारखी थिए र जब्सलाई त्यसैमा डुबाइदिएका थिए । जब्सका निराशाका दिनमा बबका गीतले आशाका किरण छर्थे ।
०००
३० वर्षको उमेरमा स्टिभ अर्बपति भइसकेका थिए । उनको जन्मदिनमा कोभन्दा को कम व्यक्ति आएका थिए र बब त्यहाँ नआउने कुरै थिएन । स्टिभ चाहन्थे, डिलनले उनका लागि गाइदिऊन् तर डिलनले भने, ‘म कसैको जन्मदिनमा गाइदिने जोकर होइन ।’ डिलनले नगाएर के भो ? एला फिजगारेल्डले त गाइदिइन् !
०००
एप्पल कम्पनीबाट निकालिएपछि स्टिभ घरैमा बस्दा डिलनकै गीत सहारा हुन्थे र उनको घरमा डिलनका गीत बज्थ्यो, ‘द टाइम्स् दे आर अ चेन्जिङ... ।’
०००
१९८२ ताका स्टिभले लोकगायिका जोआन बेजसँग हिमचिम बढाउनुको कारण उनको सुन्दरता मात्र थिएन, उनी बबकी कुनै समयकी प्रेमिका भएर पनि थियो । १९६० को दशकभरि डिलन र बेजको जोडी खुब जमेको थियो । बेज जताजता सांगीतिक कन्सर्टमा जान्थिन्, स्टिभ पनि उतैउतै जान्थे । स्टिभ २७ वर्षका थिए र बेज ४१ वर्षकी । कतिसम्म भने एप्पल कम्पनीमा कहिलेकाहीँ बेज आइपुग्दा त्यहाँ काम गर्नेहरू क्वारक्वार्ती हेर्थे । उनको ख्यातिमात्र यसको कारण थिएन, डिलन कुनै समय यिनीसँग संगत गर्थे भनेर कानेखुसी हुन्थ्यो, एप्पलमा । बेजसँग जब्सले तीन वर्ष रोमान्स गरेका थिए ।

०००
स्टिभ डिलनको कतिसम्म प्रशंसक थिए भने चर्चित म्याकिन्टोस कम्युटरको प्रचार ‘थिंक डिफरेन्ट’का लागि छानेका संसार बदल्ने ‘जिनियस’मध्ये डिलनलाई पनि राखेका थिए ।

०००
स्टिभको नजरमा बिटल्स र बब उम्दा कलाकार थिए । आइट्युन्समा ती नछिरुञ्जेल त्यो सफल नहुने उनको धारणा थियो । डिलनलाई स्टिभले एप्पलका लागि गर्नु प्रयोग गरे । डिलनले विज्ञापनमा बोलिदिए । आफ्ना गीत प्रयोग गर्न दिए । स्टिभलाई मनपर्ने गीतको सूचीमा बबका गीतका १५ वटा एल्बम थिए ।

०००

सन् २००४ को अक्टोबरमा स्टिभ पहिलो क्यान्सर सर्जरीबाट निको हुँदै गर्दा अफिस पालोअल्टो छेउमा बबको सांगीतिक कार्यक्रम थियो । बब कहिल्यै स्टिभका साथी भएनन् । न त बबले स्टिभलाई बाल मतलब नै गर्थे । घरछेउको कार्यक्रम भएकाले बबले स्टिभलाई औपचारिकताबस कार्यक्रममा निम्तो गरेका थिए । कार्यक्रम हुनुअघि होटलमा नै बबले भेट्न बोलाएका थिए । स्टिभले सम्झँदै भनेका छन्, ‘हामी होटलमा दुई घन्टासम्म कुरा गरेर बसिरह्यौँ । त्यो बेला म साँच्चिकै नर्भस थिएँ उनी मेरो जीवनका नायकमध्येका थिए । मलाई अलि डर के पनि थियो भने डिलन स्मार्ट थिएनन् । उनी आफ्नै बारेमा व्यंग्य गर्न सक्तैनथे । आफैमाथि व्यंग्य गर्न नसक्ने मान्छे स्मार्ट हुँदैनन् । कतै यही दुर्गुणले म उनलाई माया गर्न, सम्मान गर्न नछाडौँ भनेर अति सचेत थिएँ । उनीसितको भेट मलाई प्यारो लाग्यो । मैले सोचेजस्तै थिए उनी । उनी खुला र इमानदार थिए । उनले मलाई आफ्नो जीवनका सबै कुरा खुलस्त बताए । उनले भने, ‘मलाई गीतहरू ह्वारह्वारी आउँथे, म गीत लेख्नकै लागि कनेर बस्दैनथेँ । अहिले म त्यसरी लेख्न सक्तिनँ तर ती गीत त अझै मज्जाले गाउन सक्छु नि !’
बस भाडामा लिएर स्टिभले कन्सर्ट हेरे । बबले स्टिभको जन्मदिनका बेला गाउन अस्वीकार गरे पनि कन्सर्टका बेला स्टिभलाई सोधेका थिए, ‘तिमीलाई ज्यादै मन पर्ने मेरो गीत कुन हो ?’ स्टिभको उत्तर थियो, ‘वन टु मेनी मोर्निङ्स ।’ डिलनले त्यही गाइदिए । पछि स्टिभले भनेका छन्, ‘उनी मेरा लागि सधैँको हिरो रहिरहे । म हुर्किंदै गर्दा उनका गीत सुनेँ । वर्षौंपछि पनि उनका गीतले मलाई फुलाए, फक्राए । त्यति सानै उमेरमा उनले त्यति मज्जाका गीतहरू कसरी लेखे होलान् ? सम्झँदा मात्र पनि अचम्म लाग्छ ।’

कन्सर्टको केही महिनापछि स्टिभको दिमागमा एउटा गज्जबको आइडिया फु¥यो । आइट्युन्स स्टोरले उनका डिजिटल गीतहरूको पूरै संकलन निकाल्ने । बबका सबै सात सयभन्दा बढी गीतमात्रै १९९ डलरमा बेच्ने योजना उनको दिमागमा फु¥यो । तर, ती सबै गीत सोनी कम्पनीको अधिकारमा थियो । त्यसैले सोनीका प्रमुख कार्यकारी एन्डी ल्याकले उनको रूचिमा चित्त बुझाएनन् । ल्याक सोच्थे, स्टिभले डिलनजस्तो हेभिवेट संगीतकर्मीको गीतलाई मात्र १९९ डलरमा बेच्ने सोच उनलाई सस्तो बनाउनु हो । स्टिभलाई झ्वाँक चल्यो, ‘उसो भए म डिलनसित सीधा कुरा गर्छु ।’ डिलनले चाहिँ स्टिभलाई भने, ‘मेरो एजेन्टसित कुरा गर ।’ त्यसपछि स्टिभले उनको एजेन्ट जेफ रोजेनसँग कुरा थाले ।

स्टिभलाई स्वाद चखाउन चाहन्थे एन्डी ल्याक । त्यसैले रोजेनलाई ल्याकले भने, ‘यो वाहियात सोचमा तिमी समय बर्बाद नगर । बरु यसलाई तिमी जति टाल्न सक्छौ, टाल र लम्ब्याऊ । जति लम्ब्याउँछौँ, तिम्रो खल्तीमा उति धेरै पैसा आइरहन्छ ।’
सन् २००६ ताका ल्याकलाई सोनी बीएमजी कम्पनीको मुख्य कार्यकारीबाट पाखा लगाइयो । त्यसपछि पुनः डिलनका एजेन्टसँग स्टिभले कुरा अघि बढाएपछि यो सम्झौता भयो । अगस्त महिनामा एप्पलले डिलनका सबै गीत १९९ डलरमा बेच्ने घोषणा ग¥यो । योसँगै बबले नयाँ रेकर्ड गरेको एल्बम ‘मोडर्न टाइम्स’ पनि विशेष सम्झौताका साथ एप्पलले नै लिने भयो । घोषणा कार्यक्रममा स्टिभले भने, ‘बब हाम्रो समयका देशकै सम्माननीय कवि तथा संगीतकर्मी हुन् । उनी मेरो निजी हिरो पनि हुन् ।’ घोषणा कार्यक्रममा डिलनका ७७३ गीत (यीमध्ये ४२ वटा त अन्त कतै फेला नपरेका), रिलिज गरिए ।
यसबाहेक डिलन आइपडको विज्ञापनमा पनि देखापरे, मोडर्न टाइम्स एल्बमको प्रचारका लागि । विज्ञापनमा ठूला कलाकारले भाग लिएवापत् पैसा लिन्थे । सन् २००६ देखिचाहिँ पन्ना उल्टो पल्टियो । ठूला कलाकारहरू आइपड विज्ञापनका लागि तँछाडमछाड गर्न थाले । यो विज्ञापनलाई यति पटक बजाइन्थ्यो र यति महŒवका साथ प्रसार गरिन्थ्यो कि एल्बम हिट हुनु स्वाभाविक हुन्थ्यो ।

डिलनको नयाँ एल्बम मोडर्न टाइम्सको गीतलाई एप्पलले नै भिडियो बनाइदियो । यसका ससाना कुरामा स्टिभले निकै चासो राखेका थिए । त्यसैले ‘समडे बेबी’ गीतलाई भिडियो बनाउँदा चित्त नबुझेर अर्कै निर्देशकले दोहो¥याएर भिडियो बनाउनुपरेको थियो । अनि, सँगै आएको आइपडको विज्ञापनले बबलाई पनि फाइदा पु¥यायो । उनी नयाँ पुस्ताका स्रोतासम्म पुगे । उनको एल्बम बिलबोर्ड चार्टको पहिलो सातामा नै नम्बर एकमा पुग्यो । त्यो बेलाका युवा र ‘हट’ क्रिस्टिना एगुलेरा र आउटकास्टलाई बूढा बबका गीतले पछारिदियो । सन् १९७६ मा ‘डिजायर’ एल्बमयता ३० वर्षको अवधिमा उनी पहिलो पटक बिलबोर्डको नं. १ गायक बन्न पुगे । पछि आइप्याडलाई पहिलो पटक सार्वजनिक गर्दा पनि बबकै गीत बजाएका थिए ।
बबबारे स्टिभले लेखेका छन्, ‘बब सधैँभरि प्रतिरोधी गीतहरू गाइरहन सक्थे । त्यसको बदलामा ओइरो पैसा कमाउन सक्थे । उनले त्यसो गरेनन् । उनी अघि बढ्नुपथ्र्यो । उनले त्यसै गरे । उनी सन् १९६५ मा इलेक्ट्रिक युगमा प्रवेश गरे । उनले आफ्ना नजिकका कैयौँ कामदारलाई कामबाट निकाले । सन् १९६६ मा युरोप भ्रमण उनको सबैभन्दा सफल भ्रमणमा दरियो । यो भ्रमणपछि उनको ब्यान्ड तयार भयो । यसले दर्शक–स्रोतालाई लठ्यायो । उनी एउटा अकेस्टिक गितार बोकेर कार्यक्रममा जान सक्थे । दर्शकले उनलाई माया गर्न सक्थे । अहँ त्यो रोजेनन् । ब्यान्ड नै तयार पारे । उनीहरूले आफूलाई सम्हाल्दै बढाउँदै, अघि बढ्दै र ताजा बनाउँदै लगे । अघि बढ्ने उनीहरूको रहरले उनलाई अमर बनाइदियो । यस्तो हुन सकेन भने, डिलनले भनेजस्तै, ‘यदि तिमी जन्मन व्यस्त हुन सकेनौ भने मर्न व्यस्त हुन थाल्नेछौ ।’

हरकोहीले बबले जस्तो गीत लेख्न सक्तैनन् न त टम स्टोपार्डले जस्तो नाटक नै लेख्न सक्छन् । यसका लागि मानिसले आफ्नो क्षमताअनुसारको अभिव्यक्त गर्ने शैली सिर्जना गर्छन्, जसमा सर्जकहरूले आफ्नो गहिरो भावलाई व्यक्त गर्छन् ताकि आफ्ना सबै योगदानको प्रशंसा अघिल्तिर आओस् र यसले थप केही योगदान दिन सकोस् । यसैले मलाई ऊर्जा दिन्छ, उत्साहित पारिदिन्छ ।

प्रकाशित: २० कार्तिक २०७३ ०४:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App