१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पूर्वाधार र खेल सामग्री पर्याप्त नभएको गुनासो

पोखरा– दक्षिण एसियाली खेलकुद सागका लागि आवश्यक पूर्वाधार र पर्याप्त खेलसामग्रीको अभाव रहेको विभिन्न खेल संघका पदाधिकारीले बताएका छन्। आइतबार पोखरामा १३औं सागमा आयोजना हुने सात खेलका विभिन्न संघका पदाधिकारीसँग बसेको छलफलमा उनीहरूले पूर्वाधारसँगै खेलसामग्रीको आवश्यकता औंल्याएका थिए। राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेश गुरुङको प्रमुख आतिथ्यमा भएको छलफलका क्रममा प्याराग्लाइडिङ, भारोत्तोलनलगायतका खेलहरूको खेलसामग्रीको खाँचो आंैल्याइयो। पोखरामा महिला फुटबलसहित ह्यान्डबल, आर्चरी, भारोत्तोलन, प्याराग्लाइडिङ र ट्रायथोलनका खेल आयोजना गरिने बोर्ड सदस्य गुरुङले जानकारी दिए।

पोखरामा महिला फुटबलसहित ह्यान्डबल, आर्चरी, भारोत्तोलन, प्याराग्लाइडिङ र ट्रायथोलनका खेल आयोजना गरिने योजना छ।

‘सागका लागि तयारी गर्दै प्रारम्भिक छलफलमा जुट्यौं। संघका पदाधिकारीले आआफ्नो आवश्यकतामा जोड दिनुभयो,’ बोर्ड सदस्य गुरुङले भने, ‘आवश्यक पूर्वाधार तयार पार्नेदेखि खेलसामग्री झिकाउनुपर्ने आवश्यकता देखियो।’ प्याराग्लाइडिङका लागि १६ वटा ग्लाइडरसहित हार्नेस, उपकरण, गियरलगायतका सामान आवश्यक पर्ने नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङका सल्लाहकार तथा प्रमुख प्रशिक्षक योगेश भट्टराईले भने, ‘टेक अफ र ल्यान्डिङमा समेत राज्यले व्यवस्था गर्नुपर्छ।’ टेक अफका लागि वडा नं १८ बाट लिइएको सिफारिस पत्र पोखरा महानगरपालिकालाई बुझाइसकिएको उनले बताए। तर महानगरपालिकाले भने त्यसतर्फ ध्यान दिएको छैन। गत चैतमा पोखरा फेवातालमा एसियन ट्रायथोलन च्याम्पियन आयोजना गरिसकिएको छ। ट्रायथोलनको लागि पोखरा महानगरपालिकाभित्र ट्राफिक व्यवस्थापन चुस्त बनाउनुपर्ने खाँचोसमेत औंल्याएको छ। गत चैतमा आयोजित च्याम्पियनसिपमा सवारीसाधनले सहभागीको साइकल नै ध्वस्त पारिदिएको थियो। त्यसले गर्दा पनि ट्राफिक व्यवस्थापन चुस्त बनाउनुपर्ने चुनौती रहेको कास्की जिल्ला ट्रायथोलन संघका पदाधिकारीले औंल्याए।

फेवाताल किनारमै ट्रायथोलनको एकेडेमी निर्माण गर्ने योजनासहित परिषद्को लगानीमा आवश्यक पूर्वाधार निर्माण कार्य अघि बढाइएको छ। दीर्घकालीन योजनासहित अघि बढाइएको एकेडेमीका लागि परिषद्ले दुई पटक गरी ३० लाख रुपैयाँ उपलब्ध गराएको थियो। ह्यान्डबल तथा भलिबलका लागि भने इन्डोर हलको आवश्यकतामा जोड दिइयो। पोखरा रंगशालाभित्र बहुउद्देश्यीय कभर्ड हल छ। एउटा मात्रै इन्डोर हलले प्रतियोगिता आयोजना गर्न नसकिने भन्दै पोखरामा विभिन्न ठाँउमा रहेको इन्डोर हलको वस्तुस्थिति अध्ययन गर्ने बोर्ड सदस्य गुरुङले बताए। रंगशालाभित्रको ह्यान्डबल कोर्टलाई इन्डोर बनाउने र अन्य ठाउँमा इन्डोर हलबारे अध्ययन गरिनेछ। इन्डोर हलका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ।

बहुउद्देश्यीय कभर्ड हलका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ। साउन्ड सिस्टम, सिट, पार्केटिङलगायतका पूर्वाधार तयार पार्नुपर्ने खाँचो छ। त्यसका लागि परिषद्ले टेन्डर आह्वान गर्नुपर्नेछ। टेन्डर आह्वान भइसकेको छैन। टेन्डर आह्वान नहँुदा काम गर्न सहज हुने अवस्था देखिँदैन। महिला फुटबलका लागि पोखरा रंगशाला फुटबल मैदान निर्माणाधीन अवस्थामा छ। फाइनल डिजाइन नटुंगिँदा समयमै बन्ने विषयमा आशंका छ। फुटबल मैदान भने प्राकृतिक बनाउने निर्णय गरिएको छ। निर्णयसँगै मैदानमा बिछ्याइएको गिटीलाई झिकेर फेरि निर्माण कार्य गर्नुपर्ने हुँदा समय लम्बिन सक्ने सम्भावना छ। नोभेम्बरभित्रमा फुटबल मैदान र भिआइपी प्यारापिट निर्माण गरेर हस्तान्तरण गर्न  परिषद्ले ठेकेदार कम्पनीलाई निर्देशन  दिइसकेको छ।

भारोत्तोलन प्रतियोगिता भने पोखरा सभागृह हलभित्र आयोजना गर्न सकिने प्रस्ताव गरिएको छ। सभागृह हलको बाहिर खेलाडीको लागि टेन्ट राखेर प्लेटफर्म निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिइयो। डेढ वर्षअघि पोखरामा आयोजना गरिएको राष्ट्रिय भारोत्तोलन प्रतियोगिता भने पोखरा उद्योग वाणिज्य संघमा सञ्चालन गरिएको थियो। आर्चरीको लागि ग्रिनरी गर्ने प्रस्ताव गरियो। कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले आर्चरी मैदानवरिपरि ८० वटा वृक्षरोपण गरिने बताए। परिषद्ले उपलब्ध गराउने ९० लाख रुपैयाँबाट जमिन सम्याई दुबो रोप्ने योजना रहेको समेत उनले सुनाए। बैठकमा बोर्ड सदस्यसहित पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्षसहित निर्देशक, उपनिर्देशक, कार्यालय प्रमुख, जिल्ला अध्यक्ष, कार्यालय प्रमुख तथा विभिन्न खेल संघका अध्यक्ष र सचिवको उपस्थिति थियो।


 

प्रकाशित: ६ श्रावण २०७६ ०५:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App