१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गुठी संस्थानमा स्थापनाकालदेखिको तथ्यांक माग

राष्ट्रिय पहिचान संरक्षण सयुक्त संघर्ष समितिको टोलीले गुठी संस्थान अध्यक्ष मिनराज चौधरीलाई ज्ञापनपत्र बुझाउँदै ।

काठमाडौं - राष्ट्रिय पहिचान संरक्षण सयुक्त संघर्ष समितिले सूचना हकको प्रयोग गरी गुठी संस्थानमा रहेको स्थापना कालदेखिका जग्गाको सम्पूर्ण तथ्यांक माग गरेको छ । समितिले आइतबार त्रिपुरेश्वरस्थित संस्थानको प्रधान कार्यालयमा गई अध्यक्ष मिनराज चौधरीसमक्ष गुठी जग्गा अतिक्रमण बढिरहेको हुँदा सम्पूर्ण जग्गाको तथ्यांक माग गर्दै ज्ञापन बुझाएको हो ।

समिति संयोजक गणपतिलाल श्रेष्ठले गुठी जग्गा अतिक्रमण हुँदै गएकाले अध्ययन प्रयोजनका लागि सूचनाको हक अनुसार गुठी संस्थान स्थापनाकालदेखिका जग्गाको विवरण माग गरेको नागरिकलाई बताए । ‘गुठीका जग्गा कहाँ के भइरहेको छ भन्ने सूचना पाउने हाम्रो अधिकार छ । अध्ययन प्रयोजनका लागि आधिकारिक कागजात माग गरेका हौं,’ उनले भने, ‘सभ्यातासँग जोडिएको जग्गा अतिक्रमण हुन दिन्नौं ।’

टेकु पचलीस्थित भैरव गुठीको जग्गामा रहेको ऐतिहासिक पोखरी मासेर संरचना बनाइएकोमा उनले आपत्ति जनाए । ‘बिनालालपुर्जा र नक्सा पास ऐतिहासिक पोखरी मासेर महेन्द्र सरस्वती स्कुल बनाइएको छ,’ उनले भने, ‘निर्माण कार्य तत्काल बन्द गर्नुपर्छ । गुठीको जग्गा मास्न पाइँदैन ।’ गत शनिबार गुठीयार, सम्पदाप्रेमी र स्थानीयबासीले ऐतिहासिक पोखरी मासेको विरोधमा स्कुलको निर्माणाधीन संरचना भत्काएका थिए ।

गुठीयार र सम्बन्धित निकायलाई जानकारी नै नगराई पक्की संरचना बनाइएकोमा सम्पदाप्रेमी क्रुद्ध भएका हुन् । उनले भने, ‘सांसद कोषकै लगानीमा स्कुल बनाइएको छ । संरचना भत्काएकोमा प्रहरीमा उजुरी परेको जानकारी पायौं । लालपूर्जा र नक्सा पासको पत्र देखाएर मात्रै हामीलाई गिरफ्तार गर्नुस भन्ने हाम्रो माग हो ।’ जग्गा संरक्षणमा जनता सचेत भइसकेको बताउँदै उनले भने, ‘अब हामी गुठी संस्थानसँग विवरण मागेर यसको लेखाजोखा राख्छौं ।’ स्कुल पछाडी पर्याप्त जग्गा हुँदाहँुदै पोखरी मासेर संरचना बनाउँदा सभ्याता मासिने उनले बताए ।

समितिले संस्थानमा पेश गरेको पत्रमा ‘यस कार्यालयमा रहेका तपशिलमा उल्लेखित विवरण, तथ्यांक तथा सूचना हाम्रो अध्ययन प्रयोजनका लागि आवश्यक परेकाले उक्त सूचना नेपालको संविधान धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३ र ७ अनुसार ती सूचना तथा जानकारीको प्रतिलिपि उपलब्ध गराइ पाउँ’ उल्लेख छ । सो निवेदनमा २०२९ सालमा गुठी संस्थाको नाममा रहेको राजगुठी र छुटगुठीको जग्गाको कित्ता नम्बर र क्षेत्रफल तथा कुल संख्या, संस्थाबाट संकलित रकम र खर्च रकम, कुल सम्पत्ति, गुठीको जम्मा जग्गाको मोहियानी हक विवरणलगायत १७ बुँदे चल अचल सम्पतिकोे विवरण माग गरिएको छ ।

संस्थानका प्रशासन विभागका कार्यकारी प्रमुख नारायण चौधरीले छिट्टै सबै विवरण उपलब्ध गराइने बताए । ‘नेपालभरि गुठी संस्थान भएकाले सबै जिल्लासँग विवरण मागेर पाए जति विवरण दिँदै जानेछौं,’ उनले भने ।
 

 

प्रकाशित: ६ श्रावण २०७६ ०१:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App