१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अझै खुलेन सिद्धिचरण लाेकमार्ग

सिद्धिचरण लोकमार्गकाे ठाँटीमा पहिराेले भत्काएकाे सडक। तस्बिरः नागरिक

ओखलढुंगा– एक साताअघि वर्षातसँँगै गएको पहिरोका कारण सिद्धिचरण लोकमार्ग अवरुद्ध छ।

उदयपुरको कटारीलगायतका तराईका जिल्लाबाट ओखलढुंगा, सोलुखुम्बु र खोटाङ बाहिरिने भित्रिने सवारी पूर्णरूपमा ठप्प छन्। लोकमार्गको कटारी बेतेनी खण्ड आंशिकरूपमा सञ्चालन आए पनि बेतेनी–घुर्मी खण्ड पूर्णरूपले अवरुद्ध भएको हो।

बेतेनी–घुर्मी खण्ड २५ किलोमिटरअन्तर्गत कटारी नगरपालिका–११, ठाँटिभन्ज्याङ र लप्सेको भीरसहित दर्जन बढी स्थानमा पहिरो गएका कारण सडक ठप्प भएको छ। सबैभन्दा बढी ठाँटिभन्ज्याङमा सडकको ‘बेस’नै पहिरोले लगेको र लप्सेमा माथिबाट पहिरो खसेर राजमार्ग अवरुद्ध भएको छ।

यस क्षेत्रमा साना तथा ठूला सबै सवारी सञ्चालन हुन नसकेको कटारी नगरपालिका–११ का वडाध्यक्ष दीपक बुढाक्षेत्रीले जानकारी दिए। उनका अनुसार सयौँ सवारी यस क्षेत्रमा पहिरोका कारण सडकमै अलपत्र परेका छन्। सिराहको मिर्चैया–कटारी, कटारी–बेतेनी सडक खण्डमा एकतर्फी सडक सञ्चालन भएको छ।

कटारी–घुर्मी सडक खण्ड अवरुद्ध हँुँदा प्रदेश नम्बर १ को माथिल्लो तीन जिल्ला ओखलढुंगा, सोलुखुम्बु र खोटाङमा खाद्यान्न, इन्धनलगायत सामग्रीहरू अभाव भएको छ। यी तीन जिल्लाका लागि आवश्यक खाद्यान्न, इन्धनलगायतका सामग्री सिद्धिचरण लोकमार्गबाटै भित्रिने गर्छ। सिद्धिचरण लोकमार्ग तीन जिल्लालाई तराई तथा प्रदेश राजधानी विराटनगरसँग जोड्ने मुख्य राजमार्ग हो।

कटारी–घुर्मी सडकमा पहिरोका कारण भएको अवरोध एक साताभित्र खुल्ने डिभिजन सडक कार्यालय लहान प्रमुख विनोद शाहले बताएका छन्। ठाँटीमा पहिरोले सडकको ‘बेस’नै भत्काएको हुनाले हाइट कटिङ गरेर ‘बेस’ बनाई सडक खन्नुपर्ने भएकाले एक साता समय लाग्ने उनले बताए।

प्रकाशित: ४ श्रावण २०७६ ११:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App